निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अभद्र व्यवहारमा चक्रे मिलनसहित १९ जना दोषी, धरौटीमा रिहा गर्ने आदेश

अभद्र व्यवहारमा चक्रे मिलनसहित १९ जना दोषी, धरौटीमा रिहा गर्ने आदेश

310
SHARES

काठमाडौं — काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहार मुद्दामा चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश खिमानन्द भुषालको इजलासले चक्रे मिलन भन्ने मिलन गुरुङ र राजेश भन्ने राजेश खड्काबाट मुलुकी अपराध संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम जनही ३० हजार रुपैयाँ नगद वा सो बराबरको धरौट, जेथा वा बैङ्क जमानत बुझाई तारेखमा राख्न आदेश दिएको हो।

धरौटी बुझाउन नसके दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागार कार्यालयमा पठाइने आदेश भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए।

प्रतिवादी गणेश बहादुर बोगटी, डिल्ली राज कँडेल र रितिक लामाले अदालतसमक्ष कसुरमा इन्कार गर्दै बयान दिएका थिए। तर, अधिकार प्राप्त अधिकारी समक्ष होटलमा गएको र सहप्रतिवादी चक्रे मिलन गुरुङको जन्मदिन मनाई रातभर होहल्ला गरेको तथ्य साबित भएको, साथै निजहरू पटके कसुरदार समेत रहेको देखिएको अदालतको आदेशमा उल्लेख छ।

अदालतले निजहरू निर्दोष मान्न नसकिने ठहर गर्दै जनही २० हजार रुपैयाँ नगद वा सो बराबरको जेथा वा बैङ्क जमानत बुझाई तारेखमा राख्न आदेश गरेको छ।

अन्य प्रतिवादी निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीत बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार र सफल भन्ने सुजल शाहीले अधिकार प्राप्त अधिकारी समक्ष सहप्रतिवादी चक्रे मिलन गुरुङको जन्मदिन पार्टीमा सहभागी भई राती ढिलोसम्म बसी केक काटेको, मदिरा सेवन गरेको र प्रहरीलाई अभद्र व्यवहार गरेको स्वीकार गरेका थिए।

अदालतसमक्ष बयान गर्दा समेत उनीहरूले पार्टीमा सहभागी भई रातीसम्म बसेको स्वीकार गरेकाले निर्दोष मान्न नसकिने ठहर भएको हो। अदालतले निजहरूलाई जनही १० हजार रुपैयाँ नगद वा सो बराबरको जेथा वा बैङ्क जमानत बुझाई तारेखमा राख्न, र सो दिन नसके थुनुवा पुर्जी दिई थुनामा पठाउन स्थानीय कारागार कार्यालयलाई आदेश पर्चा गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँको संयुक्त अपरेसनमा उनीहरू पक्राउ परेका थिए। उक्त अपरेसनमा प्रहरीले ४७ जनालाई पक्राउ गरेकोमा २८ जनालाई छाडिएको थियो।

मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। महाराजगन्जस्थित होटल साम्बालामा पार्टी भइरहेको बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

समाचार शेयर गर्नुहोस्
310
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.