काठमाडौं — नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने ताउरमाउरले मुलुकको राजनीतिमा बहस चर्किएको छ।
नेकपा एमालेले उनलाई निष्क्रिय ‘अभिभावक भूमिका’मा सीमित रहन आग्रह गरे पनि भण्डारी स्वयंले भने ‘चुप लागेर बस्ने छैन’ भन्ने चेतावनी दिएकी छन्।
२०६५ सालमा संविधानसभा सदस्य बनेकी भण्डारी २०६८ मा पहिलो महिला रक्षा मन्त्री बनिन्। त्यसअघि २०५६ सालदेखि २०६५ सम्म उनी प्रतिनिधिसभा सदस्य रहिन्।
भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी पुनः निर्वाचित भइन्।
२०७९ साल फागुन २९ गतेसम्म दोस्रो कार्यकाल सम्हालेपछि राष्ट्रपति पदबाट अवकाश लिइन्। उनको कार्यकाल संसद् विघटन विवाद र सत्ता समीकरणमा राष्ट्रपति भवनको भूमिका जस्ता विषयमा जोडिएर आलोचना र प्रशंसाको केन्द्र बन्यो।
नेपालको राजनीतिमा राष्ट्रपतिभन्दा माथिल्लो पद छैन। उनी नेकपा एमालेको सक्रिय राजनीतिबाट नै पहिलो महिला राष्ट्रपति बनेकी थिइन्। तर अब उनी फेरि पार्टी राजनीतिमा फर्केर अर्को कुन पदका लागि दाउ हेरेकी हुन् भन्ने शङ्का–उपशङ्का व्याप्त भएको छ।
राष्ट्रपतिबाट मुक्त भएको करिब डेढ वर्षपछि भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किन चाहेको सङ्केत देखिँदा एमालेसहित अन्य दलभित्र पनि मतभेद सतहमा आएको छ।
नेकपा एमालेको बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको छ। बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपतिलाई “घरमा चुप लागेर बस्न” भन्ने अपेक्षा नरहेको भन्दै ‘अभिभावक भूमिका’ निर्वाह गर्न सुझाव दिए।
तर एमालेको यो निर्णयसँगै भण्डारीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएकी छन्। पार्टीभित्र छलफल नभएको विषयलाई केन्द्रीय बैठकमा प्रवेश गराएर आफ्नो विरुद्ध षड्यन्त्र रचिएको भन्दै उनले आफ्ना निकट नेताहरूसँग रणनीतिक छलफल गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारी निकट एमाले नेता कर्ण थापाले एमालेको निर्णय असंवैधानिक भएको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पनि एमालेको निर्णयप्रति असहमति जनाउँदै प्रधानमन्त्री ओलीमाथि आरोप लगाएका छन्।
सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले वडाध्यक्ष बन्ने जस्ता गतिविधिमा उत्रिन नहुने धारणा राखेका छन्। उनले राष्ट्रपति पदको गरिमा बिर्सेर सक्रिय राजनीतिमा फर्किनु पदकै अपमान हुने बताए।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय भएको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पूर्वपदाधिकारीबीचको बैठकले पूर्वराष्ट्रपति पुनः राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष निकालेको छलफलमा सहभागी कांग्रेस प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए।
यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीभित्र ‘सिँगौरी खेल्ने’ प्रयास भइरहेको जनाउँदै नेता जनार्दन शर्मा तर्फ सङ्केत गर्दै ‘खुलेर खेल्न’ सुझाएका छन्।
कम्युनिस्ट आन्दोलनमा नयाँ धारको अगुवाइ गर्दै आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने गणतन्त्रमा ‘झारपात’ उम्रिएको टिप्पणी गरेका छन्। उनले सबै कम्युनिस्ट एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.