काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र अध्यक्ष पदलाई लिएर ठुलो प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जादैछन्।
उनी फर्किए लगत्तै विधान महाधिवेशन सुरु हुने तालिका तय भएको छ। ओलीको चीन भ्रमणका कारण एमाले केन्द्रीय कमिटी बैठक समेत स्थगित भएको छ।
एमालेको अघिल्लो महाधिवेशनमा तत्कालीन उपाध्यक्ष भीम रावलले ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए तर ठुलो मतान्तरले पराजित भए। त्यसयता उनी पार्टीभित्र उपेक्षित हुँदै गए र अन्ततः पार्टी सदस्यता समेत खारेज हुने गरी कारबाहीमा परे।
रावलको राजनीतिक यात्रालाई अहिले ‘न उता न उता’ को अवस्थामा फसेको भनेर चर्चा हुने गरेको छ। यही पृष्ठभूमिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशनतर्फ सक्रिय हुन थालेपछि ओलीले उनलाई अर्को भीम रावलको रूपमा चित्रण गरेको टिप्पणी सार्वजनिक भएको छ।
भण्डारी एमालेभित्र महिलामैत्री छवि, मदन भण्डारीकी पत्नी तथा दुई पटकसम्म नेपालको राष्ट्रपति भइसकेकी नेतृका रूपमा स्थापित छिन्। उनी अझै पनि पार्टीभित्र प्रभावशाली नेतृ मानिन्छिन्।
तर ओलीले उनको सक्रियतालाई आफ्नो नेतृत्वविरुद्धको चुनौतीका रूपमा देखेका छन्। उनले विद्यादेवीलाई ‘लालगेडी’को संज्ञा दिँदै नेतृत्व क्षमता बिना चुनाव जित्न नसक्ने अवस्था आउने दाबी गरेका छन्। ओलीको भनाइमा, “लालगेडी भएर आँखामा नबिझाउने मात्रै हुँदैन, चुनाव जित्न सक्ने क्षमता चाहिन्छ।”
ओली आफैँले यसअघि “राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु हुँदैन” भन्ने धारणा सार्वजनिक गरेका थिए तर विगतमा उनले उल्टै “राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्कन कुनै कानुनी बाधा छैन” भन्ने अभिव्यक्ति पनि दिएका थिए। ओलीको यही दोहोरो भनाइ अहिले फेरि चर्चामा आएको छ।
ओलीले अहिले पार्टीभित्र सर्वसम्मत अध्यक्ष बन्ने महत्त्वाकाङ्क्षा बोकेका छन्। एमाले इतिहासमा पहिलोपटक सर्वसम्मत अध्यक्ष बनेर आफ्नो फोटो महाधिवेशनमा झुन्ड्याउने आकाङ्क्षा उनले राखेका छन्।
यही चाहना पुरा गर्ने क्रममा विद्यादेवीलाई उनले प्रमुख तगारोका रूपमा देखेका छन्। ओलीले विद्यादेवी अध्यक्ष उठेमा जित्ने सम्भावना शून्य रहेको भन्दै हारेर अन्ततः भीम रावलकै हालतमा पुग्ने ठहर गरिरहेका छन्।
तर प्रधानमन्त्री ओलीको सचिवालयले सार्वजनिक भएका यी भनाइप्रति औपचारिक खण्डन गरेको छ। काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफललाई आधार मानेर गलत व्याख्या गरिएको दाबी गर्दै सचिवालयले स्पष्ट पारेको छ कि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान र माया अरू नेताले नगरेको, तर उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभयो भन्ने आश्चर्य व्यक्त गरेका छन्।
सचिवालयका अनुसार ओलीले भनेका थिए कि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् सदस्यता नलिई मिडिया र अन्य दलका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुहुन्छ, तर यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने भएकाले त्यस्तो गतिविधिमा लाग्न हुँदैन भन्ने बुझाइ पार्टीभित्र छ।
ओलीले भेटमा विद्यादेवीलाई पार्टीमा आएर अध्यक्ष उठ्दा जित्न सक्ने अवस्था नरहेको प्रस्ट पारेका थिए। नेतृत्व लिन केवल ‘लालगेडी’ जस्तो देखिनु पर्याप्त नभई परिस्थिति अनुसार डटेर सामना गर्न सक्ने क्षमता आवश्यक हुन्छ, तर त्यो क्षमता उहाँमा नदेखिएको उनले बताएका थिए।
ओलीले भण्डारी अध्यक्ष उठेर हार्नुभयो भने हारपछि पार्टी विरोधमा लाग्ने सम्भावना रहन्छ र त्यसरी पार्टीविरुद्ध उत्रनुभयो भने अन्ततः भीम रावलकै जस्तै स्पष्टीकरण र कारबाहीसम्म जानुपर्ने स्थिति आउँछ भन्ने टिप्पणी गरेका थिए। सचिवालयको भनाइमा, ओलीले त्यस्तो अपमानजनक अवस्थाबाट बच्न अहिलेको सम्मानजनक हैसियतमै बस्नुपर्ने सल्लाह दिएका हुन्।
तर पछिल्ला दिनमा विद्यादेवीले ‘च्यासलले सदस्यता खोस्यो’ र ‘पार्टी नेतृत्वले देश चलाउन सकेन’ जस्ता अभिव्यक्ति दिएको समाचारमा सत्यता नभएको सचिवालयको दाबी छ। त्यस्ता टिप्पणीले पार्टी र आन्दोलनको सम्मानमा आँच पुग्ने भएकाले उहाँसँग निकट रहेका साथीहरूले पनि त्यसो नगर्न सम्झाउनुपर्ने सचिवालयले स्पष्ट पारेको छ।
सचिवालयले सार्वजनिक भएको भनाइलाई अनावश्यक व्याख्या गरिएको भन्दै भेटघाटका प्रसङ्गबारे सत्य तथ्य बुझेर मात्रै सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.