म अहिले यहाँको कठिन परिस्थिति र अति व्यस्त जिम्मेवारीले आफ्नो देशको बारेमा नियमित अपडेट हुने र देशको वर्तमान विकराल अवस्था तथा विघटन उन्मुख माओवादी आन्दोलनबारे गहिरो चिन्तन/मनन गर्न सक्ने अवस्थामा छैन। यद्यपि यहाँको कठिन परिस्थितिमा निजी जिम्मेवारी र व्यस्तताको बाबजुद अनलाइन आएको बखत आफ्नो देश तथा आफूले आस्था राख्ने आन्दोलन/राजनीतिक विचार/ बाटोबारे मौन बस्न कठिन हुँदो रहेछ।
देश भित्र तथा बाहिरका अदृश्य तत्त्वहरूको निर्देशन एवम् योजनामा जेनजी आन्दोलनको नाममा भर्खर देशमा जे भयो त्यसले अब देश कता जादैछ भन्ने स्पष्ट सङ्केत दिइसकेको छ। देशमा आजको अवस्था सृजना हुनुमा अन्य राजनीतिक पार्टीहरू त जिम्मेवार छन् नै यसको अलावा जनयुद्धको रापतापबाट आएको माओवादी घटक समेत सोपानक्रम अनुसार अछुतो छैन।
निजी सम्पत्तिको नाममा आफूसँग भएको २/४ रोपनी पाखोवारी समेत पार्टीलाई बुझाएर सर्वहाराको भेषमा जनयुद्धमा होमिएका माओवादी नेताहरू मध्ये दर्जनौँ माओवादी नेताका सहरमा ठडिएका महल अहिले घुसपैठ पूर्ण जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भयो भन्दा सहानुभूति प्रकट गर्ने मान्छे निकै कम छन्।
धेरैलाई त माओवादी नेताहरूले समेत सहरमा महल ठड्याएका छन्,करोड/अरबपति वनेका छन् भन्ने समेत थाहा थिएन होला। आज एकथरी माओवादी राजवादी,कांग्रेस,एमाले भन्दा भिन्न नदेखिनु निकै लज्जाको विषय हो।
घुसपैठ पूर्ण जेनजी आन्दोलनको नाममा जसरी निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड,आगजनी भयो त्यो सही भयो भन्न त कुनै हालतमा सकिन्न।
यद्यपि जनताको सपना, भावनामा गद्दारी गरेर देशको ढुकुटी चुसेर कालो धन थुपार्ने, महल ठड्याउने कतिपय भ्रष्टहरूलाई एउटा सबक सिकाउनै पर्थ्यो यसलाई अर्को अर्थमा त्यसरी बुझ्दा अन्यथा नहोला।
अमुक तत्त्वको योजनामा भएको आन्दोलन र त्यसपछि निर्मित सरकारले त्यही शक्तिको स्वार्थ अनुकूल काम गर्ने कुरामा कुनै शङ्का रहेन। आज अन्तरिम सरकार र चुनावपछि आफूले चाहेको पात्रलाई नेतृत्वमा ल्याएर नेपाललाई पनि युक्रेन जस्तै विध्वंसको भुमरीमा फसाउने नआउला भन्न सकिन्न। चीनको तीव्र उदयबाट अत्तालिएका अमेरिकी/युरोपियनहरूले आफू अनुकूलको जेलेन्स्की जन्माएर नेपाललाई चीनविरुद्ध गतिविधि गर्ने क्रिडास्थल बनाउने सक्ने षड्यन्त्रबारे समयमै सचेत हुनै पर्छ।
पर्दापछाडिका अनेक षड्यन्त्रलाई चिर्न सक्ने अपेक्षा अरूबाट त राख्न सकिन्न नै कम्तीमा माओवादी हुँ भन्नेहरूले आजैदेखि आफूलाई पूर्ण रूपमा रूपान्तरण गर्दै सिङ्गो देश/जनतालाई जोड्ने नयाँ दृष्टिकोण, विचार र नेतृत्व सहित एकताबद्ध भएर युक्रेन जस्तै बन्ने षड्यन्त्रको भुमरीमा फस्दै गएको देश जोगाउन अन्तिम कष्ट गर्ने कि? पूर्ण रूपान्तरण, नयाँ दृष्टिकोण र नेतृत्व सहितको माओवादी एकताले मात्रै समाजवादी सत्तामा पुग्ने सबै विकल्पहरूको उपयोग र देशको रक्षा गर्न सम्भव छ। मालेमावादी दृष्टिकोणमा आधारित समाजवादी सत्ता विना जनताको पूर्ण मुक्ति र देशको सार्वभौमिकता रक्षा असम्भव देखिन्छ।
अन्तमा: म त अझै लेनिनको देशको लागि अमेरिकी/पश्चिमा साम्राज्यवादविरुद्ध लड्दै छु,आफ्नो जिम्मेवारी पूरा नगरी अहिल्यै फर्कने अवस्था रहेन। तपाईँहरूले आजसम्म जे गर्नुभयो,जे भयो अब एकपटक कठोर बन्दै पूर्ण रूपान्तरण सहित एकताबद्ध भएर आगामी चुनाव या अन्य सबै विकल्प प्रयोग गरेर देशलाई उपयुक्त निकास दिन समाजवादको बाटोमा अघि बढ्ने हिम्मत गर्नुहोस्। परिस्थिति अनुकूल भयो भने म पनि उपयुक्त समयमा आफ्नो हिस्साको जिम्मेवारी पूरा गर्न सहभागी हुनेछु।
(रुस-युक्रेनको युद्धमैदानबाट माओवादीका पूर्वलडाकुले पठाएको पत्र अभियन्ता कृतु भण्डारीबाट प्राप्त भएको हो)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.