झापा – अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी सञ्जिल राई झापाको दमक नगरपालिका–३ फाल्गुनन्द चोकस्थित परदेशी होटल एन्ड लजमा मृत अवस्थामा फेला परेका छन्।
२०८२ साउन ३१ गते दिउँसो करिब १२ः३० बजे होटलको कोठा नम्बर २०१ भित्र अचेत अवस्थामा भेटिएका ३४ वर्षीय राईलाई तत्कालै उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोही दिन दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार राई २०८२ साउन २५ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए। उनी दमककै बेलडाँगी शिविर निवासी मनिला चाम्लिङ राईलाई भेट्न आएका थिए। आइतबार बिहान ढोका नखोलेपछि होटल सञ्चालकको सहयोगमा ढोका फोडेर प्रवेश गर्दा राई घोप्टो अवस्थामा बेहोस भेटिएका थिए।
कोठाभित्र ‘गुग्ली’ नामक विषादीको बट्टा फेला परेको प्रहरीको भनाइ छ। थप खानतलासी गर्दा त्यही ब्रान्डको सिलबन्द प्याकेट पनि बरामद भएको दमक प्रहरीका डिएसपी रामप्रसाद तिमल्सिनाले पहिचानलाई जानकारी दिए। प्रारम्भिक अनुमान अनुसार उनले विषादी सेवन गरेका थिए तर घटनाको कारण र पृष्ठभूमि अझै अनुसन्धानमै रहेको प्रहरीको भनाइ छ।
प्रहरीले राई अमेरिकाबाट डिपोर्ट भएर नेपाल आएको पुष्टि गरेको छ। तर उनी कुन मिति र कुन नाकाबाट नेपाल प्रवेश गरेका हुन् भन्नेबारे प्रस्ट विवरण भने खुलेको छैन।
मृतक सञ्जिलको परिवार अमेरिकाको ओहायोमा बस्दै आएको थियो। सञ्जिलको मृत्युको खबर पाएलगत्तै उनीहरू नेपाल आए र परिवार आएपछि शुक्रबार (भदौ ६ गते) अन्तिम संस्कार गरिएको काका प्रकाशले बताए।
सञ्जिलको जीवन यात्रा पनि शरणार्थीको पीडादायी कथासँग गाँसिएको छ। भुटानले निष्कासन गरेपछि सन् १९९२ मा उनको परिवार झापास्थित भुटानी शरणार्थी शिविरमा आएर बसेको थियो।
काका प्रकाश राईका अनुसार परिवारमा बुबा, आमा, एक भाइ र एक बहिनी छन्। सञ्जिल त्यतिबेला ८ महिनाको शिशु थिए, जसलाई बोकेर उनका बाबुआमा शिविरमा शरण लिन आएका थिए।
तेस्रोदेश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेका सञ्जिललाई किन डिपोर्ट गरिएको हो भन्ने कुरा परिवारलाई अझै थाहा छैन। “डिपोर्ट किन भयो भन्ने बुझ्न पाएका छैनौँ,” काका प्रकाशले भने, “सञ्जिलको मृत्युले हामी पीडामा छौँ।”
बुबा, आमा र बहिनी अहिले बेलडाँगी शरणार्थी शिविरमा काका प्रकाशकै टहरोमा बसिरहेका छन्। उनीहरू शोक र पीडामा डुबेका कारण अमेरिकाले किन डिपोर्ट गर्यो भन्ने प्रश्न पनि सोध्न नसकेको प्रकाशले बताए। “सञ्जिल नेपाल कहिले आए भन्ने पनि हामीलाई थाहा थिएन। घटना घटेपछि मात्र थाहा पाइयो,” उनले भने।
सञ्जिलकी फुपू दिलमाया राईले पनि उनी नेपाल आएको थाहा नभएको बताइन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.