निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल रेडक्रसको ६३औँ स्थापना दिवस, ११ लाखभन्दा बढी स्वयंसेवक सक्रिय

नेपाल रेडक्रसको ६३औँ स्थापना दिवस, ११ लाखभन्दा बढी स्वयंसेवक सक्रिय

957
SHARES

काठमाडौं — नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले २०२० साल भदौ १९ गते स्थापना भएको दिनलाई सम्झना गर्दै यस वर्ष ६३औँ स्थापना दिवस मनाइँदैछ।

सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध संस्थाका रूपमा कार्यरत छ।

यस वर्ष स्थापना दिवस “मानवताको पक्षमा” भन्ने नाराका साथ मनाइँदैछ। करिब ११ लाखभन्दा बढी स्वयंसेवकले मानवीय सेवामा योगदान दिइरहेको सोसाइटीसँग हाल सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयोग समिति र ६,५८७ जुनियर तथा युवा सर्कलहरूको साङ्गठनिक संरचना रहेको नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिए।

विडारीले निकालेको विज्ञप्ति अनुसार “म सेवा गर्छु” भन्ने मूलमन्त्रसहित नेरेसोले नेपाल सरकारको सहयोगी संस्थाका रूपमा सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य प्रवर्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवा लगायतका गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

गत वर्ष मात्रै बाढी, पहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४,९०६ परिवारलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। साथै ५,०३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि १२ करोड २४ लाखभन्दा बढीको नगद सहयोग उपलब्ध गराइएको छ।

आपत्कालीन अवस्थाका लागि नेरेसोले एक केन्द्रीय, ६ प्रदेशस्तरीय, ५ उपक्षेत्रीय गोदामसहित सबै जिल्लामा उद्धार तथा राहत सामग्री भण्डारणको व्यवस्था मिलाएको छ।

यसै वर्ष मधेसमा खडेरी र पर्सामा देखिएको हैजा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय महासङ्घको आपत्कालीन विपद् कोष र अन्य स्रोतमार्फत सहयोग परिचालन गरी स्वच्छ खानेपानी वितरण, साबुनसहित हात धुने अभ्यास, आपत्कालीन शौचालय निर्माण, सरसफाइ अभियान र सयौँ स्वयंसेवक परिचालन जस्ता गतिविधि सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

मानवीय मूल्य, रेडक्रस सिद्धान्त, सुरक्षित पहुँच, शान्ति प्रवर्धन र अन्तर्राष्ट्रिय मानवीय कानुनसम्बन्धी कार्यक्रम सबै प्रदेशमा सञ्चालन भइरहेका छन्। नेरेसोको हटलाइन ११३० मा १,९३७ वटा कल सम्बोधन भएको छ भने १०४ वटा रेडियो कार्यक्रम उत्पादन र प्रसारण गरिएको छ।

सोसाइटीका अनुसार सामुदायिक विकास अन्तर्गत ओखलढुङ्गा, सङ्खुवासभा र सिन्धुलीमा आठ वटा खानेपानी आयोजना सम्पन्न भएका छन्। त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिकाका ९०१ घरधुरीलाई जीविकोपार्जन तालिम तथा नगद सहायता उपलब्ध गराइएको छ, जसबाट दुई हजारभन्दा बढी लाभान्वित भएका छन्।

हाल ७३ जिल्लाका १२० स्थानमा रक्तसञ्चार सेवा सञ्चालनमा छन्। गत वर्ष २,९४,८४८ युनिट रगत सङ्कलन भई ४,०२,५१० युनिट बिरामीलाई वितरण गरिएको छ।

थाई रेडक्रसको सहयोगमा प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवाको नयाँ आधुनिक भवन निर्माण भई प्रभावकारी रूपमा सेवा दिइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

त्यस्तै, ६५ शाखा, उपशाखा र सर्कलमार्फत १९६ स्थानबाट २४२ वटा एम्बुलेन्स सञ्चालनमा छन्, जसले विगत एक वर्षमा करिब ८६ हजार ४ सय बिरामी तथा घाइतेलाई सेवा पुर्‍याएको छ।

प्राथमिक उपचार कार्यक्रममार्फत ३,०१२ जना प्रत्यक्ष लाभान्वित भएका छन्। साथै, जानकी आँखा अस्पताल, सुर्खेत आँखा अस्पताल र विभिन्न सामुदायिक आँखा उपचार केन्द्रमार्फत २ लाख ९५ हजार ५२० जनाले सेवा पाएका छन्।

सोसाइटीले सेवामूलक तथा विकासमुखी मानवीय गतिविधिहरूमा योगदान पुर्‍याउने स्वयंसेवक, कर्मचारी, सरकार, अन्तर्राष्ट्रिय साझेदार संस्था, दाता निकाय र सञ्चारकर्मीप्रति विशेष आभार व्यक्त गरेको छ। नेरेसोले आगामी दिनमा पनि आफ्नो सेवामूलक कार्यमा निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

समाचार शेयर गर्नुहोस्
957
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.