निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : शून्यताबाट अघि बढ्ने, अपराधीलाई नछोड्ने

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : शून्यताबाट अघि बढ्ने, अपराधीलाई नछोड्ने

पदको रसास्वादन गर्न आएको होइन

1.4k
SHARES

काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर कार्कीले पदभार ग्रहण गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थितिबारे सर्वविदितै रहेको बताइन्। २७ घण्टाको आन्दोलनबाट धनजनको क्षति हुन पुगेको उनले सुनाइन्। सिंहदरबार र सर्वोच्च अदालतका रेकर्डहरू जलेर खरानी भएको उनले बताइन्। उनले अहिले शून्यमा पुगेको बताइन्।

जेनजी आन्दोलनको बलमा कार्की प्रधानमन्त्री बनेकी हुन्। भदौ २४ गते भएको ध्वंसात्मक गतिविधि नजिकबाट नियालिरहेको उनले बताइन्। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा रहेका रेकर्डहरू जलेर खरानी भएका छन्, जुन खरिद गर्न नसकिने अवस्थामा पुगेको उनले बताइन्।

मुलुकको आवश्यकताअनुसार भएको आन्दोलनमा महत्त्वपूर्ण संस्थाहरूमा छानिछानी प्रहार भएको छ। प्रहरीका भवन ध्वस्त पारिएका छन्। फाइलहरू नष्ट भएका छन्। यो घटना देशमा पहिलोचोटि भएको उनले बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “अनुहार देखाउन नसक्ने अवस्था छ। यसमा षड्यन्त्र भएको जस्तो लाग्छ। अनुसन्धान हुन बाँकी छ।” उनले त्यसलाई अपराधको संज्ञा दिइन्। अपराधीहरूले गरेको यो मुलुकमाथिको ठुलो चुनौती भएको उनले बताइन्।

उनले षड्यन्त्रकारीको खोजबिन गरेर कारबाही गर्ने बताइन्। आफू कुनै रहरले आएको होइन भन्दै उनले भनिन्, “सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो। पदको रसास्वादन गर्न आएको होइन।” उनले त्यो उमेर पनि नभएको बताइन्।

उनले आफ्नो ६ महिने कार्यादेशबारे पनि जानकारी दिइन्। नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पने अठोट गरेको उनले सुनाइन्। काठमाडौं महाराजगन्जको भाटभटेनी अवलोकन गरेर फर्किँदा प्रहरी भवन बनाउन व्यापारी व्यवसायीबाट सहयोगको आश्वासन पाएको उनले बताइन्। उनले कर्मचारीदेखि सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले एकले अर्कोलाई आलोचना गर्ने काममा नलाग्न आग्रह गरिन्। युवा पुस्ताको सोचअनुसार काम गर्नुपर्ने बताउँदै उनले भनिन्, “विश्वमा कतै भएको छैन, २७ घण्टाको आन्दोलनले कायापलट गरेको मलाई थाहा छैन।”

उनले जेनजी समूहले माग गरेको भ्रष्टाचारको अन्त्य, सुशासन, गुड गभर्नेन्स र समान आर्थिक अवसरको कुरा पूरा गर्न अठोट गर्नुपर्ने अवस्था रहेको बताइन्। क्षतिको मूल्याङ्कन गरेर आगामी कार्ययोजना बन्ने जानकारी पनि दिइन्। उनले सहयोग गर्न सबैसँग अपिल पनि गरिन्।

भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका परिवारले भन्नु भन्दा पहिले नै राज्यले सहयोग पुर्‍याउनुपर्ने प्रधानमन्त्री कार्कीले बताइन्। निधन भएकाहरूलाई शहीद घोषणा गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेको उनले बताइन्।

“राज्यसँग थापेर सहयोग माग्ने होइन, राज्यले नै पुर्ताल किन नगर्ने?” उनले भनिन्। भदौ २३ को आन्दोलनमा निधन भएकाहरूलाई १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको पनि उनले बताइन्। घाइतेहरूको उपचार र केही राहतको घोषणा गरिएको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “चोट परेको व्यक्तिलाई मल्हम लगाउनुपर्छ। साना व्यापारीहरू पनि लुटिएका छन्। उठ्ने कोसिस गर्छौँ,हामी हार्दैनौँ, भनेका छन्।” उनले भनिन्,“आन्तरिक बल देखाउनुभएकोमा धन्यवाद, अठोट गर्नुभएको छ, शुभकामना।”

समाचार शेयर गर्नुहोस्
1.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.