निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बार र गेस्ट हाउसको आडमा ठगी, २३ जना पक्राउ

बार र गेस्ट हाउसको आडमा ठगी, २३ जना पक्राउ

377
SHARES
तस्बिर : जिल्ला प्रहरी परिसर काठमाडौं

काठमाडौं – काठमाडौँमा बार र गेस्ट हाउसको आडमा ठगी गर्दै आएका २३ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौँको गोङ्गबु, मित्रनगरस्थित गोल्डेन बार एन्ड क्लब र क्रिष्टल बार एन्ड क्लबमा छापा मार्दा ती व्यक्तिहरू पक्राउ गरेका हुन्।

जिल्ला नुवाकोट घर भई काठमाडौँमा बस्दै आएका ३५ वर्षीय पदम सिंह ठकुरीले सञ्चालन गरेको गोल्डेन बार एन्ड क्लब र कञ्चनपुरका ३० वर्षीय सुवास सिंह ठकुरीले सञ्चालन गरेको क्रिष्टल बार एन्ड क्लबमा सञ्चालक तथा कामदारको रूपमा संलग्न ती व्यक्तिहरूले सर्वसाधारणलाई प्रलोभनमा पारी जबरजस्ती बिल असुल्ने र दुर्व्यवहार गर्ने कार्य गर्दै आएका थिए।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जको टोलीले भदौ ४ गते राति नियन्त्रणमा लिएको हो।

सडकमा हिँडिरहेका सर्वसाधारणलाई विभिन्न सेवा–सुविधा र प्रलोभन देखाई बारभित्र ल्याई जबरजस्ती बिल असुली तथा दुर्व्यवहार गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

क्रिष्टल बार एन्ड क्लबमा कार्यरत बर्दियाकी २४ वर्षीया सिता कुमारी थापा, सिन्धुलीकी २२ वर्षीया सलिना आले मगर, धनकुटाकी २२ वर्षीया रोशिका भट्टराई, सिन्धुलीकी १८ वर्षीया लक्ष्मी राई, उदयपुरकी २० वर्षीया स्मृति लिम्बु, धादिङकी १८ वर्षीया सुशीला मगर, नुवाकोटका २० वर्षीय सामराज तामाङ, कञ्चनपुरका २४ वर्षीय विनोद रतौली, बाजुराका २० वर्षीय समीर खड्का, बागलुङका २२ वर्षीय दिल कुमार रसाइली र काभ्रेका १९ वर्षीय बिराज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, गोल्डेन बार एन्ड क्लबबाट सर्लाहीकी १९ वर्षीया शशिकला खत्री, गोरखाकी २४ वर्षीया अनिशा थापा, सिन्धुलीकी २४ वर्षीया अञ्जना मुक्तान, धादिङकी १८ वर्षीया सबिना मगर, उदयपुरकी २१ वर्षीया सुक्रिन्ता मगर, नुवाकोटकी २१ वर्षीया करुणा थापा, नुवाकोटकै ३३ वर्षीय सुन्दर तामाङ, काभ्रेका ३५ वर्षीय राजकुमार तामाङ, नुवाकोटकै २४ वर्षीय राजेन्द्र तामाङ, काभ्रेका ३१ वर्षीय देवराज तामाङ, पाँचखालका २६ वर्षीय अनिल तामाङ र नुवाकोटकै १८ वर्षीय अदित्य लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दर्ता गरिएको छ। प्रशासनले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गर्न अनुमति दिएको र अन्य संलग्न व्यक्तिहरूमाथि पनि प्रहरीको निगरानी बढाइएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न बार तथा गेस्ट हाउसमा यस्ता गतिविधि हुने गुनासो बढेसँगै नियमित अनुगमनलाई अझ कडा बनाइने बताएको छ।

समाचार शेयर गर्नुहोस्
377
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.