काठमाडौं — नेपाल प्रहरीका डिएसपी डा. हेमबहादुर केसीको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। एक कार्यक्रममा उनले जनताको सेवा नै सबैभन्दा ठुलो कर्तव्य भएको बताए।
उनले नेताहरू, कार्यकारी प्रमुख, प्रधानमन्त्री वा राष्ट्रपति नभएर देशको सबैभन्दा ठुलो शक्ति जनता भएको सुनाए। केसीले भने, “देशमा कोही ठुलो छ भने त्यो नेता पनि छैन, नेतागणहरूलाई सम्बोधन गर्न बिर्सेछु। कोही नेता पनि छैन, कार्यकारी प्रमुख पनि छैन। कोही प्राइममिनिस्टर पनि छैन, कोही राष्ट्रपति पनि छैन। सबैभन्दा ठुलो कोही हो भने त्यो जनता हो।”
उनले जनताको करबाट चलिरहेको राज्य संयन्त्रप्रति सबैले इमानदार हुनुपर्ने बताए। “हामी जो सुकै वर्गका मान्छे हौँ, जनताको करबाट लिएको चिजले हाम्रो रोजीरोटी चलाएका छौँ, सुविधा लिएका छौँ,” उनले भने, “जनताको सेवा सुविधाका लागि जस्तो सुकै मूल्य चुकाउनु परे पनि तयार हुनुपर्छ। भोलि त्यो बाटोमा गाडी दुर्घटना भएर कयौँ मान्छेको हताहत हुन सक्छ।”
सङ्घीय वा प्रदेश सरकारको बजेट कुरेर नबसेको सुनाउँदै उनले १०–१२ किलोमिटर सडक आफ्नै नेतृत्वमा निर्माण भइसकेको जानकारी दिए। “२५ किलोमिटर बाटो बनाउने योजना छ,” उनले थपे।
लागू औषधसम्बन्धी अपराध नियन्त्रणका लागि जनचेतना आवश्यक भएको उल्लेख गर्दै उनले भने, “लागू औषधको विषयमा विद्यार्थी होस, अभिभावक होस्, कुनै पनि मान्छे हामी घरघरमा अवेयर गर्छौँ। र, कुनै पनि त्यस्तो खालको गतिविधि पाइयो भने कारबाहीको भागी बनाएरै छोड्छौ।”
बालविवाहबारे बोल्दै उनले अभिभावक र समाज दुवै सचेत नहुनु नै प्रमुख कारण भएको औँल्याए। “बालविवाहको समस्या छ। मेरो हेल्थको बारेमा मलाई जानकारी छैन, मेरो क्यारियरको बारेमा मलाई जानकारी छैन भने त्यो अवस्थामा हामीले फरदर भविष्य देखेनौ भने बालविवाह गर्ने गरेका छौँ,” उनले भने, “बुबाआमा अवेयर नभएर ‘यो छोरीलाई फालिदिन पाए, धपाइदिन पाए आनन्दै हुन्थ्यो’ भन्ने मानसिकता छ, त्यो कारणले पनि बालविवाह भइरहेको छ।”
मोबाइलको अत्यधिक प्रयोगले शिक्षा प्रणालीलाई असर पुर्याएको उनको भनाइ छ। “मोबाइल एडिक्सनले हाम्रो बालबच्चा र फुर्सदको समय सबै कोल्याप्स भएको छ,” उनले भने, “आज मोबाइलकै कारणले स्टुडेन्टले एउटा सेन्टेन्स राम्रो तरिकाले भन्नु भन्यो भने घोकेरै भन्नुपर्छ। अन्डरस्ट्यान्डिङ लेभल धेरै विक छ हाम्रो एजुकेसनको विषयमा।”
प्रहरी सेवालाई मात्र नभई जिम्मेवारीको रूपमा लिनुपर्ने उनको भनाइ छ। “आवाजविहीनहरूको आवाज बन्न सक्नु पर्छ,” उनले भने, “जो रुँदै आउँछ पुलिस अफिसमा, झुत्रेझाम्रे लगाएको छ भने गेटमै बसेको मान्छेले ‘तै जा’ भन्दिन्छ। अब यो विषयमा हामी सचेत हुनुपर्छ।”
राष्ट्रहित र जनहितका लागि आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउँदै उनले भने, “पिपुल इन्ट्रेस्ट र नेशनल इन्ट्रेस्टको लागि जस्तो सुकै मूल्य चुकाउनु परोस् म तयार छु।”
उनले प्रहरी सेवामार्फत जनतालाई राहत दिने काम पनि गरिरहेको बताए। “गरिबीकै कारण झुपडी पल्टिन लागेको छ, भत्किन लागेको छ भने नेपाल पुलिसलाई सम्झनुहोस्,” उनले भने, “डफ्फा सहित दुई गाडी लिएर आएर त्यो ७ दिनमा निःशुल्क बनाएर जान्छु। अनुसन्धान मात्रै गर्दिन, म जनताको सेवा पनि गर्छु। जनताको सेवा मात्रै गर्दिन, मेरो जिम्मेवारी पनि पुरा गर्छु।”
डिएसपी केसीले गलत कर्म लुकाउन सकिएला भन्ने सोच गलत भएको बताए। “बिचार गर्नुहोला, हरेक तपाईँका खराब कामको नतिजा लुकाउनु भएको होला, कसैका अगाडि लुकाउनुहुन्छ भने नो प्रब्लम। गड विल पनिस यु। तपाईँलाई भगवानले पनिसमेन्ट गर्नेछन्,” उनले भने, “खराब काम चाहिँ नगर्नुहोस्।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.