निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रसुवा बाढीमा बेपत्ताको खोजी, केरुङमा अड्केका नेपाली सुरक्षित

रसुवा बाढीमा बेपत्ताको खोजी, केरुङमा अड्केका नेपाली सुरक्षित

बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार, विद्युत् र सडक सञ्चालनमा

376
SHARES
तस्बिर : सशस्त्र प्रहरी

रसुवा – गत असार २४ गते मध्यरातमा रसुवा बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार, विद्युत् र सडक सञ्चालनमा ल्याइएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले सम्बन्धित निकायहरूलाई निरन्तर परिचालन गरी सुचारु गरिएको हो।

विपद्का कारण अवरुद्ध भएको स्याफ्रुवेशी–रसुवागढी सडकखण्डलाई यथाशीघ्र सञ्चालन गर्न जलविद्युत् आयोजनामा रहेका विभिन्न हेभी इक्युपमेन्टसहित आवश्यक जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बाटो सञ्चालनका लागि थप उपकरण, जनशक्ति र स्रोतसाधन व्यवस्थापन गर्नसमेत सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ।

रसुवा बाढीमा परी बेपत्ता भएका २० जनामध्ये ६ जनाको शव र ५ वटा मानवअंग फेला परेका छन्। बेपत्ता हुनेमा १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक रहेका छन्। फेला परेका शवमध्ये नेपाल प्रहरीका लालबहादुर श्रेष्ठको मात्र सनाखत भएको छ।

अन्य बेपत्ता नेपालीमा मुना ठाकुर, लोकेन्द्र बोहरा, जिप्सन थारु, सन्तोष दहित, बुद्धिराम थारु, सुरेश थारु, लक्ष्मीनारायण थारु, नरेन्द्र बिके, फुर्वा लामा, भुवनसिंह मोक्तान, जोगमान तामाङ, धनराज बिके र दिल तामाङ छन्। चिनियाँ नागरिकमा YU Yue, Lihuaqing, Yang Chuan, Hai Hang, You Xiao Qiu र Jou Yong छन्।

सनाखत नभएका शव तथा मानव अङ्गहरू त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको सशस्त्र प्रहरीका डिएसपी (सह–प्रवक्ता) शैलेन्द्र थापाले जानकारी दिए।

थप दुई शव फेला, १४३ जना गन्तव्यतर्फ

ल्हेन्दे खोलामा आएको बाढीले बगाएका मध्ये थप दुई जनाको शव चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुलमा फेला परेको छ।

अन्य बेपत्ताको खोजी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भोटेकोशी र त्रिशूली नदीको दुवै किनारमा जारी राखेका छन्। सडक अवरुद्ध हुँदा अस्थायी पदमार्ग बनाई १४३ जनालाई सुरक्षित गन्तव्यतर्फ पुर्‍याइएको छ। १२ नेपालीलाई निजी हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।

चीनको केरुङमा ९१ जना नेपालीलाई खान र बस्नको व्यवस्थासहित सुरक्षित राखिएको छ। नेपाल फर्कन चाहने नागरिकका लागि गृह तथा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

बाढीमा परी हराएका ११ चिनियाँ नागरिक नेपालतर्फ बगेको आशङ्का गरिएको छ। उनीहरूको शव पहिचान गरी डिएनए परीक्षण गर्न विवरण उपलब्ध गराउने पहल पनि भइरहेको छ।

असार २४ गते राति बाढीमा फसेका ४ वटा इभी र ११ वटा कन्टेनर सुरक्षित स्थानमा सारिएको छ। टिमुरे यार्डमा रहेका ती सवारी साधनहरू सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा खटिएको टोलीले असार २७ गते सारिएको हो। कन्टेनरहरूलाई ब्याक–लोडरको सहायताले सुरक्षित स्थानमा लगिएको हो।

असार २७ गते थप ८९ जनालाई वैकल्पिक सडक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पुर्‍याइएको छ। टिमुरेबाट स्याफ्रुवेशीसम्म बनाइएको वैकल्पिक सडकबाट ५५ जना (४५ महिला, १० पुरुष) र स्याफ्रुवेशीबाट टिमुरेतर्फ ३४ जना (१ महिला, ३३ पुरुष) पठाइएको थियो।

उनीहरूलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले वैकल्पिक मार्गबाट गन्तव्यमा पुर्‍याएको हो। यसअघि अस्थायी पदमार्ग बनाएर ५६८ जनालाई पनि उद्धार गरिएको थियो।

बाढीका कारण असार २४ र २५ गते अवरुद्ध भएको सडक खण्ड नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा अस्थायी पदमार्ग बनाई ४८५ भन्दा बढी नागरिकलाई गन्तव्यतर्फ पुर्‍याइएको थियो।

समाचार शेयर गर्नुहोस्
376
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.