काठमाडौं — रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ। प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको यो उपनिर्वाचनका लागि असोज २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ।
निर्वाचन आयोगका अनुसार, उम्मेदवारको मनोनयन पत्र दर्ता भइसकेपछि असोज २१ गतेकै दिन प्रारम्भिक नामावली सार्वजनिक हुनेछ। त्यसपछि असोज २२ गतेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ।
असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उनीहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ। मतदान भने कार्तिक १७ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने आयोगले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएपछि रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भइसकेका छन्। दलबाहेक स्वतन्त्र उम्मेदवारले पनि मनोनयनको तयारी गरेका छन्।
स्वतन्त्र उम्मेदवार किरण विकले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार सुरु गरिसकेका छन्। सामाजिक न्याय, समावेशिता र स्थानीय समस्यामुखी एजेन्डा लिएर उनले मतदातालाई आकर्षित गर्दै आएका छन्। ‘
मुठी खोलौँ, नकसौँ, चुनावमा सपोर्ट सहयोग गरौँ’ भन्ने अभियानमार्फत उनले जनतामाझ आफ्नो दृष्टिकोण प्रस्तुत गरिरहेका छन्। गाउँ, बजार, खेतबारीदेखि सडक र पानीका मुहानसम्म पुगेर उनी किसान, उद्यमी, स्थानीय युवा र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
उनले आफ्नो अभियानमा शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, स्थानीय पूर्वाधार विकास र सामाजिक न्यायलाई प्रमुख एजेन्डा बनाएका छन्। विशेषगरी युवा रोजगारी, किसानका लागि बजारको सहज पहुँच, गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने योजना उनले प्रस्तुत गरेका छन्।
स्वतन्त्र उम्मेदवार विकलाई सहरी विकास योजनाकार तथा नीति–निर्माता प्राध्यापक डा. तेज कार्की, एसियाकै पहिलो समलिङ्गी सांसद, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता सुनिल बाबु पन्त लगायतले सार्वजनिक समर्थन गरेका छन्। विकको मुख्य एजेन्डा भैरहवालाई व्यवस्थित सहरीकरण गर्ने रहेको छ, जसलाई डा. कार्कीले समर्थन गरेका छन्।
पन्तले भने विकका सामाजिक न्याय, समावेशिता र स्थानीय समस्यामुखी एजेन्डाले आफूलाई गहिरो रूपमा प्रभावित पारेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सामाजिक न्याय र यौनिक अल्पसङ्ख्यकका विषयमा उनी प्रायः म र मेरो संस्थामा सल्लाहका लागि आइरहन्थे। युवा शक्ति, रचनात्मक सोच र ऊर्जाशील व्यक्तित्वका धनी बिक भविष्यमा सक्षम, संवेदनशील र जनपक्षधर जनप्रतिनिधि बन्न सक्छन् भन्नेमा विश्वास छ। रुपन्देही–३ मात्र नभई समग्र नेपालको गौरव बन्ने क्षमता उनीसँग छ।”
उनले थप लेखेका छन्, “यसकारण म सबै मतदातालाई किरण विकलाई विजयी बनाउन हार्दिक अपिल गर्दछु। आउनुहोस्, हामी सबै मिलेर सामाजिक न्याय, समावेशिता र विकासलाई केन्द्रमा राख्ने युवा नेतृत्वलाई समर्थन गरौँ।”
दलका झन्डा बोकेका उम्मेदवारबीच पनि प्रतिस्पर्धा बढेको छ। स्वतन्त्र नाम बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। तर उनको नाम सार्वजनिक भएपछि विवाद चुलिएको छ।
बहुविवाहको मुद्दा झेलिरहेका थापालाई उम्मेदवार बनाएको भन्दै रास्वपाका आफ्नै समर्थकहरूले आलोचना गरेका छन्। नाम घोषणा भएको केही समयमै पार्टीभित्र असन्तुष्टि बढेपछि थापाले पत्रकार सम्मेलन नै स्थगित गर्नुपर्यो।
सोमबार बिहान १० बजेका लागि पत्रकार सम्मेलन बोलाइए पनि दुई घण्टापछि प्रवक्ता मनिष झाले विशेष कारण देखाउँदै स्थगित भएको जानकारी दिए।
यस विषयमा रास्वपाका अधिकांश नेता र सांसद मौन छन्। सांसद शिव नेपालीले भने उम्मेदवार चयन प्रक्रियामार्फत भएको भन्दै कुनै विवाद नरहेको दाबी गरेका छन्। उनका अनुसार उपयुक्त समयमा थापाले पत्रकार सम्मेलन गरेर आफ्ना विचार सार्वजनिक गर्नेछन्।
रास्वपा बाहेक अन्य दलहरूले भने अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेका छैनन्। एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले केही दिनभित्रै सचिवालय बैठक बसेर उम्मेदवार टुङ्गो लगाइने जानकारी दिएका छन्।
राप्रपाका नेता ध्रुव बहादुर प्रधानले पनि उम्मेदवार छनोट प्रक्रियामा ढिलाइ भए पनि छिट्टै नाम सार्वजनिक हुने बताएका छन्।
यसअघि एमालेले खिमलाल भट्टराई, हरि अधिकारी, यज्ञजित शाह र शशीधर पौडेलसहित चार जनाको नाम केन्द्रमा पठाइसकेको छ। नेपाली कांग्रेसले उम्मेदवारको नाम टुङ्गो लगाएको छैन भने माओवादी केन्द्र अझै छलफलमै छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.