निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रचण्डले दोषजति कांग्रेस एमालेलाई दिएर जारी गरे अपिल, के छ अपिलमा?

प्रचण्डले दोषजति कांग्रेस एमालेलाई दिएर जारी गरे अपिल, के छ अपिलमा?

1.5k
SHARES

काठमाडौँ – तीन पटक देशको प्रमुख कार्यकारी बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाज ढाक्ने प्रयास गरेका छन्। उनले दोषजति कांग्रेस र एमालेमाथि थोपरेर आफूलाई चोखो देखाउने प्रयास प्रयास गरेका छन्।

जेनजी आन्दोलनले देश राजनीतिक र संवैधानिक शून्यतामा पुगेको दुई दिनपछि प्रचण्डले विज्ञप्ति निकालेर जेनजी पुस्ताको सान्त्वना लिने प्रयास गरेका छन्। जेनजी पुस्ताले कांग्रेस र एमालेमात्रै होइन सबै राजनीतिक दलहरुको असफलताले यो अबस्था आएको साबित गरिसकेको छ।

‘प्रचण्ड’ ले जेनजी आन्दोलनबारे विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियामार्फत निकास खोज्नुपर्ने बताएका छन्। उनले कांग्रेस र एमालेको असंवैधानिक गठबन्धनले भ्रष्टाचार ढाकछोप गर्न खोज्दा जनआक्रोश चुलिएको दाबी गरे।

पहिलो दिनमै सरकारले गरेको बर्बर दमनलाई उनले नरसंहार भनेका छन् भने आन्दोलनको दोस्रो दिन देखिएका तोडफोड, आगजनी र लुटपाटलाई जेनजी पुस्ताको आदर्श अनुरूप नभएको बताएका छन्।

प्रचण्डले आफ्नो कार्यकालमा सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आवाज उठाएको स्मरण गराउँदै, सामाजिक सञ्जाल बन्द गर्ने र दमनकारी बाटोमा हिँडेका कारण सरकारप्रति जनआक्रोश विस्फोट भएको बताए। उनले भने, “जेनजी पुस्ताले उठाएका माग संविधान र संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौँ।”

उनले आन्दोलनमा घुसेका प्रतिगामी तत्त्वले उपलब्धि उल्ट्याउने प्रयास गरिरहेको चेतावनी दिँदै लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्र मात्रै हुने उल्लेख गरे। संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारीसहित समुन्नत लोकतन्त्रतर्फ जान सकिनेमा पनि उनले जोड दिए।

माओवादी केन्द्रलाई यथास्थितिवादी दलहरूसँग मिलाएर नहेर्न आग्रह गर्दै प्रचण्डले पार्टी अग्रगामी परिवर्तन र सुशासनका पक्षमा दृढ रहेको दाबी गरे।

सम्पूर्ण शक्तिलाई एकजुट भई प्रतिगामी षड्यन्त्रको सामना गर्न उनले आह्वान गर्दै भने, “जेन जी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न राष्ट्रपतिबाट भइरहेको पहल, सेनालगायत सुरक्षाकर्मीको भूमिका र सहयोगलाई हामी सराहना गर्दछौँ।”

तर, प्रचण्डको सचिवलायले केहीबेरमै यो अपिल हटाएको छ। अपिल हटाएकोबारे प्रचण्डको सचिवालयका दिपक भण्डारीले थोरै सच्याउनु परेकाले हटाइएको बताए। उनले सच्याएर पुन प्रेषित गरिने बताए।

*सचिवालयले सच्याएर पुन अपिल जारी गरिसकेको छ।

प्रचण्डको सचिवालयले ग्रुपमा पठाएको अपिलमा यस्तो लेखिएको थियो :

समुन्नत लोकतन्त्रको सपना साँचेर सुशासनका पक्षमा जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरूमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

१.सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रूपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो। जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चायो। सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसमाथि सरकारले पहिलो दिनमै बर्बर दमन र नरसंहार मच्चायो। 
 
