चुनावमा असहयोग गर्ने कांग्रेस नेतामाथि कारबाही

चुनावमा असहयोग गर्ने कांग्रेस नेतामाथि कारबाही

452
SHARES

काठमाडौं – नेपाली कांग्रेसले २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउने नियतका साथ असहयोग गर्ने नेताहरूलाई पार्टीबाट निष्कासन र निलम्बन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय अनुशासन समितिको बैठकमा प्राप्त उजुरीहरू, सामाजिक सञ्जाल तथा अडियो र भिडियो सामग्रीका प्रमाणहरूको अध्ययनपछि निष्कासन र निलम्बनको निर्णय गरिएको अनुशासन समितिले जनाएको छ।

निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध खुलेर काम गरेका तथा विभिन्न हतकण्डा अपनाएको पाइएका नेता तथा कार्यकर्ताहरूलाई स्पष्टीकरण सोधिएको थियो। तर उनीहरूले दिएको जवाफ चित्तबुझ्दो नदेखिएको भन्दै समितिले कारबाही गर्ने निर्णय गरेको जानकारी दिएको छ।

तेह्रथुमका तुलसी सुब्बा, कास्कीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र पर्साका क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ।

यस्तै, धनुषाको लक्ष्मीनीया गाउँपालिका सभापति आनन्द यादवलाई छ महिनाका लागि निष्कासन गरिएको छ। त्यसैगरी, धनुषा, कास्की र कैलाली जिल्लाका विभिन्न नेताहरू तथा क्रियाशील सदस्यहरूलाई छ महिना निलम्बन गरिएको छ।

कास्कीका निवर्तमान सभापति कृष्ण के.सी. लाई भने तीन महिनाको लागि निलम्बन गरिएको छ। नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) बमोजिम कारबाही गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा पार्टी अनुशासन उल्लङ्घन गर्नेप्रति शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट सन्देश दिइएको छ। अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले हस्ताक्षर गरेको विज्ञप्ति बुधवार सार्वजनिक गरिएको हो।

समाचार शेयर गर्नुहोस्
452
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.