काठमाडौं — इन्द्रजात्राको अवलोकनका लागि भिभिआइपीहरूको लर्को लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरू वसन्तपुर पुगेका छन्।
वसन्तपुर पुग्दा राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफैँले स्वागत गरे। तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका बेला मेयर शाह अनुपस्थित रहे।
प्रधानमन्त्री ओलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गरे। गत वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर शाह यसपटक भने वसन्तपुर पुगे।
सांस्कृतिक तथा ऐतिहासिक पर्व इन्द्रजात्राको अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हिँड्दै हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगे र जात्रा अवलोकन गरे। उनले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएर यात्रा गराउने अनुमति पनि दिए। त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो। जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि समेत सहभागी थिए।
वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रको विधिपूर्वक पूजा पनि सम्पन्न गरिएको थियो। जात्राको अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान प्रस्तुत गरिन्छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका क्षेत्रमा विशेष महत्वका साथ मनाइन्छ। उपत्यकावासीले विशेष महत्त्व दिने भएकाले काठमाडौं महानगरपालिकाले वसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.