काठमाडौं – उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने तयारीबाट सत्ता गठबन्धन पछि हटेको छ। मङ्गलवार हतार हतार सांसदहरूसँग खाली कागजमा हस्ताक्षर सङ्कलन गरेको काँग्रेस–एमाले बहुमत पुर्याउन नसक्ने स्थिति देखिएपछि महाअभियोगको कदमबाट पछि हटेको हो।
सत्तारुढ दलले बहाना उपसभामुख देशबाहिर रहेकाले महाअभियोग प्रस्ताव दर्ता भए सन्देश राम्रो नजाने दिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, हस्ताक्षर सङ्कलन महाअभियोग लगाउने उद्देश्यले होइन।
उनका अनुसार उपसभामुख विदेशमा रहेका बेला हस्ताक्षर सङ्कलनको विषयलाई अतिरञ्जित ढङ्गले प्रचार गरिएको छ। उनले थपे, “होइन भन्दा-भन्दा पनि हो भन्न थाल्दा हामी जवाफ दिदाँ दिदै थाकिसकेका छौँ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुसार पहिले उठेका विषयमा मौन बसेको गठबन्धन अहिले संवैधानिक नियुक्तिलाई लिएर बार्गेनिङमा आएको हो। रास्वपाले संवैधानिक परिषद्मा बहुमत पुर्याउन पुरानो मुद्दा उठाएको बताएको छ।
तर, सत्तारुढ दलका नेताहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने रास्वपा तर्फ नै भिजिट भिसा प्रकरण सोझ्याएको स्वीकार गर्छन। कांग्रेस र एमालेका शीर्ष नेताको बैठकपछि रास्वपाको घाँटीमा तरबार झुन्ड्याउन महाअभियोगको तुरुप फ्याँके पनि बहुमत नपुग्ने देखेपछि हाललाई रोकिएको हो।
भिजिट भिसा प्रकरणको छानबिनमा रास्वपाले सहयोग गर्ने बताएको छ। पार्टी प्रवक्ता मनिष झाले भने, “हामी अहिले पनि छानबिनमा सहयोग गर्न तयार छौँ। त्यसकालागि गैर–राजनीतिक, न्यायिक छानबिन समिति बनाइदिन आग्रह गरेका छौँ।”
स्वतन्त्र सांसद अमेरश सिंले भने, “अहिले एउटा दल पर्दा मिठाई बाँड्ने र अर्को दलले फाइदा उठाउने काम नगर्न सुझाव दिन्छु। यदि यस्तै अवस्था रहिरह्यो भने नेपालमा लोकतन्त्र र साना दलहरू नै समाप्त हुने खतरा छ।”
नेकपा माओवादी केन्द्रले यस घटनालाई सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइन अनुरूप एमाले र काँग्रेसले चाल चलेको बताएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “उपसभामुखलाई देखाएर लोकतन्त्र र प्रणालीमाथि प्रहार गरिएको छ।”
प्रचण्ड बुधवार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्न नख्खु कारागार पुगे। भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, “बैङ्क धरौटी तिरेर मुद्दा लड्ने तयारीमा छु, तर सरकार र गठबन्धनले मलाई विभेद गरेको गुनासो लामिछानेले सुनाए।”
कुराकानीका क्रममा लामिछानेले आफूविरुद्ध राखिएको प्रतिशोधले रास्वपालाई देशभर फाइदा पुगेको समेत बताए। प्रचण्डले काँग्रेस–एमालेले आफ्नै खुट्टामा बन्चरो हानेको रविले सुनाएको पनि उल्लेख गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.