काठमाडौं – नेपाल मानव धर्म सेवा समितिले गुरु पूर्णिमाको अवसर पारेर समितिसँग आबद्ध १ सय ५० जना एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ। त्यस्तै, देशका विभिन्न स्थानहरूमा विविध सामाजिक क्रियाकलापहरू स्वास्थ्य शिविर, सरसफाइ अभियान, ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रमहरू पनि सम्पन्न गरिएको समितिले जनाएको छ।
समितिले देशभर रहेका क्षेत्र आश्रम तथा शाखा आश्रमहरूमा भक्तहरूको महान् चाड ‘गुरु पूर्णिमा’ हर्ष उल्लासका साथ भव्य रूपमा सम्पन्न गरेको जनाएको हो।
गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले गुरुको आशीर्वाद थापेर आफ्नो भक्ति सफल बनाउनुपर्ने बताइन्। गुरु प्रति समर्पण भाव भएमा मात्र जीवन सफल हुने भएकाले हरेक शिष्य गुरु प्रति समर्पित हुनुपर्नेमा उनले जोड दिइन्।
महात्मा चमेली वाईजीका अनुसार, ज्ञान अनुभवको विषय भएकोले परिवारमा भगवान् तथा गुरुको चर्चा गर्दै ध्यान साधना गरी आफूभित्रको शक्तिको अनुभव गर्नुपर्ने र ध्यान साधनाले नै सत्य युगको प्रादुर्भाव हुने विश्वास व्यक्त गरिन्।
“भौतिक कुरामा हामीले जतिसुकै प्रगति गरे पनि मनको शान्तिका लागि गुरुको शरणमा जानुपर्छ,”उनले भनिन्,“गुरुले मात्र पञ्च भौतिक बन्धनबाट मुक्ति गराउनुहुन्छ।”
उनले थप भनिन्,“भगवानको कृपा असीम रूपमा बर्सिरहेको छ। तर अथाह कृपालाई भक्तले चिन्न सकिरहेको छैन। गुरु तथा सन्त महात्माले सत्सङको माध्यमबाट सबैलाई भगवानको कृपा वर्षा गराइरहनुभएको छ।”

सत्सङ्ग कार्यक्रममा समितिकी वरिष्ठ महात्मा लता वाईजीले कुनै पनि औषधिले निको पार्न नसकेको जन्म–जन्मको रोग गुरु कृपाले निको पार्ने विश्वास व्यक्त गरिन्। समयको सद्गुरुको सानिध्यताले हृदय निर्मल हुँदै जाने पनि उनले बताइन्।
महात्मा लता वाईजी भन्छिन्,“समयका महान् पुरुष यस धर्तीमा आएर आत्मज्ञानको प्रचार गरिरहनु भएका बेला सुतेर बसेमा भोलिका दिनमा पछुताउनु बाहेक केही बाँकी रहँदैन।”
देशभर आयोजना भएका सत्सङ्ग कार्यक्रममा आत्मानुभवी सन्त महात्माहरूले सत्सङ्ग तथा प्रवचन सुनाउनुका साथै विविध सांस्कृतिक कार्यक्रम नृत्य, नाटक, भजन आदिको पनि प्रस्तुति गरिएको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.