काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अपेक्षाभन्दा बढी दर्शकको आगमनले प्रदर्शनी स्थलमा रौनक छाएको छ।
पाँच दिनसम्म मात्र सञ्चालन हुने भनिएको एक्स्पोमा अवलोकनकर्ताको माग छोटो समयमा सम्बोधन गर्न कठिन भएपछि नाइमाले प्रदर्शन अवधि थप एक दिन विस्तार गर्ने निर्णय गरेको हो। अब यो प्रदर्शनी श्रावण २१ गतेदेखि २५ गतेसम्म मात्र नभई श्रावण २६ गते सोमबारसम्म खुला रहनेछ।

शनिवारको मुसलधारे वर्षा बीच पनि अवलोकन, सोधपुछ, बुकिङ र खरिद गर्न आएका दर्शकको भीड झन् बढेको थियो। अरू दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरूले शनिवार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।

एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधारणसँगै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरू, व्यवसायी, व्यापारी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले उपस्थिति जनाए। दर्शक सङ्ख्या क्रमशः पहिलो दिन १५,०००, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५०० र शनिवार मात्रै २१,५०० पुगेको नाइमाले जनाएको छ।
स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमै अवलोकनकर्ताको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठुलो योगदान दिने प्रतिबद्धतामा रहेको जनाएको छ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन्। एक्स्पोको पहिलो दिन प्रायः कम्पनीहरूले आफ्ना नयाँ मोडल सार्वजनिक गरेका थिए भने दोस्रो दिन नयाँ मोडलसँगै विशेष अफरहरू घोषणा गरिएको थियो।
नाइमा एक्स्पोमा उपलब्ध अधिकांश अफर दसैँ–तिहारसम्म लागू हुने कम्पनीहरूले बताएका छन्।
नाइमा मोबिलिटी एक्स्पोमा सवारी साधनको विविधता, नयाँ मोडल र प्रविधिको आकर्षण
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.