काठमाडौं – सडकमा निस्केको सेना ब्यारेकमा फर्केको छ। मङ्गलवार रातिदेखि सडकमा निस्किएको सेना अन्तरिम सरकार गठन भएको भोलिपल्ट शनिवार ब्यारेकमा फर्किएको हो।
मुख्य शहरमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हटेसँगै सडकमा सवारीको चाप बढेको छ। जनजीवन सामान्य लयमा फर्कन थालेको छ। बजार खुलेका छन्, गाडी चल्न थालेका छन्, नागरिकको ओहोरदोहोर बाक्लिँदै गएको छ।
जेनजी आन्दोलनका कारण बन्द भएका सरकारी तथा गैरसरकारी कार्यालय आइतबारदेखि नियमित सञ्चालनमा आउँदैछन्। सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाइ प्रक्रिया सुरु गर्ने भएको छ।
सोमबार भएको प्रदर्शनमा निधन भएकाहरूलाई श्रद्धाञ्जली स्वरूप देशभरका विभिन्न ठाउँमा मैनबत्ती बालिएको छ। काठमाडौँको बिजुलीबजार, नयाँबानेश्वर र भक्तपुरको कौशलटारमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मैनबत्ती बालिएको हो।
जेनजी आन्दोलनले ठप्प बनाएका काठमाडौँसहित देशभरका शैक्षिक संस्थाहरू पनि आइतबारदेखि खुल्ने भएका छन्। शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव मधुप्रसाद घिमिरेका अनुसार, स्थिति सामान्य भएकाले विद्यालयहरू खोल्ने तयारी गरिएको हो।
विद्यालयहरू स्थानीय तहअन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन्। काठमाडौं महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ। टोखा नगरपालिकाले पनि मातहतका विद्यालयलाई भोलिदेखि नै पठनपाठन सुचारु गर्न भनेको छ।
मन्त्रीहरू घर फर्कन थाले
जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको नियन्त्रणमा रहेका निवर्तमान मन्त्रीहरू घर फर्कन थालेका छन्। प्रदर्शनकारीहरूले मन्त्री तथा नेतामाथि आक्रमण गर्न थालेपछि सेनाले उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको थियो।
ज्यानमाथि नै असुरक्षा बढेपछि सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासहितका मन्त्रीहरूलाई उद्धार गरी विभिन्न गणमा राखेको थियो। तीमध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले छाडेको छ।
सेनाले नियन्त्रणमा लिएकाहरूलाई असुरक्षाको कारण देखाउँदै मोबाइलसमेत चलाउन दिएको थिएन। अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले शपथ लिएपछि मात्र नियन्त्रणमा लिएकाहरूलाई मोबाइल चलाउन दिइएको हो।
पहिलो तहका नेताहरू अज्ञात अवस्थामा रहेपछि प्रमुख दलका दोस्रो तथा तेस्रो पुस्ताका युवा नेताहरूले पार्टीलाई पुनर्जीवन र पुनर्गठन गर्ने बहस चलाउन थालेका छन्।
केही केन्द्रीय सदस्यहरूले थालेको यो बहस बिस्तारै देशव्यापी लैजाने तयारी छ। साथै उनीहरू सार्वजनिक रूपमा काममा फर्किन थालेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक मात्र हुने व्यवस्था गर्नुपर्ने बताएका छन्।
दुईवटा भिडियो वक्तव्य दिएका अर्का महामन्त्री गगन थापा शनिवारदेखि राजनीतिक बहसभन्दा पनि आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनः स्थापना गर्न जुटेका छन्।
एमालेका सचिव योगेश भट्टराईले पनि भिडियो सन्देश जारी गर्दै एमाले संवैधानिक राजनीतिक निकासको बाधक नबन्ने बताएका छन्।
एमाले नेता गोकुल बास्कोटा, महेश बस्नेत र सूर्य थापा भने फेसबुकमै एकपछि अर्को स्ट्याटस पोस्ट गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि फेसबुकमार्फत संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार भएको आरोप लगाएका छन्।
रास्वपाकी नेतृ सुमना श्रेष्ठले अन्तरिम सरकारमा मन्त्री बन्न लागेको चर्चा चलेपछि भिडियो सन्देश जारी गर्दै युवालाई साथ दिन चाहेको प्रस्टीकरण दिएकी छन्।
ओलीविरुद्ध जाहेरी
जेनजी पुस्ताको प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपसहित यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ।
पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा जाहेरी दिएका हुन्।
आन्दोलनमा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख गर्दै जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप लगाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन्। उनी नख्खु कारागारबाट बाहिरिएपछि देशभरका अन्य कैदी पनि भागेको भन्दै चौतर्फी आलोचना भएपछि पुनः कारागार फर्किएका हुन्।
शनिवार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशमार्फत उनले आज संयोगले आफ्नो जन्मदिन परेको उल्लेख गर्दै आफूलाई जन्मदिनको उपहारस्वरूप फेरि कारागारमा पठाउन लागेको बताएका छन्।
जेनजी आन्दोलनका कारण असुरक्षा भएको भन्दै आफूलाई कारागारले जेलबाट निकालेको उनको दाबी छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.