"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संस्थापक अध्यक्ष बहिष्कृत, ब्लु डायमण्डको साधारणसभा विवादित

संस्थापक अध्यक्ष बहिष्कृत, ब्लु डायमण्डको साधारणसभा विवादित

2k
SHARES

आफू जस्तै समुदायका व्यक्तिहरू भेट्न रत्नपार्क जान्थे। कन्डम, लुब्रिकेन्ट बाँड्थे। एचआइभी, मानव अधिकारको कुरा गर्थे। ठग्ने, लुट्ने, बलात्कार गर्नेको प्रतिकार गर्दैगर्दै सुरु भएको हो नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)।

अफिस राख्नलाई दुई वर्ष लाग्यो, घर भाडामा खोज्दाखोज्दा। ब्लु डायमन्डको कार्यालय कतै नपाएपछि सुनिल बाबु पन्तले दिदी-भिनाजुको खुर्सानीटारमा रहेको घरमा अफिस राखे। समलिङ्गी, तेस्रोलिंगीलाई सन् २००१ मा घर भाडामा दिन पनि मान्दैनथे। बरु खाली राख्थे।

खोज्दाखोज्दा नपाएपछि दिदी-भिनाजुलाई घरबाट निकालेर पन्तले अफिस खोले। ४–५ वर्षपछि नर्वेजियन सरकारले केयर सपोर्टको अफिस राख्नका लागि पैसा दियो। कहाँ सर्ने? पन्तले संस्थाकै नाममा घर पास गराए।

ब्लु डायमन्डका संस्थापक पन्तले धुम्बाराहीमा घर किन्ने निर्णय गरे। सानो घरलाई ठुलो बनाए। खुर्सानीटारसँगै धुम्बाराहीमा अफिस सञ्चालन भयो। अलि पछि नर्वेजियन सरकारले राम्रो खालको कम्युनिटी सेन्टर बनाउनु पर्छ भनेपछि अफिस पनि ठुलो चाहियो, जहाँ लाइब्रेरी होस्, जिम होस्, क्याफेटेरिया होस्, अफिसको स्पेस पनि होस्। “मान्छेहरू आउन सजिलो होस्, आर्टहरू गर्न सजिलो होस् भनेर धुम्बाराहीको भवन कम्युनिटी सेन्टरका लागि बनाएको हो,” पन्तले भने।

पन्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट पहिलो संविधान सभामा सदस्य बने। उनले कम्युनिटी सेन्टर बनाउन बजेट मागे। सरकारले १ करोड रुपैयाँ हालिदियो। नर्वेजियन सरकारले अलिकति, अनि लन्च, परडियम, तलब काटेर पन्तसँगै समुदायका सबै सदस्यहरूको खर्चमा धुम्बाराहीको भवन बन्यो।

त्यही बेला वृद्धाश्रम पनि चाहियो भन्ने माग आयो समुदायको। पन्तले टौदह नजिकै साढे नौ रोपनी जग्गा किन्ने निर्णय कार्यान्वयन गरे। “बसिरहेको भए, या चासो दिएको भए केही संरचना निर्माण भइसक्थ्यो,” पन्तले भने।

चार–पाँच वर्ष अगाडि लेस्बियन, ट्रान्स मेन (तेस्रोलिंगी पुरुष)हरूले ब्लु डायमन्डसँग जग्गा मागेका थिए। तर पाइएन भन्ने गुनासो पन्तसँग गरेका थिए। दुई गाडी थिए, एउटा कार, अर्को माइक्रो। “अहिले ड्राइभरहरू निकालेका रहेछन्। गाडीहरू खटारा भएर गएको रहेछ। चलाइरहेको गाडी कि बेचेको भए हुन्थ्यो। तर, केही पनि नगरी राखेको रहेछ।”

