काठमाडौं – दुलाल बन्धु समाज केन्द्रीय समितिले नेपाल सरकारका सहसचिव योगेन्द्र दुलाल र कान्छाराम दुलाललाई ‘दुलाल कुल तिलक सम्मान’ प्रदान गरेको छ। गौरवपूर्ण इतिहास बोकेका र कर्म क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका यी दुवै सहसचिवलाई केन्द्रीय कार्यालयको तर्फबाट सम्मानित गरिएको हो।
सम्मान पत्रमा बन्धुत्व र भातृत्वका लागि सम्पूर्ण दुलालहरूको एकता, दुलाल बन्धु सेवा समाज, केन्द्रीय कार्यसमिति इटहरी, सुनसरी, नेपाल, स्थापित २०७० उल्लेख गरिएको छ।

योगेन्द्र प्रसाद दुलाल दमक नगरपालिका–२, झापा, कोशी प्रदेशका हुन्। नेपालको अत्यधिक उर्वर एवं सुन्दर नगरी झापाको उत्तरी भाग पर्वतमाला र दक्षिणी भाग तराईको समथर भू–भागले सजिएको ऐतिहासिक भेगमा, प्रसिद्ध तथा पवित्र कन्काइमाई मन्दिरको छत्रछायामा अवस्थित दमक नगरपालिका–२ मा आत्रेय गोत्रको दुलाल वंशको अभिजात परम्परा र देवी ब्रम्हायनी माताको आशीर्वादसहित पिता शिव प्रसाद दुलाल र माता भीमा देवी दुलालको कोखबाट, चौथो पुत्र रत्नको रूपमा, विक्रम सम्वत २०२८ साल साउन १८ गते मङ्गलवार जन्मेका हुन् योगेन्द्र।
जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका योगेन्द्र दुलाल २०५४ साल कात्तिक १२ गते नेपाल सरकारको निजामती सेवातर्फ राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतको रूपमा प्रवेश गरेका थिए। निरन्तर राष्ट्र सेवामा समर्पित रहँदै उनी २०८१ साल माघ २४ गते राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवको गरिमामय पदमा बढुवा भएका छन्।

भावी सन्ततिका लागि समेत प्रेरणाको स्रोत बनेका योगेन्द्र दुलालको सफलतालाई दुलाल बन्धु समाजले गर्वको विषय मान्दै उच्च प्रशंसा गरेको छ। उनलाई ‘दुलाल कुल तिलक सम्मान’ प्रदान गरिएको हो र आगामी दिनहरूमा थप प्रभावकारी कार्यको शुभकामना व्यक्त गरिएको छ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा कार्यरत योगेन्द्र दुलालको हालै मात्र विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ।
दुलाल कुल तिलक सम्मान प्राप्त गर्ने अर्का सहसचिव कान्छाराम दुलाल सङ्घीय संसद् सचिवालयमा कार्यरत छन्। उनी काभ्रे मण्डन देउपुर नगरपालिका–६ मा जन्मेका हुन्।
नेपालको गौरवशाली इतिहास, प्राकृतिक सम्पदा र सांस्कृतिक विरासतको प्रतीक गौरीशङ्कर हिमशृङ्खला, जसले राष्ट्रिय समय निर्धारण गर्छ, त्यसैको फेदीमा अवस्थित प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले भरिएको दुलालहरूको ऐतिहासिक तथा धार्मिक सर्वमान्य देवी माता ब्रम्हायनी विन्ध्यवासिनी मन्दिरको आँगनमा, पिता रविरमण दुलाल र माता तोया लक्ष्मी दुलालको कोखबाट, छैठौँ पुत्र रत्नका रूपमा, विक्रम सम्वत २०२४ साल वैशाख ४ गते सोमबार जन्मेका हुन् कान्छाराम।
राजनीतिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका उनले २०४९ साल वैशाख १६ गते नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका थिए। निरन्तर राष्ट्र सेवामा समर्पित रहँदै २०८२ साल साउन १५ गते उनी नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवको गरिमामय पदमा बढुवा भएका छन्।

आत्रेय गोत्रीय दुलाल वंशको कीर्तिमान र गौरवपूर्ण उच्च पहिचान बोकेका कान्छाराम भावी सन्ततिका लागि प्रेरणाको स्रोत बनेका छन्। कान्छारामलाई यसै उच्च प्रशंसा स्वरूप दुलाल बन्धु तिलक सम्मान प्रदान गरिएको हो र आगामी दिनहरू थप प्रभावकारी रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।
कान्छाराम हालै मात्र राज्य व्यवस्था तथा सुशासन समितिको सचिव बनेका छन्।
सम्मान कार्यक्रममा ललितपुर भट्टेडाँडाका माधव दुलालले आफ्नो क्याम्पस अध्ययनकालमा जात–थरको विषयमा ध्यान नदिए पनि, ललितपुर सहकारी सङ्घको अध्यक्ष भएपछि बधाई दिने क्रममा एक व्यक्तिले नेवारी भाषामा कुरा गर्दै “तपाईँ दुवाल होइन?” भनेर प्रश्न गरेको प्रसङ्ग स्मरण गरेका थिए।
कार्यक्रममा बागमती प्रदेश सभाका पूर्व सदस्य गणेशप्रसाद दुलाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं संस्कृतिविद् लोकराज दुलाल, जलविद्युत् विज्ञ कृष्ण दुलाल, केन्द्रीय अध्यक्ष गोपाल दुलाल, कोषाध्यक्ष राजन दुलाल, प्रशान्त विक्रम शाह दुलाल, दुलाल बन्धु समाज बागमती प्रदेशका अध्यक्ष जयराम दुलाल सहित उपस्थित सम्पूर्णले योगेन्द्र र कान्छाराम दुलाललाई सफलताको शुभकामना दिएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.