२.आन्दोलनको दोस्रो दिन व्यवस्थापिका संसद् भवन, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालयलगायत दर्जनौँ सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय, निजी आवास, होटल, बैक, व्यावसायिक भवनहरूमा जे जसरी तोडफोड, लुटपाट र आगजनी गरियो, जसरी राजनीतिक व्यक्तित्वहरूमाथि भौतिक आक्रमण भयो, त्यो जेन-जी आन्दोलनकारीले गर्न सक्दैनन्, ऊनीहरूबाट भएका होइनन् र भएका घटनाहरू उनीहरूको आदर्श अनुरूप पनि छैनन् भन्ने हाम्रो ठहर छ। हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लुटपाट र आगजनीका घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्दछौँ।

३.​केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा मैले संसद्को रोष्टमबाट गठबन्धनको सरकार जुन उद्देश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ। त्यसपछि पनि हाम्रो पार्टीले सरकार गलत बाटोमा हिँडिरहेपछि सरकारलाई  सदन र सार्वजनिक कार्यक्रमहरूमा लगातार कठोर आत्मसमिक्षासहित सच्चिन बारम्बार आग्रह गरेको र कुशासनका शृङ्खला जारी नै रहेमा जनताको धैर्यताको बाँध कुनै पनि बेला फुट्न सक्ने भन्दै सचेत गराउँदै आएको थियो। हजारौँ सहिद, बेपत्ता नागरिक तथा घाइते अपाङ्ग जनताको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा हामीबाट भए, गरेका कमीकमजोरीको निर्मम आत्मसमीक्षा गर्दै सुशासनमुखी उन्नत लोकतन्त्रका पक्षमा अघि बढ्न निरन्तर खबरदारी  गर्‍यौँ। तर, दुई तिहाइ सङ्ख्याको दम्भमा सरकार संवेदनहीन बनिरह्यो। सरकार भने अहम्कारकै बाटोमा लागि रह्यो। अझ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तथा दमनको निरङ्कुश बाटोमै अघि बढिरह्यो। यसले सिर्जना गरेको परिस्थितिका कारण जेन जी  पुस्ताका युवाहरूसहित जनताको आक्रोश विस्फोट हुन पुग्यो। युवाहरूको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठुलो मानवीय क्षति भयो।  

४.​हामीले भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाउँदै आयौँ। पछिल्लोपटक सरकारको नेतृत्व गर्दा समेत सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको विदितै छ। प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरू मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरूको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन आयोगका पक्षमा हामीले आवाज उठायौँ। आज जेनजी पुस्ताले समेत यिनै मूलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो। जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि हामीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न  सरकारलाई खबरदारी गरेको कुरा स्मरण गराउन चाहन्छु। आन्दोलनको दोस्रो दिन आयोजकको पूर्ववत् घोषणा विपरीत अवाञ्छित तत्त्वहरूको घुसपैठ देखा पर्न थाल्यो। त्यस्ता तत्त्वहरूबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रूपमा रहेका सिंहदरबार सहितका संरचनामा जे जसरी लुटपाट र आगजनीका घटना भए, ती इतिहासमै सर्वाधिक नकारात्मक घटना बन्न पुगे। जेनजी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा हामीले गम्भीर रूपमा सोच्नै पर्छ। यसखालका घटना जेन जी पुस्ताको घोषित नीति र आदर्श विपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन।