अफिसको गाडी चलाए ट्याक्सी क्लेम गर्न पाइएन। सजिलो भयो ट्याक्सी क्लेम गर्न। ट्याक्सी क्लेमका लागि गाडी नचलाएको भन्ने अनौपचारिक कुरा कानमा परिसकेको पन्तले सुनाए।

पन्त समलिङ्गी विवाह दर्ताको बिगुल फुक्दै जिल्ला जिल्लामा पुगे। जहाँ ब्लु डायमन्डमा पन्तको आवश्यकताको माग भइरह्यो। ३ वर्षअघि मितिनी नेपालले, “जे पद भन्नुहुन्छ, त्यही दिन्छौँ, हामीकहाँ आउनुहोस्” भनेका थिए। ब्लु डायमन्डले “लाँदैन पनि” भनेका थिए मितिनी नेपालले।

मितिनीले लैजाने हल्ला फैलाइएछ। त्यसपछि पोखरामा मिटिङ भयो। मितिनीले प्रस्ताव राख्यो। पिंकी गुरुङ उठेर, “कहाँ हुन्छ यस्तो? आफूले स्थापना गरेको संस्था छ, हामी सिनियर एडभाइजरको रूपमा राख्छौँ, अन्त जान हुँदैन,” भनिन्।

त्यसपछि बोलाएनन्। मितिनीले पनि छाडिहाल्यो। पछिपछि सेमसेक्स म्यारिजको मुद्दा हाल्न पिंकीको नाम अगाडि राख्नु भनेको पन्तले नै हो। “जसको नाम अगाडि छ, त्यसको नाम इतिहासमा आउँछ,” भनेर पिंकीको नाम राख्न लगाइएको पन्त स्मरण गर्छन्। “कमसेकम एक जोडी हुनुपर्छ,” भनेका थिए पन्तले। माया गुरुङ र सुरेन्द्र पाण्डे रिट निवेदक बसे।

वकिललाई मुद्दा लेख्न लगाए। रिटमा अन्तरिम आदेश आयो १२ असार २०८० मा। त्यहाँदेखि टाढा भए उनीहरू। मिडियाले माया र सुरेन्द्रलाई खोज्ने भयो, “म त्यहीँ उभिने भए, मेरो आउने भयो,” सर्वोच्चले अर्डर दियो। विवाह दर्ता गर्न जिल्ला अदालत जानु पर्‍यो। त्यहाँदेखि माया र सुरेन्द्रले ब्लु डायमन्डबाट केही पनि सहयोग पाएनन्।

सेमसेक्स म्यारिजको प्रोजेक्ट ब्लु डायमन्डसँगै थियो। तर, वकिल फी पनि दिएनन्। त्यसपछि ट्रान्सफोबिक भनेर हल्ला चलाउन थाले।

लिड नेपाल झापा दमककी कार्यकारी निर्देशक एवं हाल मायाको पहिचान नेपालमा आबद्ध नुमा लिम्बु (चञ्चला)ले माया–सुरेन्द्रको सेमसेक्स म्यारिजका लागि पैसा दिएको अफवाह फैलाइएको काठमाडौं आएपछि बुझेकी छन्।

सुनिल बाबु पन्तले स्थापना कालदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मुभमेन्टका लागि काम गरेको बताउँदै चञ्चलाले भनिन्, “तपाईँहरूलाई तातेहुई गरेर बाटो देखाएको मान्छेले यस्तो नराम्रो काम गर्छ होला त? उहाँलाई पनि राख्नुहोस्, सबै जिल्लाको प्रोजेक्ट हेडहरूलाई काठमाडौं बोलाउनुहोस्। हामीलाई ट्राभल पैसा केही चाहिँदैन। आफ्नै खर्च गरेर आउँछौँ। मिडिया बोलाउनुहोस्। सुनिल दाइको पनि कुरा सुन्छौँ, बिडिएसका तपाईँहरूको पनि कुरा सुन्छौँ। के सही, के गलत हामी छुट्याउँछौं भनेर मैले नै हो कुरा निकालेको।”

