निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एमाले विधान महाधिवेशन: ओलीको तेस्रो कार्यकाल सुनिश्चित

एमाले विधान महाधिवेशन: ओलीको तेस्रो कार्यकाल सुनिश्चित

1.3k
SHARES

काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्ने बाटो बनाएका छन्। यसअघि, अघिल्लो महाधिवेशनमा भीम रावलको उम्मेदवारीका कारण ओलीको सर्वसम्मत अध्यक्ष बन्ने चाहना अधुरो रहन पुगेको थियो।

तर, यसपटक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नदिने निर्णयसहित विधान महाधिवेशनले ओलीलाई सर्वसम्मत अध्यक्ष बन्ने वैधानिक रूपमा बाटो खोलेको छ।

ललितपुरको गोदावरीमा सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्ष ओलीकै नेतृत्वमा पार्टी अघि बढाउने स्पष्ट सङ्केत दिएको छ। महाधिवेशनले पार्टी नेतृत्वमा ओलीको विकल्प नभएको निष्कर्ष निकालेको छ। यही निष्कर्षसँगै ओलीलाई तेस्रो पटक, त्यो पनि सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुलेको हो।

तीन दिनसम्म चलेको महाधिवेशनमा सातै भूगोल प्रदेशसहित दशवटा समूहका नेताहरूले भावी पार्टी नेतृत्वमा ओली नै एक मात्र विकल्प भएको उल्लेख गर्दै प्रतिवेदन पेस गरेका छन्।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, महाधिवेशनमा उठेका धारणा र प्रतिवेदनले अध्यक्ष ओलीलाई सर्वसम्मत अध्यक्षको हैसियतमा अघि बढाउने वातावरण बनाएको छ।

विधान संशोधनको मुख्य विषयलाई लिएर केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको आरोप लगाउँदै गौतमले भने,“उमेर हद र दुई कार्यकाल सीमाबारे गलत प्रचार भयो। तर महाधिवेशनले त्यसलाई अस्वीकार गर्दै अध्यक्ष ओलीकै नेतृत्वलाई निरन्तरता दिने धारणा सर्वत्र देखिएको छ।”

उनका अनुसार, फरक मत राख्ने थोरै आवाज भए पनि बहुमतले एकै धारणा प्रस्तुत गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यतामा फर्काउन नहुने सुझाव पनि महाधिवेशनमा बलियोसँग आएको उनले जनाए। ५७ सदस्यीय समूहमध्ये ५१ जनाले उक्त धारणा समर्थन गरेका र ६ जनाले मात्र फरक विचार प्रस्तुत गरेको उनले जानकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले समापन भाषणमा सदस्यता सम्बन्धी विवाद महाधिवेशनको विषय नभएको प्रस्ट पारे। साथै, उनले “जनताको बहुदलीय जनवाद” (जबज)कै आधारमा नेपाली माटो सुहाउँदो समाजवाद निर्माण गर्ने आफ्नो राजनीतिक प्रतिवेदनसहितका प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे।

त्यसैगरी, सङ्गठनात्मक प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा महासचिव शङ्कर पोखरेलले सरकारका कामलाई प्रभावकारी बनाउन सके मात्र पार्टी बलियो हुने तर्क गरे। उनले युवालाई पार्टी संरचनामा सक्रिय बनाउने र जनसङ्गठनलाई समुदाय तथा वर्ग केन्द्रित गर्दै पुनःसङ्गठित गर्नुपर्नेमा जोड दिए।

महाधिवेशनमा सहभागी करिब २५ सय एमाले प्रतिनिधिहरू अब यही सन्देश लिएर गाउँ फर्किने भएका छन्। महाधिवेशनमा आफ्नो सदस्यताबारे पर्चा बाँडेकी पूर्वराष्ट्रपति भण्डारीले भने महाधिवेशन सकिएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।

समाचार शेयर गर्नुहोस्
1.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.