रसुवा – भोटेकोशीमा अचानक आएको बाढीले १५ जनालाई बगाएको छ। नेपाल प्रहरीका ३ जनासहित ९ जना नेपाली र ४ जना चिनियाँ मजदुर तथा राष्ट्रियता नखुलेका दुई जना सवारी चालक हराइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
नाकामा फसेका ९ जनाको उद्धार गरिएको छ। बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। सुख्खा बन्दरगाहमा जाँचपासका लागि राखिएका गाडीहरू पनि बगाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
समग्रमा क्षति ठुलो भएको र घटनास्थलमा पुगेर क्षतिको थप विवरण सङ्कलनको काम भइरहेको उनले बताए। बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ। मङ्गलवार बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ। खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ।
यस्तै त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। प्रशासनले सार्वजनिक सूचना निकालेर रसुवातर्फ अत्यधिक वर्षापछि बाढी आएको भन्दै त्रिशूली नदी किनारका दुवैतर्फ बाढीको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन भनेको हो।
अपडेट :
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाढीमा परी नेपाल प्रहरीका ३ जना, भन्सार कार्यालय यार्डमा काम गर्ने ९ जना र ६ जना चिनियाँ नागरिक सहित १८ जना सम्पर्क विहीन भएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.