काठमाडौं – १२६ दिनको रुपन्देही कारागार बसाइपछि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ। शनिवारदेखि उनले नख्खु कारागारको सिआरसी ब्लकमा रात बिताउनेछन्, जहाँ हाल ४२२ जना कैदी बन्दी छन्।
कारागार प्रशासनले रात पर्नुका कारण छुट्टै कोठाको व्यवस्था गर्न नसकिएको र उनलाई अन्य कैदीसँगै राखिएको जानकारी दिएको छ। लामिछानेलाई राखिएको यही ब्लकमा यसअघि कांग्रेस नेता अफताब आलम पनि राखिएका थिए, जसलाई पछि उच्च अदालतको आदेशमा रिहा गरिएको थियो।
रविलाई भैरहवाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारेर सिधै नख्खु कारागार लगिएको हो। प्रहरी प्रशासनले उनलाई राखिएको गाडी मूल बाटो छलेर नेपाल आयल निगमको बाटो हुँदै कारागारसम्म पुर्याएको थियो। त्यतिबेला विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरू भने निरन्तर हेरिरहे।
विमानस्थलमा लामिछानेको पक्षमा ठुलो सङ्ख्यामा उपस्थिति हुने देखिएपछि दिनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। नख्खु कारागार परिसरमा पनि रास्वपाका समर्थकहरू जम्मा भई नाराबाजी गरिरहेका थिए। कारागार पुग्दा रविले प्रहरीको भ्यानबाट हात हल्लाउँदै समर्थकलाई अभिवादन गर्दै कारागारभित्र प्रवेश गरेका थिए।
कारागार व्यवस्थापन विभागले शुक्रवार मात्र रविलाई कारागार सरुवा गर्ने निर्णय गरेको थियो। रविकै आग्रहअनुसार शनिवार बिदाकै दिन हतारहतार रुपन्देहीबाट नख्खु कारागार स्थानान्तरण गरिएको हो। यसअघि उनले डिल्लीबजार कारागारमा सरुवाको निवेदन दिएको चर्चा चलेको थियो।
रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, “काठमाडौं आउने बेला रविले राजनीतिक प्रतिशोधले मंगलग्रहसम्म लगे पनि नडराउने बताएका थिए।” उनले भैरहवामा बिहान सबेरै पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागिता जनाइसकेपछि सभापति लामिछानेलाई काठमाडौं स्थानान्तरण गरिने जानकारी पाएको बताए। झाले उपसभापति डा. स्वर्णिम वाग्लेसँगै विमानस्थल प्रतीक्षालयमा दुई मिनेट भेट्ने अवसर पाएको स्मरण गर्दै लामिछानेमा कुनै हताश देखिएन भन्ने दाबी गरे।
लामिछानेले आफू बसेको कारागार कोठाको भित्तामा, “अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ” भनेर लेखेका छन्।
गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठ १४ गते कारागार सरुवाका लागि निवेदन दिएका थिए। त्यसको पर्सिपल्ट अदालतले अनुमति दिए पनि सरकारले प्रक्रिया रोकेको थियो। तर मानवअधिकार आयोगलगायत विभिन्न निकायको आग्रहपछि अन्ततः उनलाई सरुवा गरिएको हो।
मनिष झाको विवरण अनुसार:
आज कृष्ण जन्माष्टमीको दिन लुम्बिनी प्रदेशको प्रशिक्षणका लागि बिहान सबेरै भैरहवा पुगेको थिएँ। त्यहीँ जानकारी पाएँ कि हाम्रो पार्टी सभापति ज्यूलाई काठमाडौं उपत्यकास्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकेपछि हतारिँदै, अनिश्चितताको सास फेर्दै प्रहरी प्रशासनलाई भेट्न आग्रह गर्दै भैरहवा कारागारसम्म पुगेँ।
त्यहाँ पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। तर कारागार प्रशासकले आज भेट्न नदिने भन्दै फर्काइदियो। त्यसपछि हामी विमानस्थलस्थित प्रहरी प्रशासनलाई भेट्न अनुरोध गर्यौ। धेरै निवेदन गरेपछि अन्ततः दुई मिनेटका लागि विमानस्थल प्रतीक्षालयमा उभिएरै भेट्ने अवसर प्राप्त भयो।
सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको रवि दाइलाई देख्दा कारागार स्थानान्तरणले उनलाई कुनै त्रास, डर वा भय थपेको छैन भन्ने प्रस्ट अनुभव भयो।
मैले सोधेँ,
“कति दिन भैरहवामा बस्नु भयो?”
उहाँले उत्तर दिनुभयो, “१२६ दिन।”
पुनः सोधेँ,
“काठमाडौं जान लाग्नु भएको छ, के सोच्दै हुनुहुन्छ?”
उहाँले भन्नुभयो, “पूरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन्। सबैसँग माया, सद्भाव छ। सबैको हामीप्रतिको विश्वासमा आभार प्रकट गर्छु। भैरहवाको हावापानी, यहाँका आमा–बुवा, दाजुभाइ–दिदीबहिनीप्रति कृतज्ञ छु। मलाई १२६ दिनसम्म सुरक्षित राख्ने सुरक्षाकर्मी साथीहरू र खाना–अन्नको व्यवस्था गर्ने कारागार प्रशासनप्रति आभारी छु। राजनीतिक प्रतिशोधले मलाई मंगलग्रहसम्म लगे पनि म डराउँदिन। यो मेरो देश हो, मेरो भूमि हो। जहाँ लगे पनि केही फरक पर्दैन।”
“म बसेको कोठाको भित्तामा लेखेर आएको छु – अब यहाँ कृष्णहरू जन्मिने छैनन्, तर जन्मेकाहरूले नै कृष्णझैँ बन्नुपर्नेछ। ४६३ दिन अघि एक जनाले प्रमाण छ भने। मैले प्रमाण मागेँ, उसले बल देखायो। मैले न्याय मागेँ, उसको संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभीत छैन, किनभने म जनताको अदालतमा विश्वास गरेर परिवर्तनका लागि सबै त्यागेको मानिस हुँ।”
त्यसपछि सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्यो। रविले “अब काठमाडौँमा भेटौँला है” भन्दै भैरहवाबाट काठमाडौं उडान भरे। टाढैबाट हामीले पनि “राम्ररी पुग्नु है” भनेर बिदा गर्यौ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.