निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रास्वपामा विद्रोह, पार्टी छोड्ने क्रम सुरु

रास्वपामा विद्रोह, पार्टी छोड्ने क्रम सुरु

1.4k
SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अन्ततः विद्रोह सुरु भएको छ। २०७९ मङ्सिर ४ गते भएको आम निर्वाचनभन्दा केवल ६ महिना अघि दर्ता भएको यो पार्टी तीन वर्ष पूरा नहुँदै गहिरो आन्तरिक सङ्कटमा फसेको छ।

प्रतिनिधिसभामा रास्वपाका २० सांसद निर्वाचित भएका थिए। तर जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला उनीहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका थिए। त्यसपछि पार्टीभित्र एकपछि अर्को विवाद र आरोप-प्रत्यारोप चर्कँदै गएको छ।

सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा परेका थिए। लामिछाने कारागारमा फेक कागज देखाएर मुक्त भए।

प्रहरीको वार्निङ लगत्तै शनिवार उनले स्वेच्छाले कारागार फर्कने घोषणा गरे। लामिछाने कारागार फर्किएको भोलिपल्टै पार्टीमा असन्तोष विस्फोट भएर विद्रोह सुरु भएको हो।

जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणबीच बनेको अन्तरिम सरकारको नेतृत्व सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लिएकी छन्। तर परिवर्तनको हुङ्कारसहित स्थापित भएको रास्वपाभित्र भने उल्टै पार्टी परित्यागको क्रम सुरु भएको छ।

रास्वपा नेतृ एवं पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने औपचारिक घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत विस्तृत रूपमा असन्तोष पोख्दै, “कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गर्दै जाने, र त्यसको बोझ पार्टीका सबै कार्यकर्ताले बोकिदिनुपर्ने अवस्था अब अस्वीकार्य भइसकेको छ,” भन्दै पार्टी त्यागेको बताएकी हुन्।

सुमनाले पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल चलाउने प्रवृत्ति मौलाएको आरोप पनि लगाएकी छन्। उनले स्पष्ट रूपमा भनेकी छन्, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ। तर त्यो आलोचनाले कत्तिपनि फरक पारेन, बरु उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।”

पार्टी नेतृत्वलाई अझ कडा चेतावनी दिँदै उनले भनिन्, “अब खुलेर आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। तर क्विट, मैले पार्टी छोडेँ।”

सुमनाले आफ्नो सन्देश कांग्रेस, एमालेलगायतका ठुला दलका तेस्रो पुस्ताका नेताहरूलाई समेत लक्षित गरेकी छन्। उनले लेखेकी छन्, “आजको दिनको परिस्थिति आउनुमा तपाईँहरूको भन्दा बढी तपाईँहरूको नेतृत्वको बहेराको दोष छ। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सही समय आएको छ, आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। वा हटाउनुहोस्, वा आफैँ हट्नुहोस्।”

आन्तरिक असन्तोष, असफल नेतृत्व र जनतासामु दिएका वाचा–प्रतिज्ञा पूरा गर्न नसकेको आरोपबीच रास्वपाको भविष्य अझै गम्भीर सङ्कटतर्फ धकेलिएको छ।

समाचार शेयर गर्नुहोस्
1.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.