निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एमाले महाधिवेशनमा ओलीको डन्डा : फरक मत रोकिँदा रोष्टममै १५ मिनेट मौन

एमाले महाधिवेशनमा ओलीको डन्डा : फरक मत रोकिँदा रोष्टममै १५ मिनेट मौन

1.4k
SHARES

ललितपुर – ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको बोली नै शासन स्थापित हुँदै गएको छ। ओलीको बोलीको प्रतिवाद गर्नेहरू आउट भएका छन्।

महाधिवेशनमा ओलीले विरोधमा बोल्न खोज्नेहरूको मुख थुनेका छन्, जसका कारण एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर बनेको टिप्पणी भइरहेको छ। महाधिवेशन प्रतिनिधिहरूमाथि ओलीले डन्डा चलाएको आरोप छ। ओलीका अगाडि प्रतिनिधिहरू बोल्नै डराएका छन्।

अध्यक्ष ओलीले सचिवालय बैठकको निर्णय अवज्ञा गर्दै स्थायी कमिटी सदस्य कर्ण थापालाई बोल्न रोकेपछि, थापा रोष्टममै १५ मिनेट मौन बसेका छन्। थापाले पेस गर्न चाहेको ३२ पृष्ठ लामो फरक मत अध्यक्ष ओलीले समूहमा जानुस् भन्दै रोकेपछि उनी रोष्टममा मौन भएर उभिन बाध्य भएका थिए।

त्यसक्रममा सभाहलबाट बोल्न दिनुपर्ने आवाज उठेपछि ओलीले “मलाई कम्भीन्स गर्न सक्नुभएन” भन्ने जवाफ दिएको एक नेताले बताए। तर एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने थापाको फरक मत नरोकेको, बरु समूहमा छलफल गर्न मात्र भनिएको दाबी गरेका छन्।

महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको छाया देखिएपछि अध्यक्ष ओलीलाई तनाव भएको विश्लेषण गरिएको छ। भण्डारीलाई ओलीले प्रवेशमै बन्देज लगाएका थिए। थापाले पनि भण्डारीको पक्षबाट फरक मत पेस गर्ने तयारी गरेका थिए।

उनले भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रावधानमा फरक मत राखेका थिए। स्थायी कमिटी सदस्य लालबाबु पण्डितले फरक मत प्रतिनिधिलाई बाँडिएको भन्दै थापालाई मुख्य माइक प्रयोग गर्न नदिएको बताएका छन्।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले यत्तिकै रोकेर नरोकिने बताएकोबारे पण्डितले ११ औं महाधिवेशन पनि आउँदै गरेको प्रतिक्रिया दिए।

महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएको छ। समूह छलफल सकेर प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।

आइतबार बिहान ८ बजेदेखि टोली नेताहरूले आफ्ना समूहका तर्फबाट निष्कर्ष सुनाउने तालिका छ। समूहगत सुझावहरूमाथि अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति नभए मतदानमार्फत टुङ्गो लगाइने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका छन्।

शनिवार समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने जिम्मेवारी पार्टीका सचिव योगेश भट्टराईलाई दिइएको छ। सो प्रस्ताव तयार गर्न भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।

महाधिवेशनमा देशभरका दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जना सहभागी भएका छन्। ’निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित विधान महाधिवेशन आयोजना गरिएको हो।

महाधिवेशन स्थलतर्फको यात्रामा दुर्घटना

कोशी प्रदेशका मन्त्री सवार गाडीले सडकको जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी एक बालिकालाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा रह्यो। ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनतर्फ जाँदै गरेको गाडीले हरिसिद्धी मावि अगाडि जेब्राक्रसिङमै बालिकालाई ठक्कर दिँदै हिँडेको थियो।

बालिका सामान्य घाइते भई उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ। सो गाडीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार थिए। ठक्कर दिएर बालिका ढल्दासमेत गाडी नरोकिएको सिसिटिभी फुटेज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको हो।

घटनापछि स्थानीयले गाडी नरोकेको भन्दै बाटो अवरुद्ध गरेका थिए। जसका कारण महाधिवेशनस्थल गइरहेका प्रधानमन्त्री ओलीसहितका एमाले नेताहरू केहीबेर बाटोमै रोकिनुपरेको थियो। लगत्तै प्रधानमन्त्री ओलीले महाधिवेशन भाँड्न खोजिएको आरोप लगाएका थिए।

बालिका ठक्कर लागेर ढल्दा समेत ओलीले “छोएको मात्र हो” भन्दै गम्भीर घटनालाई सामान्यीकरण गर्न खोजेको आरोप लागेको छ। उनले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका छन्।

समाचार शेयर गर्नुहोस्
1.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.