काठमाडौं-नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगामा जिप दुर्घटनामा निधन भएको ३० वर्ष भइसकेको छ। एमालेले निरन्तर रूपमा यो दुर्घटना नभई हत्या भएको दाबी गर्दै आएको भए पनि त्यसको पुष्टि गर्न कुनै ठोस प्रमाण फेला परेको छैन।
पार्टी पटक–पटक सरकारको नेतृत्वमा पुग्यो, तर न त अनुसन्धानले गति लियो, न त दोषी पहिचान हुन सक्यो। यस घटनालाई गम्भीर रूपमा उजागर गर्ने राजनीतिक इच्छाशक्ति अभावकै कारण मदन भण्डारीको मृत्यु आज पनि रहस्यकै गर्भमा सीमित छ।
भण्डारीकी जीवनसाथी विद्यादेवी भण्डारी दुई कार्यकालसम्म गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति भइन्। अहिले तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल छन्, जो स्वयं काँग्रेस पार्टीका नेता हुन्।
राष्ट्रपति पदमा रहँदा दल–निरपेक्ष हैसियतमा रहेकी विद्यादेवी भण्डारी हाल पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। उनले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी सार्वजनिक भइसकेको छ।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले भावुक ढङ्गले घोषणा गरिन्— “मदनको सपना अधुरो छ, त्यसलाई पुरा गर्ने अभियानमा म अब सक्रिय हुन्छु।” उनले पार्टीप्रति निष्ठा, आदर्शप्रति प्रतिबद्धता र राजनीतिक निरन्तरताका लागि एमालेमा पुनः फर्किएको बताइन्।
पूर्वराष्ट्रपति जस्तो संवैधानिक पदमा पुगेकी व्यक्तिले सक्रिय राजनीतिमा पुनः फर्किनु आफैँमा बहसको विषय बनेको छ। राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म बहस चल्न थालेको छ—के गणतान्त्रिक राष्ट्रको राष्ट्रपतिको पद केवल अस्थायी विश्रामको थलो मात्र हो?
सामाजिक सञ्जालमा तिखा टिप्पणी भइरहेका छन्—‘देशकै सर्वोच्च शिखरमा पुगेर पनि “अब म एमालेमै फर्किएँ“ भन्नु कति उपयुक्त हो?’ यस्तो कार्यशैलीले गणतन्त्रको गरिमा क्षतविक्षत भएको टिप्पणी भइरहेका छन्।
त्यही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बिना नाम लिँदै पार्टी फुटाउने सपना देख्नेहरूलाई लक्षित गर्दै कटाक्ष गरे। “एमालेमा बम पड्कन्छ भनेर हल्ला फैलाउनेहरू आफैँ विस्फोट भइरहेका छन्। हाम्रो पार्टीमा यस्ता चलखेलले असर गर्दैन।“
तर अर्कोतर्फ, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ ओलीको अभिव्यक्तिसित मेल खाँदैन। “पार्टीभित्रको असन्तुष्टि समयमै सम्बोधन गर्न नसकिए विस्फोटको रूप लिन सक्छ। सङ्गठनात्मक समस्या व्यवस्थापन गर्न जरुरी छ।“
पूर्वराष्ट्रपतिहरू राजनीतिक सन्तुलनका मार्गदर्शक र लोकतान्त्रिक अभ्यासका संरक्षक हुने अपेक्षा गरिन्छ। तर नेपालमा त्यसको विपरीत अभ्यास हुँदै आएको छ—उच्च पदबाट ओर्लिएपछि पुनः गुटगत राजनीतिमा फर्किने प्रवृत्तिले संस्थागत भन्दा पनि व्यक्तिवादी सत्ता अभ्यासको छाया देखिएको छ।
यसअघि पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किएका थिए। नेपाली राजनीतिको यो पुनरावृत्त अनुहार र संरचना फेरि एकपटक सार्वजनिक विमर्शको केन्द्रमा आएको छ—के गणतन्त्रको संरचना व्यक्तिवादी अभ्यासको लम्बाइ मात्र हो?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.