काठमाडौं — जेनजी पुस्ताको आन्दोलनपछि मुलुक अराजक स्थितिमा पुगेको छ। देशभरका विभिन्न कारागार तोडफोडपछि झन्डै १४ हजार कैदी बन्दी फरार भएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार हालसम्म देशभरका कारागारहरूबाट १३ हजार ५ सय कैदी बन्दी भागेका छन्।
उनका अनुसार विभिन्न मुद्दा चलिरहेका ५०० भन्दा बढी थुनुवा समेत फरार भएका छन्। भागेकामध्ये केहीलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
महोत्तरीको जलेश्वर कारागारबाट मात्रै ५७६ जना कैदी बन्दी भागेका छन् भने गौर कारागारमा २९१ कैदीमध्ये २४ बाहेक सबै भागेका छन्। त्यस्तै, हेटौँडाको बालसुधार गृह फोडेर ७२ मध्ये ५८ जना बाल बन्दी फरार भएका छन्। भागेकामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मधेसका तीन वटा कारागारबाट मात्र ९८३ जना कैदी फरार भएको पुष्टि भएको छ। प्रहरीले फरार कैदीमध्ये धेरै जना भारत पसिसकेको आशङ्का व्यक्त गरेको छ।
काभ्रे स्थित धुलिखेल जिल्ला कारागारमा कैदी बन्दी र नेपाल प्रहरीबीच झडप भए पनि अहिले स्थिति नियन्त्रणमा आएको छ। डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना र अन्य निकायको प्रयासमा नियन्त्रणमा लिइएको छ।
मोरङमा कैदी भाग्न खोजेपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ भने धादिङमा भाग्ने क्रममा घाइते भएका एक कैदीको मृत्यु भएको छ।
सिन्धुली कारागार कार्यालयमा रहेका ४२८ पुरुष र ४३ जना महिला कैदी तथा थुनुवाले हुलदङ्गा, आगजनी र तोडफोड गरी भागेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भागेकामध्ये हालसम्म १६० जना सम्पर्कमा आएका छन्।
सुरक्षा फौजले फरार कैदीमध्ये सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम पश्चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
जगन्नाथदेव कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बेचेन झा लगायत फरार भएको समाचार आएको छ।
नख्खु कारागारबाट बाहिरिएका सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जेल प्रशासनले नै रिहा गरेको दाबी गरेका छन्। उनले “आफूमाथिको अन्याय नरोकिने नै हो त यो देशमा?” भन्दै प्रश्न गरेका छन्।
आन्दोलनमा हिंसात्मक घटना भइरहेका बेला घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ। प्रहरी प्रवक्ता घिमिरेका अनुसार मृत्यु हुनेमा महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मनिष राई, प्रहरी जवान उद्धव थापा र कोटेश्वरमा कार्यरत प्रहरी जवान अमृत गुरुङ रहेका छन्। धेरै प्रहरी सम्पर्कविहीन रहेको पनि उनले बताए।
केही सञ्चारमाध्यमले महिला प्रहरीको मृत्यु भएको समाचार सम्प्रेषण गरेपछि प्रवक्ता घिमिरेले त्यसलाई असत्य बताउँदै गलत सूचना नदिन आग्रह गरेका छन्। उनका अनुसार घाइते महिला प्रहरी अहिले आइसियुमा उपचाररत छिन्।
देशभर आगजनी गरिएका सरकारी तथा निजी भवनहरूमा शव भेटिन थालेका छन्। काठमाडौं र पोखरालगायतका स्थानमा आगलागी भएका ठाउँमा शव भेटिएको प्रहरीको भनाइ छ।
ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा एक जनाको शव भेटिएको छ। त्यस्तै, गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।
यसअघि विभिन्न अस्पतालहरूमा २५ जनाको मृत्यु भइसकेको थियो। हाल सात सय घाइतेमध्ये १९७ जना उपचाररत छन् भने ४१३ जना डिस्चार्ज भएका छन्।
नेपाल प्रहरीले “बेपत्ता ३२ जना संसद् भवनभित्र मृत फेला” भन्ने समाचार गलत भएको स्पष्ट पारेको छ। अन्य देशका पुराना हिंसात्मक घटनाको तस्बिर प्रयोग गरी भ्रम फैलाउन खोजिएको भन्दै प्रहरीले हिंसा भड्काउने काम नगर्न अनुरोध गरेको छ।
आन्दोलनका कारण पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा मात्र घाइतेहरूको उपचार गर्न अस्पतालहरूमा ठुलो चाप परेको थियो। मीनभवनस्थित सिभिल अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ भने त्रिवि शिक्षण अस्पतालमा ५३ जना घाइते उपचाररत छन्। राष्ट्रिय ट्रमा सेन्टरमा ४० जना उपचाररत छन् जसमा चार जनाको शल्यक्रिया भइसकेको छ।
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार जेनजी आन्दोलनका क्रममा घरमा लागेको आगलागीमा घाइते भएकी थिइन्। उनको निधन भएको भन्ने समाचार असत्य साबित भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालले उनको स्वास्थ्यमा सुधार भएको जनाएको छ।
नेपाली सेनाले महाराजगन्ज इलाकामा लुटपाट गर्ने चार जना व्यक्तिसहित ७ नाल हतियार, म्यागेजिन, गोली, र अन्य सामग्री बरामद गरेको जनाएको छ। सेनाले विशेष सूचनाका आधारमा बालाजु माछापोखरी क्षेत्रबाट थप १ नाल हतियार बरामद गरेको जनाएको छ। सेनाका अनुसार हालसम्म ७३ नाल हतियार बरामद गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.