निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रहरी महानिरीक्षक बने खापुङ, सम्हाले कमान्ड

प्रहरी महानिरीक्षक बने खापुङ, सम्हाले कमान्ड

1.2k
SHARES

काठमाडौं – नेपाल प्रहरीको कमान्ड चन्द्र कुबेर खापुङले सम्हालेका छन्। ३२ औ महानिरीक्षक (आइजिपी)मा नियुक्त भएका खापुङले बिहीबारदेखि कमान्ड सम्हालेका हुन्। 

गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई प्रहरी महानिरीक्षक आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो। २०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा भर्ना भएका खापुङ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुखका रूपमा थिए। उनी २०८२ वैशाख १६ गते एआईजी नियुक्त भएका थिए। 

खापुङ हालसम्मका विवादरहित उच्च प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। उनीसँग प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन, उपत्यका अपराध अनुसन्धान कार्यालय तथा प्रदेश प्रहरीको कमान्ड सम्हालेको अनुभव छ। 

उनले करिब साढे दुई महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन्। नवनियुक्त आइजिपी खापुङ बिहीबार बिहान गृह मन्त्रालयमा दर्ज्यानी चिन्हबाट सुशोभित भए। 

गृह मन्त्रालयद्वारा आयोजित एक समारोहकाबीच गृह सचिव गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन्।
 
सुशोभन समारोहमा गृह सचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, ज्येष्ठता लगायतका आधारमा प्रहरीको सर्वोच्च पदमा नियुक्त गरी महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए।

मुलुकमा शान्ति, सुव्यवस्था, सुशासन कायम गर्न अपराध नियन्त्रण गर्न र सामाजिक न्याय कायम गर्न प्रहरीको अहम् भूमिका रहेको सचिव दुवाडीले बताए। 

“आम नागरिकले सुरक्षित छु भन्ने महसुस गराउनु नै हामी सबैको कर्तव्य हो। आम नागरिकको नजिक रहेर उनीहरूको सुखदुखको साथी बन्न सक्नु प्रहरीको प्रभावकारिताको मापन पनि हो। नेपाल प्रहरीको साख अझ बढी राम्रो बनाउन सफल हुनुहोस्,”उनले भने,“ सकल दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च बनाई प्रहरी सङ्गठनको उद्देश्य पुरा गर्न सफल हुनेमा आशावादी छौँ।”

उनले समाजमा अपराधका गतिविधि चुनौती बन्दै गएको बताए। “अपराधका नयाँ नयाँ श्रृखलाहरु बढिरहेका छन्। सबै अपराधका गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्न जरुरी छ,”उनले भने। 

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले आफूले सकेको राम्रो गर्ने बताए। “सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन,”उनले भने,“सकल दर्जाको हित र संस्थागत सुधार प्राथमिकतामा रहेको छ।”

अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए। 

तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए। 

समारोहमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालय र प्रहरीका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो।

३० वर्षे सेवा अवधि पूरा गरेका ३१ औँ प्रहरी महानिरीक्षक दिपक थापा बुधवारबाट अनिवार्य अवकाश गएका थिए। पदावधि थपका लागि थापाले गरेको प्रयास अन्ततः सफल भएन र अवकाशमा जानु पर्‍यो। 

आइजिपी नियुक्त भएसँगै थापाले एक महिना पहिल्यै बिदा हुने बताए पनि आफ्नो अवधि लम्ब्याउन नियमावली संशोधनकै चलखेल गरेको आरोप लाग्यो। यही बीचमा थापाकै निर्देशनमा हातहतियार र बन्दोबस्तीका सामान खरिदमा सेटिङमा ठेक्का लगाइएको भन्दै आलोचना भयो। 

थापा आइजिपी बनेकै दिन काठमाडौँबाट २५ करोड नगद बरामद भएपछि प्रशंसा पाएका थिए। तर, गत चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनमा म्याद गुज्रेका अश्रुग्याँस हान्नेदेखि अनावश्यक बल प्रयोग गर्नेसम्मका कदमहरू विवादित बने। 

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका समयमा पूर्वगृहमन्त्री रवि लामिछानेको सरुवादेखि ठगीका मुख्य आरोपी जीवी राईलाई पक्राउ गर्नेसम्मका काममा थापाको नेतृत्व पनि असफल साबित भयो। 

३१ औँ महानिरीक्षक थापाले पाँच महिना १३ दिन प्रहरीको नेतृत्व गरे। गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त भएका थापालाई बुधवार नै गृह मन्त्रालयमा शुभकामना दिँदै बिदाइ गरेका थिए।  

समाचार शेयर गर्नुहोस्
1.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.