निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेस र रास्वपाबीच नैतिकताको जुहारी

कांग्रेस र रास्वपाबीच नैतिकताको जुहारी

भिजिट भिसा प्रकरणदेखि सहकारी ठगीसम्म आरोप–प्रत्यारोप

556
SHARES

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच लामो समयदेखि नैतिकताको जुहारी चलेको छ। अघिल्लो पटक रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा कांग्रेसले उठाएको नैतिकताको प्रश्न अहिले भने रास्वपाले गृहमन्त्री रमेश लेखकविरुद्ध उठाइरहेको छ।

अढाई महिनादेखि सदनमा अवरोध र बहिष्कार गरिरहेको रास्वपाका सांसद डा. चन्दा कार्कीले प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिएको मात्र नभई न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाइन्।

सांसद कार्कीको अभिव्यक्तिपछि गृहमन्त्री लेखकको सचिवालयले तत्काल विज्ञप्ति जारी गरी आपत्ति जनायो। रुपन्देही जिल्ला अदालतमा मुद्दा पेसी चढेको दिन न्याय परिषद्मा परेको उजुरी गृहमन्त्रीकै कार्यकक्षमा तयार पारिएको र सोको प्रतिलिपि सचिवालयबाट पठाइएको भन्ने दाबीप्रति सचिवालयले गम्भीर आपत्ति जनाएको हो।

विज्ञप्तिमा ती अभिव्यक्ति र समाचारहरू पूर्णतः भ्रामक, कपोलकल्पित र मनगढन्ते रहेको दाबी गर्दै, सम्मानित न्यायालयको गरिमा र सम्मानमा असर पर्ने यस्ता कार्य नभएको, हुन नसक्ने र भविष्यमा पनि नहुने कुरामा आश्वस्त हुन आग्रह गरिएको छ।

सांसद कार्कीले प्रधानमन्त्री र मन्त्रीहरूको आलोचना गर्दै गर्दा, सभापति लामिछाने भने सहकारीको रकम अपचलनको आरोपमा हिरासतमा छन्। लामिछानेमाथि मानवीय व्यवहार नभएको आरोप भइरहँदा, कारागार प्रशासनले उनी बस्ने कोठाको झ्यालमा राखिएको प्लाइउड हटाएर जाली राखिएको जनाएको छ।

लामिछानेलाई डिल्लीबजार कारागार ल्याउने तयारी भइरहँदा प्लाइउड हटाइएको टिप्पणी सार्वजनिक भएपछि नेपाली कांग्रेसकी सांसद सीता मिजारले रास्वपाले आँसु र भावनाको व्यापार गरिरहेको आरोप लगाइन्। उनले भैरहवा कारागारको सुविधाको विषयलाई लिएर सहानुभूति बिक्री गर्ने प्रवृत्ति रोक्नुपर्ने बताइन्।

उनको भनाइमा, “भैरहवा कारागारमा चार महिनादेखि सहकारी ठगी मुद्दामा रहेका पूर्वउपप्रधानमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने बस्नु भएको छ। रास्वपाले यसमा सहानुभूतिको व्यापार गरिरहेको छ। आँसु र भावनाको व्यापार गर्ने यो दोकान बन्द गरिदिनुहोस्। उहाँलाई भैरहवाबाट आजै काठमाडौं सार्ने व्यवस्था गर्नुहोस्।”

मिजारले लामिछानेलाई छुट्टै कोठा र टेलिफोनको सुविधा दिइएको भन्दै सबै बन्दीलाई समान सुविधा दिन सकिन्छ कि भनेर प्रश्न पनि उठाइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन बहिष्कार जारी रहने बताए। उनले कुलिङ पिरियडको व्यवस्थामा चलखेल गर्नेहरूलाई कानुनी कारबाही गर्न माग गरे।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मात्रै पर्याप्त नहुने उल्लेख गर्दै, सरकारले भिजिट भिसाको दुरुपयोगबारे कुनै चासो नदेखाएको आरोप लगाए। उनले दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठनको आवश्यकता दोहोर्‍याए।

रास्वपामा दैनिक हजार सदस्य थपिएको दाबी

रास्वपाले दैनिक एक हजारभन्दा बढी व्यक्तिले पार्टी सदस्यता लिइरहेको दाबी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा प्रवक्ता मनिष झाले हाल पार्टी प्रवेशको लर्को लागेको बताए।

उनका अनुसार बिहीबार पार्टी प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका २०७० सालदेखि हालसम्म उपाध्यक्ष रहेका ललितबहादुर श्रेष्ठ, नेपाली सेनाका पूर्व कर्नेल डा. प्रदुम्न पौडेल, सशस्त्र प्रहरी बलका पूर्व डिआइजी दुर्गा भट्टराई, पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्व गभर्नर तथा रेउकाई नेपालका पूर्व अध्यक्ष, महिला उद्यमी शोभा जोशी लगायत छन्।

समाचार शेयर गर्नुहोस्
556
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.