निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रसुवामा भीषण बाढी : बेपत्ताको खोजी जारी, हिमताल फुटेको आशङ्का

रसुवामा भीषण बाढी : बेपत्ताको खोजी जारी, हिमताल फुटेको आशङ्का

302
SHARES
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

रसुवा – नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले साँझ सार्वजनिक गरेको विवरण अनुसार १४ नेपाली र ६ जना चिनियाँ नागरिक गरी २० जना बेपत्ता भएका छन्।

बेपत्ता मध्ये हालसम्म एक मानव अङ्ग बाहेक कुनै शव फेला परेको छैन, यद्यपि नेपाल प्रहरीले भने ७ जनाको शव फेला परेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर, लोकेन्द्र बोहरा, बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेश विक, सिन्धुपाल्चोकका फुर्वा लामा, ठेगाना नखुलेका गोविन्द मोक्तान, लोकमान तामाङ, दिल तामाङ र धनराज विक रहेका छन्। यस्तै, ६ जना चिनियाँ नागरिक पनि सम्पर्कविहीन छन्।

बाढी पहिरोमा फसेका ५५ जनाको नेपाली सेनाले उद्धार गरेको छ। तीमध्ये ३० जनाको हेलिकप्टरमार्फत तथा २७ जनाको टिमुरे क्षेत्रबाट उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिहरूमध्ये ५० जना नेपाली, एक चिनियाँ र चार भारतीय नागरिक छन्।

बेपत्ताको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छी हुँदै १७ स्थानमा दुई सय ९४ जना सैनिक खटिएका छन्। यस्तै, श्रीनाथ गण, रसुवा बाट थप फौज परिचालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ। स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। गोसाईंकुण्ड गाउँपालिका–१, २, ३, आमाछोदिङ्मो–१, २, ४, ५, उत्तरगया–२, ४, ५ तथा कालिका गाउँपालिका–१ क्षेत्र प्रभावित भएका छन्।

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

बाढीले रसुवा भन्सार कार्यालयको यार्ड, ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ। टिमुरेको सुख्खा बन्दरगाहमा रहेको भन्सार जाँचका लागि राखिएका सामग्रीसहित २३ वटा ट्रक/कन्टेनर, ३५ वटा ईभी सवारीसाधन र ६ वटा सिनो ट्रक बगाएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।

यस्तै त्रिशूली नदीको बिचमा फसेका विदुर नगरपालिका–१ मिलन चौताराका पाल्देन तामाङ (६७) र मंगली तामाङ (६२) को नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। उनीहरू दाउरा काट्न नदी किनार पुगेका बेला बाढी आएपछि फसेका थिए।

कोभिडपछिको पुनः सञ्चालनमा रहेको रसुवा नाका बाढीले तहसनहस बनाएपछि व्यापारी चिन्तित छन्। लामो समयदेखि नाकामा व्यवसाय गर्दै आएका धनबहादुर तामाङले पहिलेको अवस्थामा फर्कन धेरै समय लाग्ने बताए।

हिमताल फुटेको आशङ्का

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, रसुवाको ल्हेन्दे खोलामा आएको बाढी भारी वर्षाका कारण नभई हिमताल फुटेको हुन सक्ने आशङ्का गरिएको छ।

रसुवा बाढीबारे भिडियो बुलेटिन जारी गर्दै महाशाखाका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जल तथा मौसम केन्द्रहरूले दिएको विवरण र महाशाखाको प्रारम्भिक अध्ययनमा बाढी ठुलो पानी परेको कारण आएको हो भन्ने नदेखिएको बताए।

महाशाखाले बाढी हिमताल फुटेर आएको आशङ्का गरिएको छ।बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले प्रारम्भिक अध्ययनबाट ठुलो पानी परेको सङ्केत नदेखिएको बताउँदै, भौगोलिक उपग्रह तस्बिरमार्फत बाढीको कारण पत्ता लगाउने प्रयास भइरहेको बताए। अहिले बाढी कम भए पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ।

मुस्ताङ र सिन्धुपाल्चोकमा पनि अलर्ट

मुस्ताङको लोमान्थाङ खोलामा आएको बाढीपछि त्यहाँका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले अलर्ट जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालका अनुसार, लोमान्थाङभन्दा माथिबाट छोसेरमा बाढी आएपछि चराङ, छुसाङ, कागबेनी हुँदै कालीगण्डकीमा पुग्ने सम्भावना रहेकोले सतर्क रहन भनिएको हो।

यस्तै, चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भएको सूचना पाएपछि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयले भोटेकोशी र सुनकोशी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार राति अझै भारी वर्षाको सम्भावना छ भन्ने चिनियाँ सूचनाका आधारमा अलर्ट जारी गरिएको हो।

अरनिको राजमार्गको बन्देउदेखि लिपिङसम्म विशेष सतर्कताका साथ सवारी सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।

२५० मेगावाट विद्युत् उत्पादन बन्द

चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका आयोजनाहरूबाट २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार, रसुवागढी जलविद्युत आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएपछि ठुलो क्षति भएको छ।

त्रिशूली कोरिडोरमा रहेका अन्य आयोजनाहरू पनि सम्भावित जोखिमबाट जोगाउन अस्थायी रूपमा बन्द गरिएको प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्रीको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उद्धार, राहत र क्षति विवरणबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र पीडितहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सिमानास्थित रसुवागढी भन्सार, सुक्खा बन्दरगाह, बगाइएका कन्टेनर र बेपत्ताको अवस्थाबारे चासो व्यक्त गरे।

समाचार शेयर गर्नुहोस्
302
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.