कसैले लेखेको थियो–किन्नर हाम्रो सभ्यताको हिस्सा हुन्, त्यसैलेLGBTQIA पनि हिन्दु परम्परा भित्रकै एक रूप हो। सुनिँदा सहिष्णु लागे पनि, बुझ्दा भ्रमपूर्ण।
नेपालको सनातन समाजले त्रितीय प्रकृति, अर्थात् न स्त्री, न पुरुष – तर सामाजिक रूपमा स्वीकार्य जैविक अपवादलाई ‘किन्नर’ भनेर सम्बोधन गर्यो।
किन्नर, शिखण्डी, ब्रह्मचारी, नपुंसक—यिनले शरीरका कारण होइन, कर्तव्य, संयम र आत्मनिष्ठाका कारण समाजमा स्थान पाए।
तर आज?
‘किन्नर’ शब्दलाई LGBTQIA सँग जोडेर वैचारिक झुटो मिलान गर्ने होड चलिरहेको छ।
के जन्मजात जैविक विविधता र आत्मघोषित पहिचान आन्दोलन एउटै हुन सक्छ?
सनातन वैदिक परम्परामा लिङ्ग (स्त्री, पुरुष, अन्तरलिंगी) जन्मजात जैविक सत्य हो, जुन कर्तव्यबोधसँग सम्बन्धित हुन्छ।
– पुंसत्व शक्ति, रक्षा, ब्रह्मचर्यको लागि
– स्त्रीत्व सृष्टि, सेवा र ममताको प्रतीक
– अन्तरलिंगी संयम र मध्यस्थताको विशेष
अहिलेको LGBTQIA आन्दोलन भने पश्चिमी समाजमा विकसित भएको आत्मघोषित पहिचानमा आधारित समूह हो। यो समुहले लिङ्गलाई जन्मभन्दा भिन्न मानसिक अनुभव मान्दछ।
त्यसैले–जन्मले पुरुष भए पनि “म महिला हुँ” भन्ने स्वतन्त्रता मागिन्छ। लिङ्ग परिवर्तन शल्यक्रियालाई ‘अधिकार’ ठानिन्छ। यौनिक इच्छा वा आकर्षणमा आधारित पहिचानलाई कानुनी मान्यता दिनुपर्छ भनिन्छ।
तर यस्तो प्रणाली सनातनको आत्मा–प्रधान दर्शनभन्दा ठीक उल्टो हो। किन्नर-धर्मग्रन्थमा आएका पात्रहरू हुन्, जसले कर्तव्यमार्फत समाजमा योगदान गरेका छन्। यी दुईको संरचना, मूल्य र उद्देश्य नै फरक छन्।
जब आत्मा होइन, अनुदान हाबी हुन्छ। आज ‘समावेशिता’का नाममा डलर ओइरिएका छन्। गैरसरकारी संस्थाहरूले विदेशी परिकल्पना ल्याउँछन्, युवाहरूलाई हार्मोन दिन्छन्, लिंग परिवर्तन गराउँछन् र त्यसलाई ‘स्वेच्छा’को नाम दिन्छन्।
शरीरलाई काटेर पहिचान खोजिँदैन, कर्तव्य, विवेक र आत्मबोधले मात्र पहिचान निर्माण हुन्छ।
सामाजिक संजालमा कल्पना मगरले लेखेकी छन्,’जन्मले हिन्दु परिवारमा जन्मेका केही लेखक–लेखिकाहरूले एलजीबीटीक्युआइए समुदायलाई हिन्दु शास्त्रमा उल्लेख भएर आउने किन्नर अर्थात् तेस्रोलिंगीसँग जोडेर ‘पूर्वीय सभ्यताको अंश’ नै हो भनेर पत्रपत्रिकामा लेख रचनाहरु आउने गरेको देखिन्थ्यो। वास्तवमा, हिन्दू शास्त्रमा आउने किन्नर वा तेस्रोलिंगी भन्नाले दुर्लभ रूपमा देखिने प्राकृतिक जैविक विविधतालाई संकेत गरिएको हो जुन त्रितीय प्रकृति, नपुंसक, वा शिखण्डी जस्ता पात्रहरु आउने गर्छ, यो