काठमाडौं – रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले आफ्ना गतिविधि तीव्र पारेका छन्। आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनलाई ध्यानमा राखी दलहरूले गाउँ–गाउँसम्म पुगेर चुनावी भेटघाट, घरदैलो अभियान र कार्यकर्ता भेला सञ्चालन गरिरहेका छन्।
यो उपनिर्वाचन गत चैत १९ गते निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधनपछि रिक्त भएको सिटमा हुन लागेको हो। निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेसँगै दलहरूले प्रचार–प्रसार सुरु गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले तल्लो तहसम्म पुगेर चुनावी गतिविधि अघि बढाएका छन्।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसपटक कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने स्पष्ट सङ्केत दिएका छन्। उनले भने, “नतिजा आफ्नो पक्षमा ल्याउन व्यापक जनपरिचालन भइरहेको छ। चुनावमा गठबन्धन नगर्ने एमालेको नीति नै हो।”
२०७९ को आम निर्वाचनमा राप्रपाका दीपक बोहराले नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई पराजित गरेका थिए। यही कारण यो उपनिर्वाचनलाई कांग्रेस र एमालेबीच प्रतिष्ठाको प्रतिस्पर्धा मानिएको छ। रास्वपाको उदयले प्रतिस्पर्धा थप रोचक बनेको छ भने राप्रपाका लागि आफ्नो सिट सुरक्षित राख्ने चुनौती देखिएको छ।
सत्तारूढ दल नेपाली कांग्रेसले उपनिर्वाचनमा एमालेलाई नचिढाउने रणनीति बनाएको छ। २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका बालकृष्ण खाँण पराजित भएका थिए, भने राप्रपाका दीपक बोहरा विजयी भएका थिए। बोहराको निधनपछि नै यो उपनिर्वाचन हुन लागेको हो।
गत निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको कांग्रेस अहिले भने एमालेसँग मिलेर सरकार सञ्चालन गरिरहेको छ भने माओवादी प्रतिपक्षमा पुगेको छ। कांग्रेस नेता मीन विश्वकर्माले भने, “सरकारमा सहकार्य गर्ने भए पनि चुनावमा निष्पक्ष प्रतिस्पर्धा हुन्छ।”
तर, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र अझै अलमलमा देखिएको छ। कांग्रेस र एमाले दुवै सत्ता गठबन्धनमा रहेकाले माओवादीसँग गठबन्धनको सम्भावना क्षीण देखिएको छ, तर सङ्गठनात्मक तयारी पनि कमजोर देखिएको विश्लेषण गरिएको छ। यसबारे महासचिव देव गुरुङले छिट्टै छलफल गरेर अन्तिम निर्णय हुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रन तयारी गर्दैछ। पार्टीले सम्पूर्ण शक्ति रुपन्देही–३ मा केन्द्रित गरेको छ। रास्वपाले कांग्रेस र एमालेलाई चुनौती दिने गरी उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। रास्वपाका सांसद हरि ढकालका अनुसार, “भदौ १५ गतेसम्म उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने तयारी छ। कुनै दलसँग गठबन्धन हुँदैन।”
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आक्रामक प्रचार अभियानमा उत्रिएको छ। अघिल्लो निर्वाचनमा विजय प्राप्त गरेको राप्रपाले यसपटक आफ्नो सिट गुम्ने स्थिति आउन नदिन व्यापक गतिविधि थालेको हो।
दिवङ्गत नेता दीपक बोहराको निधनपछि रिक्त भएको पदमा बोहराकै दुई छोरासहित ६ जनाको नाम सिफारिस भइसकेको राप्रपाका सचिवालय प्रमुख राजेन्द्र गुरुङले जानकारी दिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.