काठमाडौँ – काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पाँच महिनाभन्दा बढी हिरासतमा बसेर साउन २० गते २८ लाख रुपैयाँ धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
चैत १५ गते संयुक्त जन आन्दोलन समितिले आयोजना गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको थियो। प्रसाईँले गाडी हुइँक्याउँदै प्रहरीको अवरोध तोडे। त्यस क्रममा कम्तीमा ४० सार्वजनिक र निजी भवनमा आगजनी, तोडफोड र लुटपाट भयो।
६९ वटा सवारी साधन क्षतिग्रस्त भए, १२९ जना घाइते भए। पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर हत्या गरियो भने सविन महर्जन गोली लागेर निधन भए। आन्दोलनकै क्रममा प्रसाईँ स्वयंले गाडी हुइँक्याउँदै सुरक्षाकर्मीलाई किच्न खोजेको भिडियो सार्वजनिक भएपछि उनीमाथि गम्भीर आपराधिक आरोप लागेको हो।
यसपछि उनी पाँच महिनाभन्दा बढी जेलमा रहे। बाहिरिए लगत्तै उनले आफूलाई मार्ने योजना बनेको दाबी गर्दै, आन्दोलनलाई हिंसात्मक बनाउन एमाले, माओवादी र राप्रपाले मिलेको आरोप लगाए।
झन्डै साढे पाँच महिनापछि प्रसाईँले भक्तपुरको मध्यपुरथिमि कमेरोटारस्थित निवासमा पत्रकार सम्मेलन गरेर नयाँ दल खोल्ने निर्णय सार्वजनिक गरे। उनले पुराना राजनीतिक दलहरूप्रति वितृष्णा बढेको भन्दै साथ दिनेहरूलाई धन्यवाद दिए।
आन्दोलनका क्रममा बैङ्क ऋण नतिर्ने आश्वासन दिएको आरोप खेपेका उनले यसपटक ब्याज तिरेका कागजात देखाउँदै, आफूमाथि लागेको बैङ्किङ कसुर राजनीतिक प्रतिशोधका कारण भएको दाबी गरे।
दलको नाम र वैचारिक धार स्पष्ट नगरे पनि उनले यसलाई व्यक्तिगत चाहनाले नभई जनताको हितका लागि खोलेको बताए। प्रसाईँका शब्दमा, “अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने, अवरोध गर्ने काम भयो। अब राजनीतिक पार्टी खोलेर अघि बढ्ने निष्कर्षमा पुगेको छु।”
अघिल्ला गतिविधि र विवाद
पूर्वराजालाई पूर्वी नेपाल लगेर हिन्दु राज्यको अभियान चलाएका प्रसाईँ पछिल्लो समय राजावादीका रूपमा चिनिँदै आएका थिए। तर चैत १५ को घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाले समेत उनलाई पाखा लगाएका छन्। न एमाले, न माओवादी, न राप्रपाबाट समर्थन पाएपछि उनी अब नयाँ दलको बाटोमा उत्रिएका छन्।
अघिल्ला गतिविधिमा उनी विवादित शैलीका कारण चर्चित बनेका थिए। प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई ‘चरेसको थालमा मार्सी चामलको भात’ खुवाएर चर्चामा आएका उनी, आन्दोलनका क्रममा हिंसात्मक उत्तेजना फैलाउने, समर्थन नदिनेहरूमाथि सत्तोसराप गर्ने, पत्रकारमाथि आक्रमण गर्ने शैलीका कारण आलोचित भए।
राजनीतिक मात्र होइन, प्रसाईँ आर्थिक विवादमा समेत मुछिएका छन्। उनीमाथि बैङ्कको ऋण नतिरेको, सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेको र परिवारका सदस्य समेत बैङ्किङ कसुरमा तानिएको आरोप छ। यस विषयमा उनले आफू निर्दोष रहेको दाबी गर्दै, प्रमाण स्वरूप कागजात प्रस्तुत गरेका छन्।
प्रसाईँले नयाँ दल खोल्ने घोषणा गरे पनि दलको नाम र वैचारिक धार अझै स्पष्ट छैन। आफूलाई राष्ट्रवादी दाबी गर्ने उनको यो कदम फेरि पनि प्रश्नको घेरामा छ के उनी साँच्चै नयाँ राजनीतिक दल बनाउन सक्षम छन्, वा यो पनि अघिल्ला आन्दोलनझैँ अर्को विवादास्पद अध्याय मात्रै हो?
काँग्रेसभित्र शुद्धीकरण र जागरणको आवश्यकता
दुर्गा प्रसाईँले नयाँ दल खोल्ने घोषणा गरेकै दिन नेपाली काँग्रेसका शीर्ष नेताहरूले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिशयोक्तिपूर्ण र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको टिप्पणी गरे।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै, त्यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील बन्नुपर्ने आवश्यकता औँल्याए।
त्यसपछि महामन्त्री गगन थापाले नेपाली समाजमा असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरे। तर उनले आगो सल्काउन मद्दत गर्नेहरूमाथि मात्रै प्रश्न गरेर हुँदैन, बरु जनताका आक्रोशलाई समाधान गर्ने उपाय खोज्नुपर्ने धारणा राखे।
थापाका अनुसार काम र परिणामबाट मात्रै असन्तुष्टिको आगो निभाउन सकिन्छ। उनले नेपाली काँग्रेसभित्र शुद्धीकरण र जागरणको आवश्यकता रहेको पनि जोड दिए।
रुपन्देही उपनिर्वाचन नागरिक उन्मुक्ति अयोग्य
रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने आगामी उपनिर्वाचनलाई लक्षित गर्दै २६ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
निर्वाचन आयोगका अनुसार यस पटक २७ वटा दलले निवेदन दर्ता गर्न आए पनि कानुनी प्रक्रिया पूरा नगरेका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा) उपनिर्वाचनका लागि अयोग्य ठहरिएको छ। आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार आवश्यक कागजात नपुगेपछि नाउपालाई अयोग्य घोषित गरिएको हो।
गत चैत १९ गते प्रतिनिधि सभा सदस्य दिपक बहादुर बोहोराको निधन भएपछि सो निर्वाचन क्षेत्र खाली भएको हो। संवैधानिक प्रावधानअनुसार खाली पद पूर्ति गर्न उपनिर्वाचन आगामी कार्तिक १७ गते हुने आयोगले घोषणा गरेको छ।
उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रामक प्रचार अभियानमा उत्रिएको छ। पार्टीले घरदैलोदेखि सामाजिक सञ्जालसम्म व्यापक प्रचार गरिरहेको छ। विपरीत रूपमा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठुला दल भने अहिले सम्म प्रचारमा खासै सक्रिय देखिएका छैनन्।
निर्वाचन आयोगले दर्ता भएका दललाई उम्मेदवार सिफारिसका लागि तोकिएको समयभित्र नाम पेस गर्न आग्रह गरेको छ। उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि मात्र निर्वाचनको वास्तविक प्रतिस्पर्धा को-कसबीच हुने भन्ने स्पष्ट हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.