निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ओलीमाथि मानव तस्करीको आरोप, रास्वपा–एमाले आमनेसामने

ओलीमाथि मानव तस्करीको आरोप, रास्वपा–एमाले आमनेसामने

383
SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय सरकार र सत्तारूढ दलका नेताहरूप्रति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको छ। सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि रास्वपाका सांसदहरू थप आक्रोशित बनेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभामा निरन्तर अवरोध र बहिष्कार गर्दै आएको छ।

गृहमन्त्रीमाथि मानव तस्करीको आरोप लगाउँदै आएको रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसमेत मानव तस्करीसँग जोडेर गम्भीर आरोप लगाएको छ।

रास्वपाको उक्त आरोपलाई सत्तारूढ नेकपा (एमाले) ले प्रतिनिधिसभामा नियमावली विपरीतको भनाइ भन्दै आपत्ति जनाएको छ। एमालेका नेताहरूले रास्वपामाथि ‘बतासे’ प्रवृत्तिको आरोप लगाउँदै कडा प्रतिवाद गरेका छन्।

आजको संसद् बैठकको सुरुवातमै रास्वपाकी सांसद सोबिता गौतमले प्रधानमन्त्री ओलीसँगै स्पेन गएको टोली अहिलेसम्म नफर्किएको भन्दै मानव तस्करीको आरोप लगाइन्।

गौतमको अभिव्यक्तिपछि प्रधानमन्त्रीको सचिवालयले तत्कालै प्रतिक्रिया दिँदै भ्रमण टोलीमा रहेका सबै २८ जनाको नाम सार्वजनिक गर्‍यो। साथै, सबै जना फर्किसकेको पुष्टि गर्दै सांसद गौतमलाई ‘को नफर्किएको हो’ भन्ने स्पष्ट जानकारी दिन चुनौतीसमेत दिएको छ। 

उक्त अभिव्यक्तिलाई लिएर एमालेले संसद्को रेकर्डबाट हटाउन मागसमेत गर्‍यो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गौतमलाई नामसहितको प्रमाण दिन खुला चुनौती दिए।

बर्तौलाको भनाइपछि नेकपा (माओवादी केन्द्र) का सांसदहरूले सभामुख देवराज घिमिरेमाथि नै प्रश्न उठाए। बर्तौलालाई कुन नियमअनुसार बोल्न दिइयो भनेर माओवादी सांसदहरू आक्रोशित बने। सभामुख घिमिरे त्यसबारे स्पष्टीकरण दिन बाध्य भए।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सबै सांसदमाथि समान नियम लाग्नुपर्ने भन्दै सभामुखलाई सदन व्यवस्थित सञ्चालन गर्न आग्रह गरे।

एमालेका सांसद योगेश भट्टराईले भने सांसद गौतमको अभिव्यक्तिलाई ‘टपरटुईयाँ’को संज्ञा दिँदै, नयाँ सांसदहरूमा बतासे प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे।

सत्तारूढ र प्रतिपक्षबीचको तिक्तताबीच मंगलबारको संसद् बैठक रास्वपा र राप्रपाले बहिष्कार गरेका छन्। बैठक अघि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिवी राईलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए।

शाहीले प्रतिपक्षमा हुँदा गृहमन्त्री लेखकले जिवीलाई पक्राउ गर्ने दाबी गरे पनि अहिले ‘कुन दुलोमा लुके’ भन्ने प्रश्नसमेत उठाए।

समाचार शेयर गर्नुहोस्
383
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.