काठमाडौं – नेपालमा २०८२ साल साउन मसान्तसम्म ३ करोड १० लाख ८ हजार ८७७ जना नेपालीलाई नागरिकता जारी गरिएको छ। नेपालको जनसङ्ख्या २०७८ सालमा २ करोड ९१ लाख ९२ हजार ४८० रहेको तथ्याङ्क छ।
मृतक, प्रतिलिपि लिएका लगायत सबै समेटेर यो तथ्यांक निकालिएको गृह मन्त्रालयले प्रष्ट पारेको छ। १ करोड ६६ लाख ८५७ जना पुरुष, १ करोड ४४ लाख ५ हजार ७६३ जना महिला र १ हजार ६३५ जनाले अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएको गृह मन्त्रालयले जनाएको छ।
नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई अन्य उल्लेख गरेर नागरिकता दिने कानुनी व्यवस्था छ। नागरिकता ऐन २०६३ मा भएको संशोधनपछि २०८२ साउन ३१ गतेसम्म १ हजार ६३५ जनाले अन्य उल्लेखसहितको नागरिकता पाएको मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले पहिचानलाई जानकारी दिए।
उनका अनुसार, संशोधित नागरिकता ऐनअन्तर्गत हालसम्म १ करोड ६३ लाख ३२ हजार ८११ जनाले वंशजको आधारमा नागरिकता पाएका छन् भने ११ हजार ७१६ जनाले अङ्गीकृत नागरिकता पाएका छन्।
सूचना अधिकारी आचार्यले लिङ्ग परिवर्तन (सेक्स चेन्ज) गरेका व्यक्तिहरूको विवरण भने मन्त्रिपरिषद् कार्यालयमा हुने बताए। उनका अनुसार, कानुन बमोजिम जारी भएका नागरिकताको तथ्याङ्क मात्र गृह मन्त्रालयले सार्वजनिक गर्ने गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सेक्स चेन्ज गरेका व्यक्तिलाई परिवर्तित लैङ्गिक पहिचानअनुसार नागरिकता जारी गर्ने प्रावधान भए पनि हालसम्म यसलाई स्पष्ट कानुनी आधार दिइएको छैन। त्यसको रेकर्ड मन्त्रिपरिषद् कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मात्र उपलब्ध हुने उनले बताए।
नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई कानुनी रूपमा नागरिकताको अधिकार दिलाउन ६ पुस २०६४ मा सुनिल बाबु पन्त विरुद्ध नेपाल सरकार विपक्षी रहेको रिटमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको थियो।
सो आदेशपछि २०६९ पुसमा गृह मन्त्रालयले पुरुष, महिला र अन्य गरी तीन वटा लैङ्गिक पहिचानमा नागरिकता वितरण गर्ने गरी परिपत्र जारी गरेको थियो। त्यसपछि नागरिकता ऐन २०६३ मा संशोधन गरेर कानुनी व्यवस्था पनि गरिएको हो।
यसरी, हालसम्म १ हजार ६३५ जनाले अन्य लैङ्गिक पहिचानमा नागरिकता पाए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सरोकारवालाहरू अझै पनि नागरिकताको प्रक्रिया जटिल भएको, कानुनी स्पष्टता अपूरो रहेको र व्यावहारिक रूपमा विभिन्न प्रशासनिक झन्झट व्यहोर्नु पर्ने बाध्यता रहेको बताउँछन्।
पहुँच भएकाले लिए तीन थरी नागरिकता
नेपालमा नागरिकता वितरणमा असमानता र भेदभाव रहेको तथ्य सार्वजनिक हुँदै आएको छ। एकातर्फ पहुँच र प्रभाव भएकाहरूले पुरुष, अन्य र महिला गरी तीन–तीन वटा नागरिकता समेत लिएको खुलासा भएको छ भने अर्कोतर्फ साधारण नागरिक भने नागरिकता नपाएर वर्षौँ अनागरिक भएर बस्न बाध्य भएका छन्।
भूमिका श्रेष्ठले आफूले तीन वटा नागरिकता लिएको कुरा सार्वजनिक रूपमा नै बताउँदै आएकी छन्। उनी जस्तै पहुँच भएकाहरूले खुलेआम थरथरीका नागरिकता लिएको दाबी गरिरहेका छन्।
तर विपरीत, पहुँच नभएकाहरू भने साधारण नागरिक अधिकारकै आधारभूत कागज नागरिकता लिन सङ्घर्षरत छन्। यस घटनाले नेपालमा नागरिकता वितरण प्रक्रियामा रहेको अव्यवस्था, पहुँचअनुसारको सुविधा र सामान्य नागरिकले भोग्नु परेको दुःख स्पष्ट पारेको छ।
सम्बन्धित समाचारः
गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता
एउटै मान्छेलाई थरीथरीको नागरिकता दिने आधार के?
चार थरीका नागरिकता : १५ सय एलजीबीटीआईलाई पहिचान अनुसारको नागरिकता
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.