हरेक जुन (June) महिनामा संसारका ठूलाठूला सहरहरू इन्द्रेणी रङले झिलिमिली हुन्छन्। सडकहरूमा परेड लाग्छ, गीत–सङ्गीत, मेकअप, पहिरन र चमकधमकबीच लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नाममा ‘प्राइड’ मनाइन्छ। विदेशी दूतावास, ठुला ब्रान्ड र अन्तर्राष्ट्रिय संस्थाहरू पनि समर्थन जनाइरहेका देखिन्छन्।
तर एउटा जरुरी प्रश्न उठ्छ-के यो साँच्चै हाम्रो ‘गौरव’ हो त? कि यो कुनै अरूले तयार पारेको, हामीले पछ्याउनुपर्ने कार्यक्रम मात्र हो?
जुन ‘प्राइड’-हाम्रो नभएर अमेरिका–युरोपको कथा
‘प्राइड मन्थ’ को सुरुवात अमेरिका, न्यूयोर्कको स्टोनवाल बारमा सन् १९६९ मा भएको विद्रोहबाट सुरु भएको मानिन्छ। त्यो सङ्घर्ष ऐतिहासिक हो, त्यसमा दुईमत छैन। तर त्यो आन्दोलनको सन्दर्भ, भूगोल र राजनीतिक पृष्ठभूमि हाम्रो भन्दा बिलकुलै फरक छ।
हाम्रो समाजमा त तेस्रोलिङ्गी, हिजडा, मेटी, सिङ्गारु, समलिङ्गी, किन्नरजस्ता अनेकौँ लैङ्गिक र यौनिक पहिचानहरू परम्परादेखि नै थिए। ती पहिचानहरूलाई आपराधिक बनाउन त औपनिवेशिक शासनले ल्याएका कानुनहरू जिम्मेवार छन्।
अङ्ग्रेजी राज्यले बनाएको भारतीय दण्ड संहिता (धारा ३७७) ले हजारौँ वर्षदेखि हाम्रो समाजमा मान्यता पाएका सम्बन्धहरूलाई ‘अप्राकृतिक अपराध’ बनाएर गैरकानुनी ठहर गर्यो। त्यसैको असर नेपालजस्ता अर्ध-उपनिवेशिक देशमा पनि फैलियो।
त्यसैबेला सुरु भएको सामाजिक बहिष्कार, दमन र घृणाले हामीलाई हाम्रो गाउँघरमै परायाजस्तै बनायो।
हाम्रो संस्कृति, हाम्रा चाडपर्व र हाम्रा शब्दहरू खोसिँदै
पश्चिमेली मोडेलको ‘प्राइड’ पछ्याउने क्रममा हामी आफैँका मौलिक शब्दहरू बिर्सिन थाल्यौँ। हिजडा, मेटी, मुषे, बिस्सु, फाफाफिने, अस्टाइमे, दुई-आत्मा-यी पहिचान मात्र होइनन्, यिनीहरू सिङ्गो संस्कृतिकै प्रतीक हुन्। तर आज तिनको ठाउँमा LGBTIQ+भन्ने अङ्ग्रेजी संक्षेपले कब्जा गरिरहेको छ।
हाम्रो विविधता एउटै इन्द्रेणी झन्डामुनि राख्न खोजिँदैछ-तर त्यो झन्डा सबैका लागि होइन, विशेष सन्दर्भका लागि बनाइएको प्रतीक हो।
‘प्राइड’ को मौसम, हाम्रो पीडाको समय
जुन महिनामा युरोप वा अमेरिकामा आकाश खुला हुन्छ, गर्मी रमाइलो हुन्छ, त्यो हाम्रो पूर्वीय भूगोलमा चाहिँ वर्षातको चर्को समय हो।
हामीलाई पनि त्यही महिनामा परेड गर भन्छन्-तर जलाउने घाम, चिप्लो सडक, र सास्तीपूर्ण वातावरणमा त्यो ‘गौरव’ होइन, ‘कष्ट’ हुन्छ।
हामीले आफ्नो स्वतन्त्रता चमकधमकको अनुकरणमा होइन, हाम्रो मौसम, माटो र मुड अनुसार मनाउन पाउनुपर्छ।
हाम्रा चाडपर्व पनि छन्-तर तिनलाई कसले सुन्छ?
हाम्रो गाईजात्रा केवल मृत्युलाई व्यङ्ग्य गर्ने पर्व होइन, यो विविध पहिचानले समाजसँग संवाद गर्ने सन्दर्भ पनि हो। भारतको हिजरा हब्बा, सामोआको फाफाफिने सौन्दर्य प्रतियोगिता, मेक्सिकोको मुषे उत्सव, इन्डोनेसियाको बिस्सु अनुष्ठान-यी सबै आफैँमा स्थानीय ‘प्राइड’ का रूप हुन्।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यिनलाई कहिल्यै ‘प्रतिरोध’ को नाम दिँदैन। लन्डनको प्राइडलाई CNN ले प्रत्यक्ष प्रसारण गर्छ, गाईजात्रा भने केवल ‘लोक परम्परा’ बनाइन्छ।
अझै उपनिवेशित?
हाम्रो चाड ‘संस्कृति’ मा सीमित हुन्छ, तिनमा ‘राजनीति’ देखिँदैन। अनि त्यसैले त अन्तर्राष्ट्रिय दातृ निकायले हाम्रो गाईजात्रा, रोपाइँ जात्रा, मारुनी नाचमा सहयोग गर्दैन। तर इन्द्रेणी झन्डा फहराउन, विदेशी मोडलको परेड गर्नचाहिँ लाखौँ रुपैयाँ उपलब्ध हुन्छ।
यो समावेशीकरण होइन-यो सौम्य औपनिवेशिकता हो।
अब हाम्रो आफ्नै ‘प्राइड’ को परिभाषा चाहिन्छ
साँचो प्राइड भनेको के हो त?
त्यो स्थानीय हुनुपर्छ-हाम्रो पहिचान, हाम्रो भूगोल, हाम्रो समय अनुसार।
त्यो मौसमी हुनुपर्छ-जहाँ सहभागिताले आत्मसम्मान ल्याओस्, असहजता होइन।
त्यो सांस्कृतिक पुनः स्थापनाको यात्रासँग जोडिएको हुनुपर्छ।
त्यो आर्थिक न्यायसङ्गत हुनुपर्छ-जहाँ साना चाडहरूलाई पनि बराबरी सम्मान र सहयोग मिलोस्।
प्राइड परेड होइन, यात्रा हो
गौरवको अनुभूति कुनै परेडमा मात्र सीमित हुँदैन। यो एक संवेदनशील प्रक्रिया हो-जहाँ व्यक्ति र समुदायले आफूलाई स्विकार्छन्, समाजले विविधतालाई अँगाल्छ, र संस्कृति पुनर्जीवित हुन्छ।
हाम्रो प्राइड तब मात्रै साँचो हुन्छ, जब त्यो हाम्रो स्वर, हाम्रो समय, हाम्रो भेष, र हाम्रो मूल्यमा आधारित हुन्छ। जब हामी अनुकृति होइन, सिर्जना गर्छौँ।
(लेखक पन्त पहिलो संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.