चञ्चलाले यो कुरा ब्लु डायमन्डका पिंकी, प्रकाश निरौला, सञ्जय शर्मासँग राखेकी थिइन्। “त्यतिबेला सुनिल दाइलाई मितिनीमा किन जान दिने, बिडिएसमै ल्याउने भनेर मलाई भन्या थिए,” चञ्चलाले भनिन्, “मेरो उनीहरूसँग ३ वर्ष अघिदेखि डिसकसन परिरहेको थियो।”

संस्थापक अध्यक्ष पन्तलाई ब्लु डायमन्डमा ल्याउनु पर्ने चञ्चलाको जोड थियो। “१०–२० वटा अफिस खोलेर पनि काठमाडौँमा केही देखिँदैन। संस्था खोलेर मात्र हुने होइन। पहिला ब्लु डायमन्डमा हुँदा सबैलाई एकै ठाउँमा राखेर काम गरेको थियो।”

“झापाको दमकमा सबैलाई एकै ठाउँ राखेर काम गरेको छु। कम्युनिटी छुट्टियो नि, त्यहाँदेखि तहसनहस भयो यो अभियान। ब्लु डायमन्डले समुदायलाई झुक्क्यायो, पन्तबाट भागिरह्यो। तपाईँहरू आफ्नो ठाउँमा बस्नुहोस्। दाइलाई ठुलो पोस्ट दिनु पर्दैन भने। तर, युएसएआईडीको प्रोग्राम आउँदा पिंकी आफैँ टेक्निकल एडभाइजर भएर, भित्रभित्रै उमेश पाण्डेलाई अध्यक्ष बनाइसकेछन्।”

अध्यक्ष, सदस्य चयनका लागि साधारणसभा बस्दा सुनिल बाबु पन्त भएसम्म सबैलाई बोलाउँथे। सुनिल बाबु निस्केपछि कहिल्यै साधारणसभामा बोलाएनन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपाल (एफएसजिएमएन) मा चाहिँ बोलाउँथे। तर भित्री रहस्य थाहा पाएपछि चञ्चला बिडिएस, एफएसजिएमएनको सदस्य बसिनन्।

सञ्जय शर्मा बस्न खोजेका रहेछन् एफएसजिएमएनको अध्यक्ष। निर्वाचित भए राजु लामा। त्यसमा पनि चञ्चला गइनन्।

काठमाडौं उपत्यकामा रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अनामनगरमा भएको बृहत् भेलामा चञ्चलाले यति भनिसकेपछि पन्तले समलिङ्गी विवाहको मुद्दामा वकिलको फीबारे प्रस्ट पारिदिए।

“एक वर्षको तयारीपछि मुद्दा तयार भएको थियो समलिङ्गी विवाहको। अन्तरिम आदेश आइसकेपछि पनि वकिललाई फी दिएनन्। दुई वर्ष अघिको कुरा हो। त्यतिबेला पिंकीसँग बोलचाल थियो मेरो। ठुलो संस्थाले नदिने हो कि के हो? मलाई त लाज भयो,” भने पन्तले।

“चार वर्षअघि भिक्षु हुँदा पनि मितिनी र ब्लु डायमन्डलाई सँगै राखेर, ३५ जनाको हस्ताक्षर गरेर विवाहकै लागि मुद्दा हाल्ने भनेको थिएँ।”

“अन्तिम समयमा ब्लु डायमन्ड हट्यो, अनि मितिनी पनि हट्यो। मलाई मात्र लाजमर्दो बनाए वकिलको अगाडि। दोस्रो पटक गर्दा पैसा केही दिएको थिएन, काम गरेको हुन्छ वकिलले। यसपालि पनि नदिने भए नदिनु, झुलाउन पाउँदैनौ, म तिरिदिउँला भनेपछि बल्ल १ लाख रुपैयाँको चेक, मुद्दा सकिएको १ वर्ष ४ महिनापछि ल्याएर दिएको हो। जिल्ला अदालत कति पटक धाएँ, उच्च अदालत पाँच महिना धाउनु प¥यो, फेरि सर्वोच्च आयो। गाउँपालिका गयो, त्यसको त केही पनि भएन। त्यसपछि बोलचाल नै भएन।”

