कालीकोट — कालीकोटको खाँडाचक्र नगरपालिका–५ मा दलित बालबालिकाको शिक्षा सुधार तथा पहुँच विस्तारका लागि एकदिने अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बुधवार नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ (एनएनडिएसडब्लूओ) कालीकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत खाँडाचक्र-५ मटेलामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। आयोजित उक्त कार्यक्रममा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। खाँडाचक्र–५ मटेला दाँहा क्लस्टरमा आयोजित कार्यक्रममा ३२ जना अभिभावक तथा विद्यार्थीहरू सहभागी थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष देउराम विश्वकर्माले शिक्षा नै परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै, “दलित समुदायका बालबालिकाको उज्ज्वल भविष्यका लागि हामी सबै अभिभावक सजग, जिम्मेवार र सहयोगी बन्नुपर्ने बेला आएको बताए। शिक्षा बिना विकास सम्भव छैन, त्यसैले स्थानीय सरकार आवश्यक पहल गर्न तयार छ’ उनले भने।’

कार्यक्रममा दलित बालबालिकाको शैक्षिक गुणस्तर र पहुँच अभिवृद्धिका विषयमा गहिरो छलफल भएको थियो। सहभागी अभिभावकहरूले आफ्ना बालबालिकाको नियमित विद्यालय उपस्थिति, सिकाइमा अभिभावकीय निगरानी तथा सहयोग बढाउने विषयमा प्रतिबद्धता जनाएका छन्।
साथै, बालबालिकाको सिकाइमा देखिएका समस्याहरू समाधान गर्न र आगामी दिनमा अझ व्यवस्थित रूपमा अघि बढ्नका लागि अभिभावकहरूले मिलेर ठोस कार्ययोजना समेत तयार गरेका छन्।
कार्यक्रमले अभिभावकहरूमा शिक्षा प्रतिको चेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षाको महत्वबारे गहिरो समझ दिलाएको संयोजक गोरख नेपालीले जानकारी दिए।
आयोजक संस्थाका अनुसार, यस किसिमका कार्यक्रमहरूले दलित समुदायमा शिक्षाको पहुँच र गुणस्तरमा सुधार ल्याउने सम्भावनालाई उजागर गर्दै स्थानीय तहमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास लिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.