प्राकृतिक स्वरुपलाई सामाजिक रूपमा पनि स्वीकार गरेकै छ। LGBTQIA भनेको आधुनिक पश्चिमी यौनिक–लैङ्गिक पहिचान प्रणाली हो, जसमा जैविक लिंग मात्र होइन, समलैङ्गिक आकर्षण, लैङ्गिक पहिचान, समूह (Lesbian, Gay, Bisexual, Transgender, Queer, Intersex, Asexual, आदि)लाई समेटिएको एउटा आधुनिक राजनीतिक र बैचारिक समुह हो। यसकारण, हिन्दु धर्ममा आउने शास्त्रीय ‘किन्नर’ अर्थात हिजडा आधुनिक LGBTQIA एउटै होइनन् र यी दुई बीच कुनै पनी सम्बन्ध छैन। शास्त्रीय ‘किन्नर’ जैविक अपवाद हो, जबकि ीन्द्यत्त्तक्ष्ब् आधुनिक पहिचान–आन्दोलन हो, जसको आधार धर्म भन्दा पश्चिमी खुला सामाजिक र राजनीतिक अभियानसंग जोडिएको कुरा हो।’
उनले लेखेकी छन्,’केहि केहि विद्वानहरुले LGBTQIA लाई पौराणिक किन्नरसंग जोडेर हिन्दु धर्म कै एउटा हिस्सा हो भनेर किन बारम्बार लेख्छन् होला भन्दै सोंच्दै थिएँ कुरा त यस्तो पो रहेछ बल्ल थाहा पाएँ। डलर ….नेपालीमा भन्दा पैसा,’उनले भिडियो सेयर गर्दै लेखेको फेसबुक स्टाट्यास हो यो।

कतिपय लेखकहरू (जो हिन्दु परिवारमा जन्मेका छन्) ले ‘हिन्दु धर्मले तेस्रोलिंगीलाई स्वीकार गर्छ’ भन्ने तर्क दिँदै LGBTQIA आन्दोलनलाई पूर्वीय सभ्यताको अंश जस्तो देखाउन खोजिरहेका छन्। तर सामाजिक संजालमा आएका टिप्पणी अनुसार, यो ‘झुटो’ हो, जुन विदेशबाट आएको विचारलाई हिन्दु धर्मले समर्थन गर्छ भन्ने भ्रम फैलाउन प्रयोग गरिएको छ।
“डलर‘ नेपालीमा भने पैसा” भन्ने वाक्यले व्यङ्ग्यात्मक धक्का दिन्छ। यसले देखाउँछ कि केही विद्वान, संस्थाहरू वा मिडिया पैसाको लोभमा पश्चिमी वैचारिक सामग्रीलाई हिन्दु धर्मसँग जोडेर ‘स्थानीय समर्थन’ जुटाउने प्रयास गरिरहेका छन्।
“हिन्दु धर्ममा आएको जैविक अपवादलाई समावेश गरेको परम्परा र आजको पश्चिमी यौनिक आन्दोलन एकै होइनन्। यी दुईलाई जोड्नु वैचारिक बेइमानी हो,र सायद डलरको लोभमा गरिँदैछ।”
सांस्कृतिक र धार्मिक विकृति-पश्चिमी अवधारणालाई नेपाली धर्म–संस्कृतिमा जबर्जस्ती मिसाउने प्रयास, यस्ता विमर्शको पछाडि विदेशी सहयोगको भूमिका, विदेशी मूल्यलाई ‘हाम्रो’ बनाइदिने खतरा रहेको टिप्पणी सामाजिक संजाल मार्फत सार्वजनिक भएका छन्।
नेपालमा लिंग परिवर्तनलाई ‘व्यक्तिगत स्वइच्छा’को रूपमा सामान्यीकृत गरिँदै गएको छ। तर यस पछाडि ‘अमेरिकाले सहयोग गरिरहेको छ’ भन्ने कुरा खुलस्त हुँदै जाँदा, प्रश्न उठ्न थालेको छ-के यो ‘स्वेच्छा’ हो त? कि सुसंस्कृत लगानीमार्फत चलाइएको एउटा जैविक हस्तक्षेप कार्यक्रम?
