निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चीन भ्रमण सकेर स्वदेश फर्कँदै प्रधानमन्त्री ओली

चीन भ्रमण सकेर स्वदेश फर्कँदै प्रधानमन्त्री ओली

935
SHARES

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरेर बुधवार स्वदेश फर्कँदैछन्। प्रधानमन्त्री ओली शनिवार शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका थिए।

ओली बुधवार बेलुकी ८ः३५ बजे नेपाल फर्कने तालिका रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले एससिओ सम्मेलनमा सम्बोधनसमेत गरेका थिए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार चीन भ्रमण पूरा गरी फर्किए लगत्तै प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई भ्रमणबारे संक्षिप्त जानकारी दिनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलवार रेल चढेर बेइजिङ पुगेका छन्। बेइजिङ पुगेर प्रधानमन्त्री ओलीले चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा दुई देशबीच कूटनीतिक सम्बन्ध विस्तार, आपसी हित हुने आयोजना अघि बढाउने र आपसी विश्वास तथा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। भेटमा नेपाली पक्षले नेपाल ‘एक चीन नीति’प्रति अडिग रहेको दोहोर्‍याउँदै चीनविरुद्ध आफ्ना भूभाग प्रयोग हुन नदिने स्पष्ट प्रतिबद्धता जनाएको छ।

चिनियाँ उपराष्ट्रपति हान चङ्गले नेपाली प्रतिनिधिमण्डलको स्वागतमा विशेष रात्रिभोज आयोजना गरेका थिए। थियानजिन शहरमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलन सकिए लगत्तै प्रधानमन्त्री ओली बेइजिङ पुगेका हुन्।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे मिश्रित प्रतिक्रिया व्यक्त भएका छन्। भारत र चीनबीच नेपाली भूमि प्रयोग गरी व्यापार गर्ने सम्झौतामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग असहमति जनाएपछि नेपालमा सामाजिक सञ्जालमा ओलीको फोटो नै ‘ट्रेन्डिङ’ बनेको थियो।

तर, चीनको सुरक्षा रणनीतिमा नेपालले समर्थन जनाएजस्तो देखिने चीनको एकतर्फी विज्ञप्तिप्रति भने आलोचना भएको छ। यसबारे तत्कालै नेपाल सरकारले स्पष्टीकरणसमेत दिनुपरेको थियो।

यस्तै, सोमबार राति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले रुसी सेनामा अवैध रूपमा पुगेका नेपाली युवाहरूको विषयमा कुरा उठाउन नसकेको भन्दै मङ्गलवार थप आलोचना भएको छ।

रुसमा सम्पर्कविहीन भएका, ज्यान गुमाएका सयौँ नेपालीहरूको सुरक्षाबारे, क्षतिपूर्तिबारे वा तिनको अवस्थाबारे प्रधानमन्त्रीले कुनै पनि औपचारिक पहल नगरेको भन्दै प्रश्न उठाइएको हो। ‘राष्ट्रवादको बर्कोमा रुसी सेनामा भर्ती भएका नेपाली नागरिक नपर्ने हो?’ भन्ने सवाल ओलीप्रति तेर्स्याइएको छ।

प्रधानमन्त्रीको चीन भ्रमण : एससिओमा प्रस्ताव, जीएसआईमा विवाद

समाचार शेयर गर्नुहोस्
935
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.