निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेताहरूलाई शक्ति, शान र मानकै भोक

नेताहरूलाई शक्ति, शान र मानकै भोक

1.1k
SHARES

काठमाडौं – देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र राज्यको सर्वोच्च पद सम्हालिसकेकाहरूबीच शक्ति र मान–प्रतिष्ठाप्रतिको लालसा बाक्लै देखिन थालेको छ। राष्ट्रपति वा प्रधानमन्त्री भइसकेका नेताहरू समेत पुनः पार्टी राजनीतिमा सक्रिय भएर पद पाउने र मान पाउने चाहनामा जोखिम मोलेर मैदानमा उत्रिएका छन्।

दुई कार्यकालसम्म राष्ट्रपति रहेकी विद्यादेवी भण्डारी अहिले राजनीतिक जीवनमा पुनः फर्किन खोजिरहेकी छन्। पार्टी राजनीतिमा फर्कने आकाङ्क्षाले उनी निरन्तर देश दौडाहामा व्यस्त देखिन्छिन्।

शनिवार वीरगन्जमा आयोजित कार्यक्रममा भण्डारीलाई स्थानीय नेता–कार्यकर्ताले ५१ किलोको माला लगाएर सम्मान गरे। यसलाई उनको सक्रिय राजनीतिक यात्राको बलियो सङ्केतका रूपमा लिइएको छ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनको राजनीतिक क्रियाशीलताप्रति असन्तोष प्रकट गरे पनि भण्डारीले अभियानलाई रोक्ने सङ्केत दिएकी छैनन्। बरु, उनले एमालेको नेतृत्वमा पुग्ने महत्त्वाकाङ्क्षा बोकेकी छिन् र त्यसको तयारीस्वरूप सम्पर्क कार्यालय समेत खोलेकी छन्।

उनले एमालेको अध्यक्ष बन्ने आकाङ्क्षा राख्दै पार्टी सदस्यता नवीकरण गरेको बताउँदै आएकी छन्। यसअघि कोशी प्रदेशको यात्रामा गएकी भण्डारीले कार्यकर्ताबाट ठुलो समर्थन पाएकी थिइन।

एक दशकसम्म सशस्त्र जनयुद्धको कमान्डरको भूमिकामा शान र प्रभाव जमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले त्यो स्तर गुमाउँदै गएको अनुभव गर्दै आएका छन्।

उनले सार्वजनिक कार्यक्रममा खुलेरै युद्धकालमा पाएको शान घटेको महसुस गरेको बताएका छन्। शान्ति प्रक्रियामा आएपछि तीन पटक प्रधानमन्त्री बने पनि प्रचण्डको भनाइमा युद्धकालीन कमान्डरका रूपमा आफूले पाएको मान–सम्मान अहिलेको हैसियतभन्दा धेरै माथि थियो।

सार्वजनिक कार्यक्रममा समेत उनले “म युद्धको समयमा जस्तो सम्मान र शान पाउँथेँ, अहिले त्यो स्थिति छैन” भनेर स्वीकार गरेका छन्।

शान्ति प्रक्रियामा सहभागी भएपछि तीन पटक प्रधानमन्त्री बनेका प्रचण्डले राज्य सत्तामा भन्दा युद्धकालीन कमान्डरका रूपमा नै आफूले ठुलो शान महसुस गरेको बताए।

शान घटेको महसुस गरेका प्रचण्ड समय समयमा आन्दोलनकै आँधीबेहरी ल्याउने चेतावनी दिन्छन्। उनका अनुसार, आन्दोलनकै मैदानमा फर्किएर मात्रै आफूले गुमाएको सम्मान र शान पुनः प्राप्त गर्न सकिन्छ।

शक्तिको राजनीति र सम्मान नपाएको गुनासो गर्ने नेतामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि पर्छन्। तत्कालीन एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीबाट निरन्तर अपमानित भएको आरोप उनी विभिन्न कार्यक्रममा दोहोर्‍याइरहेका छन्।

समाजवादी प्रेस सङ्गठनको भेलामा उनले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन नगरेको भए आफ्नो अवस्था दयनीय हुने स्पष्ट पारे। उनले खुलेरै भने, “मैले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी नखोलेको भए मेरो अवस्था कस्तो हुने थियो भनेर अहिले पनि सोच्दा डर लाग्छ।”

राजनीतिक शक्ति र सम्मानका खेलमा अब नयाँ अनुहार पनि प्रवेश गर्ने तयारीमा छन्। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अहिले राजनीतिक जीवन सुरु गर्ने तयारीमा देखिएका छन्।

प्राधिकरणमा कार्यरत रहँदा ‘उज्यालो नेपाल अभियान’का नाममा लाखौँ जनताको मन जितेका घिसिङलाई सरकारले पदबाट हटाएपछि जनसम्पर्क अभियानलाई देश–विदेशसम्म विस्तार गरेका छन्।

एक महिनादेखिको लामो विदेश भ्रमण सकेर शनिवार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै, “देशका लागि केही गर्न खोज्ने व्यक्तिलाई लखेट्ने प्रवृत्ति बढेको छ। यस्तो प्रवृत्ति अन्त्य नगरेसम्म मुलुक अगाडि बढ्न सक्दैन,” भन्दै दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसकेको टिप्पणी गरे।

अहिले देशको राजनीतिक मञ्चमा पुराना नेताहरू आफ्ना गुमेको शान–मान फिर्ता ल्याउन सङ्घर्षरत छन् भने नयाँ अनुहारहरू राजनीतिक यात्रामा प्रवेश गर्ने तयारीमा जुटिरहेका छन्। शक्ति, मान र पदको खेल फेरि एकपटक नेपालको राजनीतिक मूलधारमा तातेको छ।

समाचार शेयर गर्नुहोस्
1.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.