नेपालमा ट्रान्सजेन्डर स्वास्थ्य अधिकारका नाममा दर्जनौं अमेरिकी र युरोपेली संस्थाहरूले अनुदान दिइरहेका छन्। तिनै अनुदानमार्फत लिंग परिवर्तनको मानसिक परामर्श, हार्मोन, र सर्जरीसम्म निःशुल्क गरिँदै आएको छ।
नेपालमा नागरिकता, जन्मदर्ता र पासपोर्टमा समेत ‘तेस्रोलिंग’ वा अन्य भर्न पाइने कानुनी व्यवस्था भइसकेको छ। तर यससँगै शल्यक्रियाबाट लिंग परिवर्तन गर्नेलाई कुन कानुनले हेर्छ? कुन निकायले अनुमति दिन्छ? बालबालिकालाई समेत यस्ता परामर्श दिने संस्थाहरू कसको निगरानीमा छन्?
यी सबै प्रश्नहरूको जवाफ सरकारले दिएको छैन। बरु विभिन्न अन्तर्राष्ट्रिय दिवस, डिक्लेयरेसन, र नीतिगत दस्तावेजमार्फत यस्ता कार्यक्रमलाई वैधता दिने काम मात्रै भइरहेको छ।
‘स्वेच्छा’ भन्नु जति सजिलो छ, त्यति सजिलो होइन लिंग परिवर्तन। मानशिक स्वास्थ्यदेखि, दीर्घकालीन शारीरिक असरसम्मका जटिलताले यो विषयलाई अत्यन्त संवेदनशील बनाउँछ। अझ विदेशी सहयोगमा आधारित कार्यक्रममार्फत गरिने यस्ता प्रक्रियामा मानवीय गरिमाभन्दा बढी ‘आन्दोलनको आंकडा’ महत्वपूर्ण ठानिन थालेको देखिन्छ।
यस्ता कार्यक्रम अब नियमनको दायरामा आउनैपर्छ भन्ने आवाज चुलिँदै गएको छ। अब प्रश्न उठ्नुपर्छ,’हामी हाम्रो लिंग पनि अब अमेरिकी नीति हेरेर परिवर्तन गर्ने हदमा पुगिसकेका हौं?’
यो प्रश्न अब विमर्श होइन, चेतावनी बनिसकेको छ। नेपालमा पछिल्ला केही वर्षदेखि लिंग परिवर्तनलाई ‘स्वेच्छा’ भनेर सामान्यीकृत गरिँदै आएको छ। तर यस ‘स्वेच्छा’को पछाडि विदेशी अनुदान, गैरसरकारी संस्थाहरूको ठेकदारी, र सरकारको मौन सहमतिले लुकाएको खतरा यति गहिरो छ कि अब त यसले नेपाली समाजको जैविक, धार्मिक र सांस्कृतिक विरासतमै हस्तक्षेप गर्न थालेको छ।
एक विवाहित पुरुष महिला बनाइए
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हालै एक २५ वर्षीय पुरुषको शल्यक्रिया गरिएको छ, जसले पत्नी र सन्तान भएको थाहा पाउँदा सामाजिक मूल्य र चिकित्सा नैतिकताको सीमा पार भएको आरोप लागेको छ।
अमेरिकी स्वास्थ्य विज्ञहरूको निर्देशनमा गरिएको यस शल्यक्रिया पछाडि ट्रान्स हेल्थ प्रोजेक्टजस्ता विदेशी अभियान छन्, जुन “लैङ्गिक स्वतन्त्रता”का नाममा मानसिक उपचार, हार्मोन थेरेपी र शल्यक्रिया निःशुल्क वा अनुदानमा गराइरहेका छन्।
तर यस्तो कार्यले लिंग परिवर्तनलाई आत्मसम्मान होइन, ठेकदारी शल्यक्रिया बनाइदिएको छ। नेपाली यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारका नाममा चर्चित संस्था ब्लु डायमण्ड सोसाइटी माथि अहिले गम्भीर प्रश्न उठेको छ।