५.​कुनै बेला तत्कालीन सत्ताले जनताका कुरा नसुन्दा हामीले जनयुद्ध सुरु गर्नुपरेको थियो। जनयुद्ध कुनै रहर थिएन। जनयुद्ध जनतामाथि भइरहेको चरम शोषण, दमन र हिंसाविरुद्धको प्रतिरोध थियो। नेपालकै इतिहासमा पहिलोपटक पीँधमा रहेका  वर्ग, जाति, क्षेत्र र समुदायले आफ्नो आवाज मुखरित गरेँ। हजारौँ जनताको बलिदान भयो। कैयन् अझै पनि बेपत्ता छन्, अङ्गभङ्ग र घाइते छन्। शान्ति, सुशासन र समृद्धिमा जानुपर्छ भन्ने विश्वासका साथ १२ बुँदे सहमति, १९ दिने जनआन्दोलन हुँदै तत्कालीन ७ दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र मैले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेर देश संविधानसभामा प्रवेश गर्‍यो। राज्यको निर्मम दमनविरुद्ध जनयुद्ध, जनआन्दोलन र विभिन्न समुदायका जनताको बलिदानीपूर्ण सङ्घर्षकै कारण हामीले लोकतान्त्रिक गणतन्त्रको संविधान कोर्न सफल भयौँ। नेपालकै इतिहासमा पहिलोपटक दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायको संविधानमार्फत अधिकार सुनिश्चित गरियो। सिंहदरबारमा केन्द्रित अधिकार गाउँसम्म पुग्यो। यो चानचुने उपलब्धि थिएन। आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको चर्चा गर्दा हामीले इतिहासको यो बलिदानलाई स्मरण गरेर र यसकै जगमा टेकेर मात्रै अग्रगमनतर्फ  बढ्ने सङ्कल्प गर्नुपर्दछ।  

६.​हामीले संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ। त्यसो त संविधान जारी गर्ने बेलामा नै हामीले संविधानमा फरक मत राख्यौँ। प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणालीको वकालत गर्‍यौ, दलित, महिला, आदिवासी, जनजाति लगायतका समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्ने एजेन्डाहरू फरक मतका रूपमा राख्यौँ। २०४६ सालयताका  सार्वजनिक पद धारण गरेका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने, सांसदहरू मन्त्री बन्न नपाइने र विज्ञहरू मन्त्री बन्नुपर्ने लगायतका हाम्रा फरक मत थिए। त्यतिखेर शक्ति सन्तुलनका हिसाबले संविधान जारी गर्नैपर्ने परिस्थितिमा लिखित फरक मत राखेर समेत हामीले संविधान जारी गर्‍यौ। यी फरक मतहरू हाम्रा अहिले पनि छन्। हामीले अघि सारेका यिनै मतहरू सुनिश्चित नहुँदा र जारी भएको संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठ्न नसक्दा जनतामा आक्रोश चुलिन पुग्यो। आज तिनै मागलाई जेन जी पुस्ताले उठाएको छ। हामीले यसलाई सकारात्मक रूपमा लिएका छौँ। आन्दोलनका कैयन् पीडादायी पक्ष भए पनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ। यसका लागि जेन-जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ।

७.जेन-जी आन्दोलनका एजेन्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ। यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्त्वहरूले  तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने धृष्टता गरिरहेका छन्। हाम्रो स्पष्ट मत छ,  लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो। जेनजी पुस्ताको माग  न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा  नै। उहाँहरूले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौँ। 

८.हाम्रो ठहर छ, कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरूले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रूपमा उत्कृष्ट संविधान हो। त्यसैले अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ। संविधान र व्यवस्थापिका संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ। त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौँ। यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौँ। 
 
९.​नेकपा (माओवादी केन्द्र) नेपाली समाज रूपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो। हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो सङ्घर्ष गर्‍यौँ।  त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्‍याउन चाहन्छौँ। गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरू एउटै होइनन्। गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो। नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो। हामी यथास्थितमा बस्न चाहन्नौँ। त्यसैले परिवर्तन विरोधीहरूबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौँ। अग्रगामी परिवर्तनका पक्षमा हुने,  नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ। 

१०.सङ्क्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी षडयन्त्रविरुद्ध  सचेत रहँदै एकजुट भएर अघि बढ्न शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपिल गर्दछु। साथै, जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी लगायतका गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि जनताको साथमा रही तम्तयार रहन पार्टीपंक्तिलाई निर्देशित गर्दछु।  

अन्तमा,  जेन जी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपिल गर्दछु। साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु। 
 
धन्यवाद।

प्रचण्डको सचिवालयले सच्याएर पठाएको अपिल

समाचार शेयर गर्नुहोस्
1.5k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.