काठमाडौं — अब काठमाडौं उपत्यकामा छिमेकीलाई ‘डिस्टर्ब’ हुने गरी ठुलो स्वरमा बोल्ने, अबेर राति अनावश्यक हल्ला गर्ने, वा बिहानै मोटरसाइकल र प्रेसर कुकरको आवाज निकाल्ने जस्ता गतिविधिमा कारबाही हुने भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बिहीबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गरेको हो।
प्रहरी कार्यालयका प्रमुख डिआइजी ओमबहादुर रानाले अभियान सार्वजनिक गर्दै ध्वनि प्रदूषणले गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका, विद्यार्थी, बिरामी तथा मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले नागरिकलाई सचेत बनाउने उद्देश्यले यो अभियान अघि सारिएको बताए।
अभियान अन्तर्गत बिहान सबेरै वा राति अबेर प्रेसर कुकरको सिट्ठी बजाउने, ठुलो आवाज निकालेर मोटरसाइकल स्टार्ट गर्ने, बिहानको नित्यकर्मका बेला अनावश्यक खोक्ने–खकार्ने, वा छिमेकीलाई असुविधा हुने गरी हल्ला गरे कारबाही हुनेछ।
फोनमा ठुलो स्वरमा बोल्ने, अबेरसम्म ठुलो आवाजमा गफगाफ गर्ने, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने, भान्सामा भाँडाकुँडा ठुलो आवाजमा बजाउने, राति गेट ढकढकाउने वा घण्टी बजाउने, अनावश्यक पार्टी वा जमघट गर्ने, सडकमा हल्ला गर्ने, राति शौचालय फ्लश गर्दा ध्वनि नियन्त्रण नगर्ने, कुकरमा सिट्ठी लगाउने, वा भित्र सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण नगर्ने जस्ता गतिविधि पनि कारबाहीको दायरामा पर्नेछन्।
त्यस्तै धार्मिक वा सांस्कृतिक कार्यक्रममा ध्वनि नियन्त्रण नगरे, सडकमा जथाभाबी फोहर फ्याँके, चुरोट वा फोहर जलाएर छिमेकमा धुवाँ फैलाए, पालिएका जनावर (कुकुर, कुखुरा आदि) बाट अशान्ति उत्पन्न गरे, वा मोडिफाई हर्न तथा ठुलो आवाज निकाल्ने गरी सवारी साधन चलाएमा समेत कारबाही हुने प्रहरीले चेतावनी दिएको छ। उनले यसलाई कारबाहीभन्दा बढी जनचेतनामुखी पहलका रूपमा अघि बढाइएको प्रस्ट पारे।
प्रहरीले जनाएअनुसार यस्ता गतिविधि गरी छिमेकीलाई डिस्टर्ब गरेमा सम्बन्धित व्यक्ति वा संस्थालाई अधिकतम ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ। डिआइजी रानाले जरिवाना रकम न्यूनतम ३ रुपैयाँदेखि अधिकतम ३ लाखसम्म हुन सक्ने भन्दै ध्वनि प्रदूषण नियन्त्रणलाई कानुनी तथा सामाजिक दुवै हिसाबले कडाइका साथ अघि बढाइने बताए।
प्रहरीले छिमेकमा यस्ता गतिविधि देखेमा तुरुन्तै १०० (प्रहरी कन्ट्रोल) वा १०३ (ट्राफिक कन्ट्रोल) मा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, नागरिकलाई “शान्त समाज, सभ्य समाजको पहिचान” नारासहित ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त छिमेकी अभियानमा सक्रिय सहभागी हुन आह्वान गरेको छ।
अभियानले घर, परिवार र छिमेकीको स्वास्थ्य तथा सामाजिक सम्बन्धलाई सुरक्षित गर्न ‘राति अनावश्यक आवाज नगर्ने, ‘बिहानको शान्ति कायम गर्ने’, ‘सामाजिक–धार्मिक कार्यक्रममा ध्वनि नियन्त्रण गर्ने’, ‘फोहर व्यवस्थापन गर्ने’ जस्ता व्यवहारलाई प्राथमिकता दिन आग्रह गरेको छ।
काठमाडौं उपत्यका प्रहरीको भनाइमा, ध्वनि प्रदूषणले केवल स्वास्थ्यमा मात्र नभई सामाजिक सम्बन्ध, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत प्रतिकूल असर गर्ने भएकाले यो अभियानलाई सबै नागरिकको सहकार्यबिना सफल बनाउन सकिँदैन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.