काठमाडौं — नेपाली कांग्रेस बागमती प्रदेशमा लामो समयदेखि चलेको मुख्यमन्त्रीको विवाद अन्ततः टुङ्गिएको छ। पार्टी सभापति शेरबहादुर देउवासँग भएको तीन बुँदे सहमतिपछि वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पदबाट राजीनामा दिन सहमत भएका हुन्।
देउवासँगको सहमतिपछि इन्द्रबहादुर बानियाँ अब बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ। नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ चयन भएपछि अहिलेसम्म राजीनामा नदिने अडानमा रहेका लामा पार्टी नेतृत्वको दबाब र सहमतिमा पछि हट्न बाध्य भए।
छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार तीन बुँदे सहमति अनुसार बानियाँ मुख्यमन्त्री बन्नेछन्। सहमतिअनुसार, लामा पक्षका तीन जना गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ—बानियाँ नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुनेछन्।
चित्रकारले भने, “सहमति अनुसार अबको सरकार बानियाँ नेतृत्वमा चल्नेछ र लामा पक्षका नेताहरू पनि सरकारमा सहभागी हुने भएकाले पार्टीभित्रको विवाद मिलेको छ।”
यस सहमतिसँगै मुख्यमन्त्री लामाले आइतबार नै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष पदबाट राजीनामा बुझाउने तयारी गरेका छन्।
यसअघि २०७९ पुस १३ गते संसदीय दलको नेताका लागि भएको निर्वाचनमा बानियाँ लामा समक्ष पाँच मतले पराजित भएका थिए। तर, पछिल्लो राजनीतिक समीकरणले बानियाँलाई नेतृत्व सुम्पनुपर्ने परिस्थिति आएको हो।
बागमती प्रदेश स्थापना भएको करिब आठ वर्षमा यो सातौँ पटक मुख्यमन्त्री परिवर्तन हुन लागेको हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.