काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसीएल नेपालले ‘श्रम तथा उत्पादनमा वाइसीएल’ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सङ्गठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसेर उक्त निर्णय गरिएको हो।
यसअघि असार १७ र १८ गते भौतिकरूपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरूलाई बुधवार बसेको बैठकले अनुमोदन गरेको वाइसीएलले जनाएको छ। अभियानको औपचारिक उद्घाटन साउन १ गते पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने भएको छ।
बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सम्बोधन गरेका थिए। सम्बोधनमा उनले सबै सदस्यलाई एकताबद्ध भएर सङ्गठनका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरेका थिए।
वाइसीएल अध्यक्ष पुष्प ओलीका अनुसार अभियानले युवालाई श्रम र उत्पादनसँग जोड्ने लक्ष्य राखेको छ। उत्पादनको क्षेत्रमा विशेष रूपमा कृषि, उद्योग र डिजिटल व्यापारका लागि ठोस योजना बनाइएको जनाइएको छ।
सङ्गठनले प्राकृतिक विपद् व्यवस्थापनलाई आफ्नो प्रमुख कार्यसूचीमा राख्दै विशेष टास्क फोर्स (एसटीएफ) गठन गरेको छ। विपद् व्यवस्थापनको पूर्वतयारीस्वरूप सङ्गठनका जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा वैदेशिक रोजगारीमा हुने ठगी, सरकारी कार्यालयमा देखिने ढिलासुस्ती र निर्माणाधीन सरकारी योजनामा हुने भ्रष्टाचार तथा अनियमितताविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरिएको छ।
युवालाई राजनीतिक रूपमा सक्रिय बनाउन आगामी भदौ महिनापछि १६ देखि २५ वर्ष उमेर समूहलाई लक्षित गर्दै ‘पोलिटिकल यूथ कन्सर्ट’ आयोजना गरिनेछ। यस्तै, कात्तिक १७ मा हुने उपचुनावका लागि तयारी गर्ने र सङ्गठनभित्र सबै तहका सदस्यहरूको कामको मूल्याङ्कन गर्न मूल्याङ्कन चार्ट तयार गर्ने निर्णय पनि बैठकले गरेको छ।
विभागहरूलाई छरितो, चुस्त र छरितो बनाउँदै आ–आफ्ना सापेक्षतामा कार्यक्रमहरू बनाइने र ती कार्यक्रमहरू केन्द्रीय कार्यालयबाट अनुमोदन गरेर कार्यान्वयन गरिने वाइसीएलले जनाएको छ।
सङ्गठनले अभियानमार्फत युवालाई श्रमशील बनाउँदै राष्ट्रिय उत्पादनमा योगदान पुर्याउने, जनतामाझ प्रत्यक्ष सेवा र हस्तक्षेपका माध्यमबाट परिवर्तनको अभियान अघि बढाउने स्पष्ट सङ्केत दिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.