माया र सुरेन्द्रको विवाह दर्ताका लागि साथ दिने पन्त नै थिए। “खसिबोका बोक्ने गाडीमा बसेर गाउँसम्म पुगियो। तपाईँहरू नछोड्ने हो भने म साथ दिन्छु,” भने पन्तले। “लामो जान पनि सक्छ भनेको थिएँ।”

माया र सुरेन्द्रले हिम्मत गरेर अहिले चञ्चला आएर “म छु” भने जस्तै उनीहरूले “म छु” भने। “हामी छोड्दैनौँ” भनेपछि “संस्था नभए नहोला भन्दै गर्दै जाँदा, हामीलाई त गरेनन्, अरूलाई कहाँ गर्छन् यिनीहरूले?” भने।

“विवाह दर्ता त गराउनु पर्‍यो” भने पछि मायाको पहिचान नेपाल खुलेको हो। “खोल्नुहोस्, म हेल्प गरौँला” भनेपछि खुलेको संस्था हो यो “मायाको पहिचान नेपाल।”

के के हुने बनाएछन् बिडिएसलाई, पन्त स्वयं यतिबेला अभियानको समीक्षा गरिरहेका छन्।

बिरामी पार्टनरको रेखदेख गर्न पन्त बेलायत लागेका थिए, सबै हस्तान्तरण गरेर। पन्तका अनुसार एचआइभी सङ्क्रमितहरूका लागि केयर एन्ड सपोर्ट सञ्चालन थियो। त्यतिबेला धेरै संस्था भयो भन्ने कुरा पनि आयो। त्यो सत्य हो।

नेपाल जस्तो देशमा ५० वटा भन्दा धेरै संस्था आवश्यक थिएन। तर सुरुको अवस्थामै, सन् २००७ मा एफएसजिएमएन खडा गरिएको हो। त्यसका फाउन्डर प्रेसिडेन्ट पनि पन्त नै हुन्।

“त्यतिबेला एचआइभीको धेरै पैसा फन्डिङ थियो। यो समुदाय जोखिममा पनि थियो। सुईद्वारा ड्रग्स खानेहरू, यतिकै ड्रग्स खानेहरू, महिला यौनकर्मीहरूका आ–आफ्नै सङ्घसंस्थाहरू थिए। उनीहरूको धेरै संस्थाहरूको महासङ्घ बनाएका थिए। महासङ्घले हाल्यो भने सजिलै फन्ड पाउने, प्रतिस्पर्धा गर्नु पर्दैनथ्यो। हामीलाई पनि दबाब थियो, १५ वटा संस्था दर्ता गर्न लगाएर महासङ्घ बनाएको त्यसरी हो,”पन्तले भने,“युनिटी होस्, एउटा मात्र संस्थाले के गर्नु? जिल्लाका संस्थाहरू स्वतन्त्र हुन पाउनु पर्छ भन्ने हिसाबले १५ संस्था दर्ता गरेर प्रेसिडेन्ट भएर बसेँ।”

ब्लु डायमन्ड र एफएसजिएमएन दुवै तिर आफैँ बस्दा लोकतान्त्रिक हुँदैन भन्ने लाग्यो पन्तलाई। पन्तले तीन महिनापछि नै मनिषा ढकाललाई एफएसजिएमएनको प्रेसिडेन्ट बनाए। “अहिले आएर हेर्दा ब्लु डायमन्ड सोसाइटीको इतिहास नै चेन्ज गर्ने खालको ६ जनाले खोलेको भन्दैछन्, मेरो त नाम पनि छैन त्यसमा,” पन्तले भने।

