निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्मला हत्या प्रकरण, अब नयाँ शिराबाट अनुसन्धान

निर्मला हत्या प्रकरण, अब नयाँ शिराबाट अनुसन्धान

341
SHARES

काठमाडौं — कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा नयाँ तथ्य, प्रमाण र प्रविधिको सहायताबाट गहिरो अनुसन्धान थाल्न गृहमन्त्री रमेश लेखकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन्।

आइतबार महाराजगन्जस्थित सिआइबीको केन्द्रीय कार्यालयको निरीक्षण तथा अनुगमन भ्रमणका क्रममा गृहमन्त्री लेखकले यस प्रकरणलाई राज्यको प्रतिष्ठासँग जोडिएको गम्भीर र संवेदनशील मुद्दा भएको उल्लेख गर्दै अनुसन्धानमा अब कुनै पनि कमजोरी राख्न नहुने स्पष्ट पारे।

“निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,” गृहमन्त्री लेखकले निर्देशन दिँदै भने, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आम जनताको भरोसा बढ्दो छ, त्यसलाई कायम राख्दै निष्पक्ष र वैज्ञानिक ढङ्गले अनुसन्धान गर्नु आवश्यक छ।”

सिआइबीले विगतमा झैँ सीमित स्रोत–साधनका बाबजुद उत्कृष्ट कार्यसम्पादन गर्दै आएकोप्रति सन्तोष व्यक्त गर्दै मन्त्री लेखकले गृह मन्त्रालयले ब्युरोलाई थप स्रोत, साधन र प्रविधियुक्त उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार हाल सिआइबीले निर्मला पन्त प्रकरणबाहेक पनि ठुला आर्थिक अपराध, साइबर अपराध, मानव तस्करी, सुन तस्करी, सवारी चोरी, अपहरण, ठगी, तथा सङ्गठित अपराधसँग जोडिएका जटिल घटनाको अनुसन्धान गरिरहेको छ।

मन्त्री लेखकले पछिल्लो समय तीव्र गतिमा बढेका वित्तीय अपराधहरू नियन्त्रण गर्न मन्त्रालयले ‘वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरिसकेको जानकारीसमेत दिए।

“प्रहरीप्रतिको भरोसा बढेकै कारण देशभरबाट प्रहरी चौकी माग आउने क्रम बढेको छ,” उनले भने, “सुरक्षा निकाय सुदृढ गर्न चालु आर्थिक वर्षमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ। अब प्रहरी चौकीलाई पूर्वाधारसहितको संरचना र आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ।”

कार्यक्रममा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले ब्युरोको वर्तमान अवस्था, कार्यसम्पादन, अनुसन्धान प्रगति र चुनौतीहरूबारे प्रजेन्टेसन प्रस्तुत गरेका थिए। उनले निर्मला पन्तको घटनामा नयाँ कोणबाट अनुसन्धान अगाडि बढिरहेको जानकारी दिँदै, यसअघि अनुसन्धानमा भएका त्रुटिहरूलाई सच्याउँदै प्रमाणमा आधारित निष्कर्ष निकाल्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापा, सिआइबी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ, वरिष्ठ अधिकृत, अनुसन्धान अधिकृत, तथा सिआइबीको केन्द्रीय टोली उपस्थित थियो।

निर्मला पन्तको बलात्कार तथा हत्या घटनाले देशव्यापी आक्रोश सिर्जना गरेको थियो। घटनामा संलग्न दोषीलाई अझैसम्म पत्ता लगाउन नसकिएको भन्दै निरन्तर आलोचना हुँदै आएको छ।

समाचार शेयर गर्नुहोस्
341
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.