निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“भिजिट भिसा प्रकरण चर्किरहँदा प्रधानमन्त्रीको स्पेन यात्रा”

“भिजिट भिसा प्रकरण चर्किरहँदा प्रधानमन्त्रीको स्पेन यात्रा”

379
SHARES
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शनिवार साँझ स्पेन प्रस्थान गरेका छन्। स्पेन प्रस्थान गर्नु अघि शनिवार बसेको प्रतिनिधिसभा बैठकमा उनले आसन्न भ्रमणबारे जानकारी गराएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीका कारण उक्त जानकारी दिनका लागि दिइएको समयभन्दा करिब दुई मिनेट ढिलो गर्दै संसद्मा उपस्थित भएका थिए प्रधानमन्त्री ओली, जुन बेला रास्वपाका सांसदहरू सभाहल छोडेर बाहिरिएका थिए।

प्रधानमन्त्री ओलीले संसदमा स्पेन भ्रमणको उद्देश्य नेपालमा वैदेशिक लगानी भित्र्याउने रहेको बताए। साथै, एसईई परीक्षाको नतिजा १४ प्रतिशतको वृद्धि सुनाउँदै अनलाइन कक्षालाई क्रेडिट दिए। खुसीसमेत व्यक्त गरे। तर, ओलीले ’सबै खुसी हुनुपर्छ’ भनी सम्बोधन गरिरहँदा रास्वपाका सांसदहरू बैठकमा थिएनन्।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

ओलीले स्पेनमा नेपाली समुदाय, उद्योगी–व्यवसायीसँग अन्तर्क्रिया गर्ने, राजा फिलिप द्वितीय र समकक्षी प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेट गर्ने कार्यक्रम रहेको छ। उनी असार २० गते स्वदेश फर्किने तालिका छ।

प्रधानमन्त्रीको अनुपस्थितिमा संसद्ले महत्त्वपूर्ण विधेयक पारित गरेको छ। लामो समयदेखि अल्झिएको नागरिकता संशोधन विधेयक पारित भएको छ। यससँगै आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको छ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक पेस गरिने र पारित गरिने कार्यसूची सार्वजनिक भएको छ। यो विधेयक दुई वर्षे कुलिङ पिरियडसहित प्रस्ताव गरिएको हो।

रास्वपा भने संसदमा लगातार नाराबाजी र बहिष्कारमा उत्रिएको छ। सभापति रवि लामिछानेविरुद्धको कारबाहीप्रति आक्रोशित रास्वपाले पार्टी कार्यालयमै हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ।

पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठन भएको छानबिन समितिमाथि पनि रास्वपाले विश्वास नगरेको जनाउँदै त्यसलाई ’बाँदरको पुच्छर’को संज्ञा दिएको छ।

सांसद गणेश पराजुलीले उक्त समिति मानव तस्करीलाई उन्मुक्ति दिन बनाइएको दाबी गरेका छन्। सरकारले रवि लामिछानेलाई डिल्लीबजार कारागारमा सरुवा गर्न अस्वीकार गरेपछि रास्वपा थप आक्रोशित देखिएको छ।

काँग्रेसले भने उल्टै मानव तस्करीको आरोप रास्वपा तिरै फर्काएको छ। काँग्रेस सांसद रामहरि खतिवडाले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल लक्षित अभिव्यक्ति दिएका छन्। जापानमा तस्करीबाट कमाएको पैसाले पार्टी कब्जा गरेको आरोप खतिवडाको छ।

काँग्रेसले रुपन्देही कारागारमै ठगी भइरहेको आरोप समेत लगाएको छ। रविको समर्थनमा हस्ताक्षर सङ्कलनलाई काँग्रेस सांसद खतिवडाले ’बदमासी’को संज्ञा दिएका छन्।

माओवादी केन्द्रले भने भिजिट भिसा प्रकरणबारे सरकारको दुई बुँदे सहमति कार्यान्वयनमा धन्यवाद व्यक्त गरिसकेको छ। तर रास्वपा भने हस्ताक्षर अभियान र संसद् बहिष्कारमा सक्रिय छ।

हस्ताक्षर अभियानमा समर्थन जनाउँदै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘पुराना दलहरू महाभारतका कंश हुन्’ भनेर कटाक्ष गरेका छन्।

रास्वपासँगै राप्रपाले पनि संसदमा गृहमन्त्री रमेश लेखकमाथि आक्रोश पोखिरहेको छ। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको बहिष्कार नगरेसम्म देश नबन्ने चेतावनी दिए भने सांसद रोशन कार्कीले बिपी कोइरालाको भनाइ उद्धृत गर्दै गृहमन्त्री लेखकलाई ‘दास कि अवसरवादी’ भनेर प्रश्न गरिन्।

गृहमन्त्री लेखकमाथि स्वयं भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप समेत लागिरहेको छ। यस्तो अवस्थामा सांसद कार्कीले ‘धेरै फुर्ती नदेखाउन’ चेतावनी दिइन।

बिपी कोइरालाले भनेको स्मरण पनि गृहमन्त्री लेखकलाई गराएको छ राप्रपाले। “जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन्,”बिपी कोइरालाले भन्नुभएको यही भनाइ स्मरण गराउँदै सांसद कार्कीले गृहमन्त्रीलाई प्रश्न गरिन्,”तपाईँहरू कुन वर्गमा पर्नुहुन्छ?”

समाचार शेयर गर्नुहोस्
379
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.