काभ्रे — बिपी राजमार्गको भुकुण्डेबेशीबाट लाकुरीबोटतर्फ घर फर्कँदै थिए २३ वर्षीय पासाङ तामाङ र २२ वर्षीय विजय तामाङ। मोटरसाइकलमा सवार दुवै जनाको अन्तिम घर बन्यो, सेल्फिडाँडा।
लाकुरीबोट तामाङ बस्तीले परिचित गाउँ हो। तर गत २४ असार, मङ्गलवार बेलुकी भने त्यही गाउँमा देखेका दुवै युवाको सपना चकनाचुर बन्यो।
बेलुकी ७ः३० बजे सगुन विद्यामन्दिरको बा ४ ख ७१ नम्बरको बस दुबैका लागि काल साबित भयो। उक्त विद्यालय भुकुण्डेबेशीमा रहेको हो, जहाँ लाकुरीबोटका बालबालिका अध्ययनरत छन्। दुर्घटना गराउने चालक पनि स्थानीय गाउँकै थिए। हुनै नसक्ने जस्तो घटना भयो।
पासाङ र विजय दुवै विवाहित थिए। उनीहरूका तीन–तीन वर्षीय सन्तान छन्। पासाङकी श्रीमती विदेशमा थिइन्। उनी फर्किएपछि मात्रै धुलिखेल अस्पतालमा शुक्रवार पोस्टमार्टम गरिएको थियो।

पिंगाइ तामाङका एक्ला छोरा थिए पासाङ। त्यही छोरा गुमे। विजय मुरली तामाङका कान्छा छोरा थिए। पोस्टमार्टमपछि दुवै जनाको शव निकाल्दा मुरली भक्कानिए, पिंगाइ बोल्नै नसक्ने भए।
छोराको मृत्युको पीडा पिंगाइ र मुरलीले मात्र होइन, सिङ्गो लाकुरीबोट बस्तीले महसुस गरिरहेको छ। गाउँ नै शोकमा डुबेको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी निरीक्षक दिनेश कुँवरका अनुसार, दुर्घटनाका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरिएको छ। उनले भने, “उहाँहरू बाहिरै सहमति गरेर आउनु भएको थियो। चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान जारी छ।”
मृतकका परिवारलाई सगुन विद्यामन्दिरले १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति जनाएको छ। साथै, दुवै मृतकका श्रीमतीलाई रोजगारी र सन्तानलाई कक्षा १२ सम्म निःशुल्क अध्यापन गराउने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ।
नमोबुद्ध नगरपालिकाले समेत १–१ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.