काठमाडौं — नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ।
उच्च अदालत पाटनका अनुसार लामिछानेको पुनरावेदन निवेदनमाथि सुनुवाइ जारी छ। लामिछानेमाथि सङ्गठित रूपमा सहकारीको रकम ठगी गरेको आरोप लागेको छ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा लामिछानेसहित अभियुक्त छविलाल जोशी र माया राईको निवेदन–प्रतिवेदनमाथि सुनुवाइ भइरहेको हो।

लामिछानेले काठमाडौं जिल्ला अदालतले गरेको धरौटी आदेशविरुद्ध पुनरावेदन दर्ता गरेका हुन्। गत माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन प्रकरणमा ६० लाख रुपैयाँ धरौटीसहित छाड्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका हुन्।
भण्डारीमाथि आक्रमण राजनीतिक कारण : रास्वपा
रास्वपाका केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि बुधवार राति आक्रमण भएको पार्टीले जनाएको छ।
रास्वपाले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौँको कपनस्थित प्रगति चोकमा राति ८ः४५ बजे कार्यालयबाट घर फर्किने क्रममा नम्बर प्लेट छोपेका मोटरसाइकलमा आएका तीन जनाको समूहले भण्डारीमाथि फलामको रड प्रहार गर्नुका साथै उनको गाडीसमेत तोडफोड गरेका थिए। आक्रमणमा परी भण्डारीको टाउकोमा गहिरो चोट लागेर दश टाँका लगाउनु परेको छ भने शरीरभर नीलडाम छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीको पन्जाबाट फुत्केर भाग्न सफल भएकाले भण्डारीले ज्यान जोगाएका थिए। घटनाको स्वरूपले ज्यान लिने उद्देश्यले आक्रमण गरिएको स्पष्ट हुने विज्ञप्तिमा उल्लेख छ।
घाइते भण्डारीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “केही समयअघि नारी टिभीमा दिएको अन्तर्वार्तालाई कारण देखाएर निरन्तर धम्की आइरहेको थियो। केही दिनअघि एक समूहले कार्यालय रहेको भवनमै आएर सोधपुछ गरेको थियो। त्यसैले यो आक्रमण राजनीतिक कारणले भएको हो।”

पार्टीले घटनाबारे प्रहरीलाई जानकारी दिइसकेको जनाएको छ। साथै, तत्काल विश्वसनीय छानबिन गरी दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ। यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्था सुदृढ गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
रास्वपाले भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई शान्तिपूर्ण सहअस्तित्व र राजनीतिक सहिष्णुतामा प्रतिबद्ध रहन आह्वान गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.