काठमाडौं – सुरक्षा कमान्ड सम्हालेको नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलनका नाममा देशव्यापी अराजकता हुनसक्ने भन्दै सेनाले शान्ति सुरक्षालाई मध्यनजर राखेर कर्फ्यु जारी गरिएको जनाएको छ।
अहिले रातदिन सडकमा सेना तैनाथ छ। बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ। सोही दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म फेरि कर्फ्यु रहनेछ।
सेनाले नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको छ। चेकजाँचमा पनि कडाइ गरिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन गर्न सकिने जनाएको छ।
सेनाले जानकारी दिएअनुसार एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी तथा औषधि ओसारपसार गर्ने सवारीसाधनलाई आवतजावत गर्न दिइनेछ।
त्यस्तै, विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म जान सक्नेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले भने आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आउजाउ गर्न पाउनेछन्।
सेनाले आवश्यक सहायताका लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
काठमाडौं उपत्यकाबाहिर भने सुरक्षा परिस्थिति अनुसार निर्णय र समन्वय सम्बन्धित जिल्ला सुरक्षा समितिबाट हुने जनाएको छ। सेनाले जस्तोसुकै परिस्थितिमा पनि आम नेपालीको सुरक्षा र मानवीय उद्धारप्रति प्रतिबद्ध रहेको स्पष्ट गर्दै सुरक्षाकर्मीलाई सहयोग गर्न सम्पूर्ण नागरिकमा हार्दिक अपिल गरेको छ।


"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.