शुरुमा ‘तेस्रो लिङ्ग’को पहिचान स्थापनामा भूमिका खेलेको संस्थाले आज ‘हामी पुरुष होइनौं, महिला पनि होइनौं, हामी बालिका जन्मेका पुरुष हौं, बालक जन्मेका महिला हौं’ भन्ने भ्रमपूर्ण अवधारणालाई अगाडि सारेको आरोप लागेको छ।
अहिले यही संस्थाको प्रभावमा परेर युवाहरूलाई हार्मोन सेवन गराउन उक्साउने, लिंग परिवर्तनको लागि परामर्श दिने र अन्ततः शल्यक्रिया गराउने प्रक्रिया नियमनबिना चलिरहेको प्रमाणित भइसकेको छ।
स्वास्थ्य मन्त्रालयले लिंग परिवर्तनसम्बन्धी कार्यक्रमबारे कुनै स्पष्ट मापदण्ड जारी गरेको छैन। बालबालिका र किशोर–किशोरीहरूलाई “तेस्रो लिङ्ग” वा “जेण्डर डिस्फोरिया” को नाममा दिइने परामर्श र सम्भावित शल्यक्रिया सम्बन्धी न सरकारी प्रतिवेदन छ, न संसदमा बहस।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको नेतृत्वमा मन्त्रालयले अमेरिकी प्रोजेक्टहरूलाई मौन अनुमतिसँगै कार्यान्वयनमा ल्याएको प्रश्न सामाजिक संजालमा भेटिएका छन्।
लिङ्ग परिवर्तनको जोखिम: दोषी राज्य कि ब्लु डायमण्ड?
के नेपाली नागरिकको शरीरभित्र अमेरिकी परियोजनाको प्रयोगशाला खोलिएको हो? ‘स्वेच्छा’को नाममा विदेशी संस्थाले गरेको हस्तक्षेप अब मानव अधिकारभन्दा पनि व्यापारजस्तै देखिन थालेको छ।
नियमन र नीतिगत जवाफदेही माग गर्दै:-‘कति जनाले लिंग परिवर्तन गराएका छन्?, कुन अस्पतालले कस्तो अनुमति पाएका छन्?, विदेशी सहयोग कति छ र कहाँ खर्चिएको छ?, बालबालिकालाई दिइने परामर्शमा को निगरानी गर्छ?, कुन कानुनले यस्तो शल्यक्रियालाई वैधानिक बनाउँछ?’ यी गम्भीर प्रश्नहरू अन्तरलिंगी, तेस्रोलिंगी, तथा समलिंगी समुदायका भुक्तभोगी स्वयं उठाउँदै छन्। उनीहरू भन्छन्, “पहिचान खोज्दा शरीर गुमायौँ, पैसा तिर्दा आत्मा हरायौँ।”
यो विषयमा आवश्यक बहस संसदमा हुनु जरुरी छ। स्वास्थ्य मन्त्रालयले कानुनी निर्देशिका स्पष्ट गर्नु आवश्यक छ। बालबालिका र युवाहरूलाई यस्ता अनियमित संस्थाबाट जोगाउन ठोस कानुनी सुरक्षा चाहिन्छ।
लैङ्गिक अधिकार नाममा चलिरहेको अमेरिकी परियोजनाको आडमा नेपालको सामाजिक तानाबाना, जैविक यथार्थ र धार्मिक संस्कारमाथि लादिएको यो वैचारिक अतिक्रमण अब रोकिनुपर्छ।
अब समय आएको छ-लिंग परिवर्तन गराउने होइन, सचेत बनाउने शिक्षा दिनुपर्छ। पहिचान भुलाउने होइन, पहिचान जोगाउने चेतना जगाउनुपर्छ। पहिचान शरीर बदल्दा होइन, आत्मसम्मान जोगाउँदा बाँचिन्छ।
विवाहित पुरुषको लिङ्ग परिवर्तन : सत्यतथ्य सार्वजनिक गर्न दबाब
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.