काठमाडौं – यस वर्षको हरितालिका तीज मङ्गलवार मनाइँदैछ भने सोमबार दर खाने दिन हो। काठमाडौँसहित देशका धेरै स्थानमा यसअघि नै दर खुवाउने कार्यक्रमहरू सुरु भइसकेका छन्।
तीजलाई अब केवल पारम्परिक उत्सवको रूपमा मात्र नभई सबै समुदायलाई समेट्ने अवसरका रूपमा पनि बुझ्न थालिएको छ। यस सन्दर्भमा समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका सदस्यहरूले पनि इन्द्रेणी तीज विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो अस्तित्व र पहिचानलाई सम्मान गर्न आग्रह गरेका छन्।
उनीहरूले “हामी पनि यो समाजका नागरिक हौँ, हामीमाथि भेदभाव नगरियोस्” भन्ने सन्देश दिन तीज पर्वलाई एउटा साझा मञ्चका रूपमा उपयोग गर्न थालेका छन्।

काठमाडौँमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय महिला कमिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई सहभागी गराइएको थियो।

सो कार्यक्रममा अधिकारकर्मी नुमा लिम्बु ‘चञ्चला’ले नेतृत्व गर्दै समुदायको तर्फबाट सहभागिता जनाइन्। उनले कार्यक्रममा सहभागी भएर नाचगान गरेको बताउँदै, आफ्नो समुदायमा मात्र सीमित नगरी सबैसँग घुलमिल भएर तीज मनाउन पाउनु खुसीको कुरा भएको सुनाइन्।
यस्तै, मकवानपुरको हेटौडामा पहिलो पटक तेस्रोलिंगी अधिकारकर्मी सन्ध्या लामको नेतृत्वमा इन्द्रेणी तीज विशेष कार्यक्रम गरिएको छ। लामका अनुसार समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका सदस्यहरू भेला भएर कार्यक्रम आयोजना गरिएको थियो, जसले समुदायलाई आत्मविश्वासका साथ पहिचान प्रदर्शन गर्ने अवसर दिएको छ।

त्यसैगरी, ‘इन्क्लुशिभ ग्यालेक्सी रेस्टुरेन्ट’ले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको उपस्थितिमा हरितालिका तीजको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा समुदायका सदस्यहरूले नाचगान गर्दै रमाइलो गरेका थिए। नेपालकै पहिलो “मिस्टर गे हेन्डसम” विश्वराज अधिकारीले सामाजिक सञ्जालमार्फत कार्यक्रमको जानकारी दिँदै समुदायले आत्मीय वातावरणमा तीज मनाएको उल्लेख गरेका छन्।

पछिल्ला केही वर्षदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले तीज पर्वलाई महिलाको मात्र पर्व नभई साझा सांस्कृतिक उत्सवका रूपमा लिन थालेका छन्। यसले उनीहरूलाई समाजसँग अझ नजिक बनाउने र भेदभावविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने अवसर दिएको छ।को मात्र पर्व नभई साझा सांस्कृतिक उत्सवका रूपमा लिन थालेका छन्। यसले उनीहरूलाई समाजसँग अझ नजिक बनाउने र भेदभावविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने अवसर दिएको छ।
पशुपतिनाथ मन्दिरमा विशेष व्यवस्था
तीजको दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि विशेष व्यवस्था मिलाइएको छ। पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनमार्फत मङ्गलवार बिहान ३ बजेदेखि नै पशुपतिनाथको चारै ढोका खोलिने जानकारी दिएको छ।
कोषका सदस्य–सचिव सुवासचन्द्र जोशीका अनुसार भक्तजनलाई गुठीटोल, उमाकुण्ड, दक्षिणमुखी, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइने र दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
साथै, मृगस्थली–जयवागेश्वरी हुँदै दक्षिणतर्फ प्रवेश गरी पश्चिम ढोकाबाट निस्कने व्यवस्थासमेत गरिएको छ। यसपटक दर्शनका लागि कुनै पासको व्यवस्था नगर्ने निर्णय गरिएको कोषले जनाएको छ।
भीड व्यवस्थापनका लागि विशेष ट्राफिक तथा पार्किङ योजना तयार पारिएको छ। तीज अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइने र केवल दमकल, एम्बुलेन्स तथा शववाहनलाई मात्र अनुमति दिइने व्यवस्था मिलाइएको छ। ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र अपाङ्गता भएका महिलाहरूलाई प्राथमिकतामा राखी सहजीकरण गर्ने योजना समेत कोषले सार्वजनिक गरेको छ।
तीजको धार्मिक महत्त्व
पौराणिक किंवदन्तीअनुसार भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीले भगवान् शिवको स्वास्थ्य र शरीरमा कुनै वाधा नहोस् भनी पहिलो पटक व्रत बसेकी थिइन्। हिन्दु ग्रन्थमा उल्लेख भएअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीलाई भगवान् विष्णुसँग विवाह गरिदिने वचन दिएपछि पार्वती असन्तुष्ट भइन् र आफूले मन पराएको वर पाउन जङ्गल गएर भगवान् शिवको कठोर तपस्या गर्न थालिन्।
शताब्दीयौँसम्म चलेको कठोर तपस्यापछि शिवले प्रसन्न भएर ‘चिताएको कुरा पुगोस्’ भनी वरदान दिए र पार्वतीसँग विवाह सम्पन्न भएको विश्वास गरिन्छ। सोही दिनदेखि महिलाहरूले हरितालिका तीजलाई व्रत बस्दै उत्सवका रूपमा मनाउन थालेका हुन्। यस दिन माइतीले छोरी–चेलीलाई बोलाएर दर खुवाउने परम्परा आजसम्म कायम छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.