निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सत्तारुढ दलहरूमा नेतृत्व परिवर्तनको तरङ्ग, ओलीलाई भारत भ्रमणको निम्तो

सत्तारुढ दलहरूमा नेतृत्व परिवर्तनको तरङ्ग, ओलीलाई भारत भ्रमणको निम्तो

332
SHARES

काठमाडौं — सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहसले तीव्रता पाएको छ। वर्षौँदेखि ‘पुरानो पुस्ता’ले मात्र नेतृत्व ओगटेको र ‘युवा पुस्ता’लाई समेट्न नसकेको भन्दै दुवै दलभित्र दोस्रो तहका नेताहरू सक्रिय बनेका छन्।

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतासँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चाप बढेको छ। यता, नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला पक्ष सक्रिय हुँदै सभापति शेरबहादुर देउवामाथि आन्तरिक दबाब सिर्जना गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीले आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेर प्रधानमन्त्री ओलीसँग एक्लाएक्लै वार्ता गरिन्। भेटपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले राष्ट्रिय राजनीतिसम्बन्धी सामान्य विषयमा कुरा भएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता अझै नवीकरण नभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्। उनले भने, “उहाँको सदस्यता पेन्डिङमा छ। उपयुक्त समयमा पार्टीले निर्णय गर्छ।”

तर अर्का नेता योगेश भट्टराईले सदस्यता नवीकरण अहिलेको मुख्य मुद्दा नभएको जिकिर गरे। “पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनुहुन्छ वा हुँदैन, त्यही महत्त्वपूर्ण हो,” उनले भने।

भण्डारीनिकट एमाले नेता कर्ण थापाले ओली र भण्डारीबीचको सम्बन्धबारे मिडियामा देखिएजस्तो द्वन्द्व नरहेको बताए। “अधिकांश नेताहरूले सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका छन्,” उनले जानकारी दिए।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने भण्डारीको सदस्यता दुई वर्षअघि नै नवीकरण भइसकेको बताए। “महासचिव शङ्कर पोखरेलले पनि सचिवालय बैठकमा त्यो जानकारी दिएका थिए। अध्यक्ष ओलीले पनि सहमति जनाउनु भएको थियो” उनले भने।

कांग्रेसभित्र पनि असन्तोष चुलिँदै

नेपाली कांग्रेसभित्र पनि नेतृत्वको विषयमा नयाँ तरङ्ग देखिएको छ। डा. शेखर कोइरालाले हालै पूर्वराष्ट्रपति भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि आफ्ना निकट सांसद र मन्त्रीहरूसँग छलफल थालेका छन्।

आइतबार बिहान अनुपम फुडल्याण्ड र दिउँसो याक एन्ड यति होटलमा कोइरालाले छुट्टाछुट्टै भेटघाट गरे। सांसद राजेन्द्र बजगाईँका अनुसार, डा. कोइरालाले पार्टी फुटाउने उद्देश्य नराखेको स्पष्ट पारेका छन्।

बजगाईँ भन्छन्, “भिजिट भिसाजस्ता मुद्दामा फरक धारणा राख्ने अधिकार हो। उहाँले अन्य दलका नेताहरूसँग पनि राष्ट्रिय मुद्दामा धारणा राख्नुभएको हो।”

नेता सुनिल शर्माले पनि संसदीय दलमा नेतृत्व परिवर्तनका लागि कदम चालिएको सङ्केत दिए। “गगन थापादेखि देउवा समूहकै केही सांसद हाम्रो पक्षमा छन्। दुई–चार दिनमै नयाँ अवस्था आउन सक्छ,” शर्माको भनाइ छ।

ओलीको भारत भ्रमण तय हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत सरकारको औपचारिक निमन्त्रणा प्राप्त भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, भदौ अन्तिम साता भ्रमण तय गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ।

“भ्रमणको मिति र एजेन्डाबारे छलफल जारी छ। अन्तिम टुङ्गो लागेपछि सार्वजनिक गरिनेछ,” प्रवक्ता क्षेत्रीले जानकारी दिए।

प्रधानमन्त्री नियुक्त भएको एक वर्षपछि भारत भ्रमणको सम्भावना खुलेको हो। यसअघि उनले चीनको औपचारिक भ्रमण सम्पन्न गरिसकेका छन्।

समाचार शेयर गर्नुहोस्
332
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.