“ब्लु डायमन्डको इतिहासै फेर्ने अभियान पनि गर्न खोजेको रहेछ। के फाइदा हुन्छ त्यो? थाहा छैन। इतिहास त इतिहास हो, मेटाएर मेटिँदैन। मैले मन पराऊँ, नपराऊँ, फाउन्डर प्रेसिडेन्ट भन्नै पर्छ ब्लु डायमन्ड सोसाइटीको,त्यसलाई त कसैले फेर्न सक्दैन।”

सन् २००८ मा पिंकीलाई ब्लु डायमन्डको अध्यक्ष राखे पन्तले। कार्यकारी निर्देशक मात्र बने पन्त। त्यो पनि संसद् भइसकेपछि छोडे। तीन महिना जति छोडेको, संस्था चलेन। मनिषा, पिंकी, सबैले “आउनु पर्छ, आउनु पर्छ” भन्या हुनाले पन्त फेरि कार्यकारी निर्देशक भएर बसे।
“बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्मको सेड्युल बनाएर काम गरेको,” सुनाए पन्तले।

“असाध्यै धेरै काम हुन्थ्यो त्यतिबेला। संस्था पनि ठुलो भएको थियो। त्यसताका ब्लु डायमन्डका सबै जिल्लामा गरेर १७ सय जना कर्मचारी थिए। अहिले त आधा पनि छैन। त्यति धेरै थियो यो, सबै स्टाफहरू बोलायो भने जुलुस हुन्थ्यो,” पन्तले भने।

“सबै युनिटी थियो, एकजुट थियो त्यतिबेला। तेस्रोलिंगी महिला, तेस्रोलिंगी पुरुष भन्ने थियो।

अहिलेको जस्तो धेरै ट्रान्स वमन हो, ट्रान्स मेन हो, तिमीहरू उस्तो, हामी यस्तो भन्ने खालको थिएन। त्यसरी आइरहेको थियो यो।”

“पछि सन् २०१२ मा संविधान सभाको पहिलो कार्यकाल पनि सकियो। युके जानु पर्‍यो, पार्टनर बिरामी भएको हुनाले। युके बसेँ। तर अब जे होस्, फाउन्डर प्रेसिडेन्टबाट राजीनामा दिए पनि सदस्य त हुन्छु नि,कहिल्यै जाँदिन।”

“अहिलेसम्म साधारण सभाको जानकारी गराएको छैन। रिपोर्टहरू दिएको छैन। केही पनि गरेको छैन। मेरो विरुद्धमा धेरै क्याम्पपनहरू गराए। डोनरहरूलाई लेखेर ब्लु डायमन्डमा सिधै जागिर खाएका, बाहिर रहेकाहरूलाई ‘तेरो जागिर खाइदिन्छु’ भन्ने धम्की दिएर मेरो विरुद्ध लेख्न लगाए। हस्ताक्षर गराएर विदेशीहरूलाई पठाए। ‘यो ट्रान्सफोबिक हो’ भने।”

“महिला–पुरुषभन्दा अलग हुन्छौ भनेर मुद्दा लड्ने मै हुँ,” पन्तले विगत स्मरण गरे। लिङ्ग भएकै मान्छेलाई महिला भन्न पन्तलाई अप्ठ्यारो लाग्छ। केटाको लिङ्ग भएकोलाई पुरुष नै भन्छौ हामी। स्त्री स्वभाव छ भने तेस्रोलिंगी भन्छौ,” पन्तले भने,“सेक्स चेन्ज गरेकोलाई भन्यो ठिकै छ, तर केटाकै लिङ्ग भएकोलाई महिला कसरी भन्ने?”

ब्लु डायमन्डको गैरकानुनी लिङ्ग परिवर्तन अभियानको भण्डाफोर, पहिचानमै खेलबाड नगर्न चेतावनी

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.