काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको ५ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। भदौ १४ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली बुधवार बेलुकी स्वदेश फर्किएका हुन्।
उनले चीनको थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भई नेपाललाई पूर्ण सदस्यका रूपमा स्वीकार गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरे। दुवै नेताबीच शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बेल्ट एन्ड रोड अन्तर्गत सहमतिमा रहेका परियोजनाहरू शीघ्र कार्यान्वयन गर्न आग्रह गर्दै रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानवसंसाधन विकास, जलवायु परिवर्तन र जनस्तरको सम्बन्ध सुदृढीकरणमा सहयोगको आवश्यकता औँल्याएका थिए।
प्रधानमन्त्री ओलीले भारत–चीनबीच हालै भएको लिपुलेकमार्फत व्यापार गर्ने समझदारीप्रति आपत्ति जनाउँदै त्यसलाई कार्यान्वयन नगर्न आग्रह गरे। चीनका राष्ट्रपति सी चिनफिङले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चीनको सहयोग निरन्तर रहने बताएका छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे। उनले बेइजिङमा आयोजित ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासिवादविरोधी युद्ध विजयको ८०औँ वार्षिकोत्सव’ समारोहमा पनि सहभागिता जनाए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई दायाँबायाँ राखेर चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वसामु सैन्य शक्ति प्रदर्शन गरे।
चीनले सैन्य परेडमा लेजर हतियार, परमाणु अस्त्र बोक्न सक्ने बलिस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू पहिलो पटक सार्वजनिक गरियो।
उक्त परेडमार्फत चीनले आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएको ताइवानमा आक्रमण गर्ने राष्ट्रपति सीको महत्त्वाकाङ्क्षा झल्किएको र त्यसले भविष्यको योजनाको सङ्केत गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ।
सीले विश्वका शक्तिशाली नेताहरूसँगै शक्ति प्रदर्शन गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए। ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको बलिदान सम्झिँदै अमेरिकी सैनिकलाई सम्मानपूर्वक स्मरण गर्न आह्वान गरे।
सो समारोहमा ओलीसहित २६ देशका राष्ट्र तथा सरकार प्रमुख र ५० हजार पाहुना उपस्थित थिए।
चीन भ्रमणबारे संसदमा छलफल
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे संसदमा छलफल भएको छ। प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री ओलीले नेपालको संलग्नता र सहमतिबिना भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिप्रति स्पष्ट आपत्ति जनाएको भन्दै धन्यवाद ज्ञापन गरे।
तर, भ्रमणको एजेन्डामा नभएको चीनको सैन्य रणनीति ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)’ अवधारणामा नेपाल सहमत भएको चीनको विदेश मन्त्रालयको विज्ञप्तिबारे उनले प्रधानमन्त्रीसँग जवाफ मागे।
सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग भएको प्रस्ट पार्दै बडूले भारतसँगको सीमा विवादबारे दुई छिमेकी मुलुकसँग कूटनीतिक बहस र छलफल गरी समाधान निकाल्नुपर्नेमा जोड दिए।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले नेपाल हालसम्म कुनै पनि शक्ति राष्ट्रको सैन्य रणनीतिमा संलग्न नरहेको र भविष्यमा पनि नरहनुपर्ने धारणा राखे।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पनि परराष्ट्र मामिला जस्ता संवेदनशील विषयमा सिङ्गो संसद् र देश एक ठाउँमा उभिनुपर्ने र एक भएर मात्रै अगाडि बढ्नुपर्ने बताए।
जीएसआईबारे संसद्मा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलले चासो राखेर प्रश्न उठाउँदा सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रधानमन्त्रीको बचाउ गरेका थिए।
प्रधानमन्त्री ओलीको अब भारत भ्रमणको तयारी भएको छ। उनी भदौ अन्तिमतिर भारत भ्रमणमा जाने तयारीमा छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.